-सुरज दाहाल
घोषणा १ - २०८० वैशाख १- काठमाडौंमा एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरूमा योग तथा ध्यान शिविर सञ्चालन गर्ने घोषणा गरे !
घोषणा २ - ४ असार, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा योगलाई जीवनको अभिन्न अंगका रूपमा अनुशरण गर्न आह्वान गर्दै योग र ध्यानलाई सरकारको नीति तथा कार्यक्रममा नै समेटेर संस्थागत गर्न पहल गरेको जानकारी दिए।
कार्यान्वयन १ - २०८० असोज १० मा गृहमन्त्री ज्युको सचिवालयलाई सादर अवगत गराउदै सबै अधिकृतलाई ध्यान गर्न र गराउन गृह मन्त्रालयको कार्यालय व्यस्थापन तथा जिन्सी शाखाका उपसचिवको सबै महाशाखा प्रमुखलाई पत्र !
योगको शाब्दिक अर्थ जोड हो कुनै कुरा जोडेर निस्कने परिणामलाई हामीले योगफल भन्ने गरिन्छ योगा भन्नाले जोड्ने प्रक्रिया होला , अधिकांश भाषणमा घोषणा मात्रै हुने देशमा "गठबन्धनासन" का गृहमन्त्रीले गरेको घोषणा कार्यान्वयन गरेको छन्। यसलाई सकारात्मक नै मान्नु पर्छ नकारात्मक रुपमा भएपनि सकारात्मक नै मान्नु पर्छ।
योग गर्ने प्रक्रिया : शरीरलाई मनसँग मनलाई आत्मासँग आत्मालाई परमात्मासँग जोड्ने प्रक्रियामा हाम्रा गृह मन्त्रलायका हाकीमहरु अब कार्यालय समयमा योग गर्ने छन्। हुन् त कार्यालय समयमा शरीरलाई मन सग मनलाई आत्मा सग जोडन नहुने पनि त हैन , "घुसासन" मार्फत शरीरलाई मनसँग मनलाई पैसासँग जोड्दै आएकै हुन् । योगमा ध्यानको विशेष स्थान छ। हाम्रो गृह प्रशासन ध्यानमा अभ्यस्त छ योगमा व्यस्त छ चिकित्सक अस्पतालमा कुटिएका छन् !, ज्यानमारा आम माफिमा छुटिरहेका छन् !, विदेश पठाउछु भन्दै दलालले आम मानिस लुटिरहेका छन् । आम जनजीविकाका कामहरुमा हुने`ढिलासुस्तासन´को चर्चा गरेर साध्य छैन।
सरकारी वेबसाइटमा राखिए अनुसार गृह मन्त्रालयमा १६६ कर्मचारी रहेछन् १६६ कर्मचारीले १५ मिनेट योगा गर्दा ४१ घण्टा दैनिक योगा हुने रहेछ। गृह अन्तर्गतका जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय र वारुण यन्त्रका कर्मचारी यसमा गणना गरिएको छैन। जनताको करबाट तलब खाने कर्मचारीले कार्यालय समयमा ध्यान योग गर्न उचित हो वा होइन भन्ने कुरा सोचिरहन गृहमन्त्री ज्यु ! लाई उचित लागेन किनकी कर्मचारी तन्दुरुस्त स्वस्थ रहे जनताको काम आफैँ हुन्छ सुशासन र भ्रष्टाचार नियन्त्रण आफैँ हुन्छ।
"विरोधासन" मा बसेका सतापक्ष हुन व्यग्र प्रतिपक्ष पनि यो विषयमा मौन छन्। किनकी उनीहरु आफैँ जनताले कर तिरेर तलब खाने समय संसदमा बर्बाद गरि रहेका छन् ।
वास्तवमा गृह मन्त्रालयमा योग र ध्यान अति आवश्यक थियो किनकि केहि नगरी योग र ध्यान गर्नु केहि गरेर जेल जानु भन्दा उत्तम हो स्मरण रहोस पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् । "जेलाशन" मा बसेका गृहका पूर्वमन्त्री सचिव र सल्लाकार देखेर पनि हुनसक्छ। गृहमन्त्री नारायाणकाजीलाई योग र ध्यान मार्फत गृह प्रशासनको छवि सुधार गर्नु छ। सुधार नगरे पनि नबिगार्नु छ । सबै जाँचपास पुरा गरेर सय किलो सुन एयरपोर्टबाट निस्कनु सुन प्रकरणमा पक्राउ परेका सातै चिनियाँसँग नेपाली नागरिकता भेटिनुले गृह प्रशासनको "सुनासन" कति खोक्रो रित्तो छ। भनेर मात्रै देखाएन "नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउन सक्छु" भन्ने ठाडो चुनौतीयुक्त भाषा बोल्ने कुख्यात अपराधी,चार्ल्स शोभराजको भनाईलाई फेरी चरितार्थ गरायो। यस्ता गम्भीर सुरक्षा चुनौतिको बीच योगको आवश्यकता र महत्व झनै बढेको छ।
योगको महत्व आवश्यकता र गृहमन्त्रालयमा योगको अनिवार्यता नेपाल भित्र मात्रै सिमित छैन यसको छुटै कुटनितिक महत्व छ ,भदौ १७ मा इशा फाउण्डेसनका संस्थापक जग्गी वासुदेव उर्फ सद्गुरुलाई स्वागत गर्न एयरपोर्ट पुगेका गृहमन्त्रीको "भक्तासन", योग प्रतिको मोह र मार्क्सवादको फ्युजन मात्रै हैन अब गृहमन्त्रीले अर्कोपटक जग्गी वासुदेवलाई भेट्दा वा अन्य भिआइपी बाबाजीहरु नेपाल आउँदा आफ्नो मन्त्रालयमा योग अनिवार्य गरेको खबर सगर्व सुनाउन पाउने छन् । अन्तराष्ट्रिय योग दिवसमा नेपालले कर्मचारीलाई कार्यालय समयमा योगा गर्न समय दिएको सगर्व जानकारी दिनेछ।
८० बिलियनको ग्लोबल इकोनोमी भएको योगालाई अधिकृतहरुको १५ मिनेट समय छुटाएर मात्रै हुँदैन हरेक मन्त्रालयमा एक योग विभाग राख्नु पर्छ। हरेक विभागमा एक प्रशिक्षक राख्नु पर्छ। योग र ध्यानलाई प्रवर्दन गर्न अन्तराष्ट्रिय स्तरसम्म पुराउन एउटा छुटै मन्त्रालय खोल्नु पर्छ र संघिय तथा प्रदेश सरकारमा योग मन्त्रीहरु नियुक्त गर्नु पर्छ। सबै संसदमा योग तथा ध्यान गर्ने समिति बनाउनु पर्छ। संसद बैठक सुरु हुनु अगाडि पनि १५ मिनेट ध्यान र योग गरिनुपर्छ , मन्त्रिपरिषदको बैठक सुरु हुनु अगाडि पनि १५ मिनेट योग गरिनु पर्छ। हरेक पाठशाला ,विद्यालय, विश्वविद्यालय सबैतिर योग शिक्षा अनिवार्य गरिनुपर्छ !