विराटनगर । ‘प्रदर्शनकारी उत्तेजित र प्रहरी संयमित हुन नसक्दा दिनभरजसो बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो । प्रदर्शनकारीहरु प्रहरी घेरा तोडेर संसद भवनतिर अघि बढ्न खोज्दा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास, पानीको फोहोरा हान्नुका साथै रबरको गोलीसमेत चलायो ।’
संघीय राजधानी काठमाण्डौंमा कुनै प्रकारको आन्दोलन भए बानेश्वर र संसद भवनको नाम जोडिन्छ । किन की आन्दोलन त्यहि केन्द्रीत हुन्छ । काठमाडौँ महानगरको एक महत्त्वपूर्ण व्यापारिक केन्द्र का साथै उपयुक्त आवास स्थलका रूपमा चिनिएको बानेश्वर संसद भवन नजिक छ । काठमाडौँ महानगरको वडा नम्बर १० तथा ३४ मा पर्ने यो स्थान सम्पूर्ण आधारभूत सुविधाले युक्त छ । पूर्वमा मिनभवन, पश्चिममा बिजुलिबजार, उत्तरमा पुरानो बानेश्वर र दक्छिणमा शन्खमूल ले जोडिएको यस नयाँ बानेश्वर आन्दोलनसँग पनि जोडिएर आउने नाम हो ।
प्रादेशिक संरचना गएपछि विराटनगरको रोडशेष चौक उस्तै समाचारको हेडलाइनमा जोडिन थालेको छ । हुन त मधेश आन्दोलन पनि रोडशेष केन्द्रीत हुने गरेको थियो । तर, मधेश आन्दोलनमा रोडशेषको आवाज केन्द्रीय राजधानी काठमाण्डौंसम्म पुग्न समय लाग्ने स्थिति थियो । प्रदेश राजधानी भएपछि पहिचानवादीहरुको आन्दोलन सरकारको समिप हुँदा रोडशेष चौक धेरै जोडिन थालेको हो ।
प्रदेश १ को नामाकरण कोशी गरिएपछि पहिचान पक्षधरहरुले किराँत राखिनु पर्ने माग गर्दै आन्दोलनमा छन् । उनीहरुले फागुन १७ गते यता रोडशेष चौकलाई धेरै तताईसकेका छन् । मुख्यमन्त्री कार्यालय मुख्य राजमार्गसँगै जोडिएको रोडशेष चौक नजिक छ । आन्दोलनकारीले मुख्य स्थानमा दवाव सिर्जना गर्न रोडशेष चौक पुगेपछि भएभरको शक्ति लगाउने प्रयास गर्दा बानेश्वर ब्यूँझिए झैं लाग्न थालेको छ ।
फागुन १७ गते प्रदेशसभालेक कोशी नामाकरण गरेपछि पहिचान पक्षधरले चैत्र ५ गते विराटनगरमा विरोध प्रदर्शन गरेका थिए । त्यसदिन मुख्यमन्त्री कार्यालय तोडफोड हुनसक्ने संभावित जोखिम आकंलन गर्दै प्रहरीले सामान्य बल प्रहरी प्रयोग गरेको थियो । तर, रोडशेष चौक तात्यो । त्यस क्रममा आन्दोलनमा सहभागीमध्ये बेलबारीका पदम लिम्बु घाईते भए । उनको उपचारका क्रममा चैत १० गते निधन भयो । उनको निधनपछि पहिचानवादी पक्षधरले विभिन्न दवावसहित सहिद घोषणा हुनुपर्ने माग गरे । सरकारले पूरा त ग¥यो तर पहिचानसहितको नामाकरण हुनुपर्ने सडकको मागले चैत १४ गते पुनः रोडशेष अशान्त बन्यो । बिग होटलमा मुख्यमन्त्रीसहित सांसदहरु संलग्न एउटा कार्यक्रमलाई अवरोध गर्ने उद्देश्यले पहिचानवादीहरु आन्दोलित हुँदा त्यहाँ तोडफोड, अश्रुग्यास, रबर गोली पड्कियो ।
सहिद घोषणा गरिएपछि शनिबार लिम्बुको अन्तिम दह संस्कार गर्ने कार्यक्रम राखिएको थियो । पहिचानवादी पक्षधरले शवयात्रा निकाल्ने कार्यक्रम राखिएको थियो । प्रहरीले आक्रोशित समूहलाई नियन्त्रणमा लिन हर कदम चाल्ने पूर्व तयारी गरेको थियो । भीड नियन्त्रणमा संयता अपनाउन खोज्दा पनि स्थिति तनावग्रस्त बन्यो । शव यात्रा निकाल्ने दिन उनीहरुले शव प्रदर्शन गरे । जसका कारण रोडशेष चौकमा ८१ सेल अश्रु ग्यास फायर, सिल ढाल १८ थान फुटे, आन्दोलनकारी पाँचजना घाईते भए, नेपाल प्रहरी २१ र सशस्त्रका पाँचजना घाईते भए । पहिचान पक्षधर संयुक्त संघर्ष समितिले बाँकी आन्दोलनका कार्यक्रम कसरी गर्लान् हेर्न बाँकी छ र रोडशेष चौक बानेश्वर झैं अशान्त भएको अझै हेर्नुपर्ने संभावना जीवित छ ।
सरकारले आन्दोलनकारीसँग वार्ता र संवाद थाल्नुपर्ने दवाब सुरु भएको छ । संसदबाट कोशी नामाकरणमा सहमत देखिएको नेकपा माओवादी केन्द्रले सरकारलाई वार्ताबाट समस्या समाधान गर्न माग गरिसकेको छ । यस्तै काँग्रेसका कतिपय नेताहरुले समेत प्रदेश सरकारका मुख्यमन्त्री र स्थानीय प्रशासनका कारण विराटनगर अशान्त बनिरहेको भन्दै आलोचना सुरु गरेका छन् ।