सुजता लिम्बू
विराटनगर । आज त बुढोसँग नै खाना खाने हो । उर्वसी भाउजूले मुस्कुराउदै सुनाउन भ्याइन् । गोरो अनुहारमा ओँठको रातो लालीले खुब सुहाएको थियो । ठूला-ठूला आँखामा कालो गाजलले झनै ‘म्याच’ गरेको थियो ।
वाहा ! भाउजु आज त कति राम्री के ?
लजालु मुस्कानमा, छ्या नानी नजिस्काउनु है !
विवाह भएको एक वर्ष भएको थियो भाउजु गर्भवती पनि थिइन् । घर, परिवारदेखि टाढा रहेर दाईसँगै डेर बस्दै आएकी उर्वसी भाउजु म बसेकै डेरामा बस्थिन । श्रीमानसँग बिहान भेट भयो । भने रातको समय भेट्न मुस्किल हुन्थ्यो । कहिले त खाँदाखाँदैको भात छोडेर दाई डयुटीमा कुद्दा भाउजुको निर्दोष आँखा नरसाएका पनि होइनन् । आँखाका डिलमा टल्किएका आँसु पुच्छदै रुन्चे हाँसोमा आँखामा किरा पसेछ आँसु आयो भन्दै कुरा टार्न पनि भाउजु खुब खप्पिस थिइन् ।
दाईले खाँदाखाँदैको भात छोडेर डयुटीमा जानुभएकाले रुनुभएको होइन ! भाउजु तपाई ? हाँस्दै जिस्काउदा लाडे स्वरमा सिपाहीकी स्वास्नी भएसी आँसु लुकाएर हाँस्नु पनि सक्नुपर्छ के लाटी ! सायद, भाउजू आज दाईलाई लिएर नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल जाने तयारीमा थिइन् क्यार । अकास्मत अफिसबाट फोन आएपछि फेरी दाईले मेरो जिम्ममा भाउजुलाई अस्पताल पठाउनु भयो ।
बिहान देख्दा उषको किरण झैँ उज्यालो अनुहार दाईले अस्पताल लग्न नभ्याउने भएपछि एक्कासी गोरो अनुहारमा मौसम बिग्रिएको आकाश झैँ धमिलिएको थियो । लाग्थ्यो की अहिले नै आँखाबाट बर्षात होला झैँ । तर, मन बलियो बनाएर अस्पताल जान तयार भएकी भाउजु गुनासो चाङ पनि उत्तिकै थोपरिन् । यो सिपाहीकी स्वास्नी हुनुपनि गाह्रो छ । न तलबले राम्रोसँग खान पुग्छ, न परिवारलाई समय नै दिन पाउँछ ।
उही नेपालमै बसेर देश र जनताको सुरक्षामा खटिएको छ भन्ने गर्व गर्नु बाहेक अरु के छ र ? उनको छटपटी र गनगनलाई झेल्न म तयार थिए । किनकी गर्भमा हुर्किदै गरेको शिशु र गर्भवती श्रीमतीले बाउ र श्रीमान खोज्दो हो । म त्यो समय उनको अभिभावक बनेर अस्पतालसम्मको सहयात्री बन्न तयार भएकाले पनि भाउजुको गनगन मेरा लागि जायज थियो । सडकमा कुद्ने बाक्लो सवारीको चापलाई छिचोल्दै आफ्नै रफतारमा कुदिरहेको सफारीको बेगलाई चिर्दै घरीघरी ‘अलिक हतार कुदाउनुन दाई अस्पतालमा भीड हुन्छ ’ भाउजुको यो रुखोपन सफारी चालकले पनि झेल्न तयार थियो । किनभने सफारी चालकलाई डबल भाडा दिएर अस्पताल जान लगेका थियौँ । म भाउजुको रुखोपन, बालपन, लाडेपन सबै महसुस गर्दै शान्त बनाउन हरसम्भव कोशिस गरिरहेकी थिए । अब बुढोलाई जागिर छोड्न लगाउछु या अफिसर बन्न प्रेरित गर्छु सारै भएन । उनको भडास थियो या श्रीमान प्रतिको प्रेम ? मेरो यो सबै कुरामा भोगाई नभएकाले पनि हुँदो हो ।
भाउजुको कुरालाई सही गलत छुट्याउन सकस भएको । यद्यपि आफ्नो श्रीमानको पोष्ट बढाउने सपना देख्नु एउटी श्रीमतीको सपना नै हुँदो हो । गफैगफमा अस्पताल पुगेको पत्तो नै भएन । संयोग नै भनौँ होला अस्पतालमा सेवाग्राहीको चाप पातलो नै थियो । अस्पतालको दृश्यले भाउजुको मन अलिक हलुका भयो क्यारे धन्न भीड रहेनछ नत्र म पाग हुन्थे पालो कुर्दा । राहतसहितको मुस्कानमा भाउजुले मनको भाव पोखिन् । केही समयको बसाईपछि भाउजुको पालो आयो । उहाँलाई नियमित जाँच्ने डाक्टरले श्रीमान चाहीँ कहिल्यै नभ्याउने ? भन्दै प्रश्न तस्राउदा भाउजुको आँखामा एक्लोपनको आभास देख्न सकिन्थ्यो। निर्दोष आँखा म तिर तेश्राउदै उनै हुन आफ्नो भन्न भ्याइन् । श्रीमान हुँदा पनि एक्लोपनको बोझ मनमा बोके बच्चा गर्भमा बोकेर हिँडेकी भाउजुलाई कहिलेकाँही सिपाहीकी श्रीमती हुनुमा पछुतो नलागेको पनि होइन् ।
हाकिमको श्रीमती हुँदो हो त यतिबेला ठाँउको ठाँउ सबै कुरा हुन्थ्यो होला हामी जस्तो तल्लो दर्जाका श्रीमतीको के मतलब ? अरुको बच्चा श्रीमती मरोस कि बाचोस् ? आँखाभरी आँशु टिलपिल टिलपिल पार्दै भाउजु फोनमा बरबराउदै रहेछिन् । सायद दाईसँग नै आफ्नो मनको भडास व्यक्त गरेकी होलिन ।
उता दाईले के जवाफ दिनुभयो पत्तो भएन खत्रक्क फोन रोखर कोल्टे फेर्दै एकोहोरीन । न समयमा खाना खानु छ, न परिवारका लागि समय छ न स्वास्नीसँग एकछिन् बोल्ने फुर्सद छ । तातो पानी लिएर भाउजूको कोठाभित्र छिर्न मात्र लागको थिए, भित्ता नियाल्दै भारी मन, भक्कानिएको स्वरले फेरी खै कता आन्दोलन भयो रे नानी उता जाने रे ! अस्पतालसम्म पनि आउन पाउनुहुन्न होला दाई ।
भाउजुको गुनासो र दाईको व्यस्तताले ‘यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौँ, साच्चै नबुझ्ने हौँ कि नबुझे जस्तै गर्छौ।’ भन्ने गीतको याद आयो ।