विराटनगर । विराटनगरको फोहोर पानी प्रशोधन तथा ढल व्यवस्थापन केन्द्र पूर्ण सञ्चालनमा आएको छ । यद्यपी परियोजना हस्तान्तरण भएको पाँच वर्षमा चार हजार ७२३ हाउस चेम्बरमा एक हजार ६९१ घरधुरी ढलमा जडान भएका छन् । जडान भएका घरको फोहोर पानी तथा ढल विराटनगर–१४ स्थित प्रशोधन केन्द्रमा पुग्न थालेको हो ।
विराटनगर–१४ स्थित सिंघिया खोला नजिक प्रशोधन केन्द्र निर्माण गरिएको क्षेत्रमा महानगरपालिका भित्रका चार हजार संंख्या बढी घरको फोहोर पानी तथा ढल पु¥याउने लक्ष्य राखिएको थियो । २०७५ मंसिरमा परियोजना हस्तान्तरण भएपछि महानगरपालिकाले घरका हजहरु ढल प्रणालीको हाउस चेम्बरसम्म जोड्ने कार्य गर्दै आएको छ । महानगरपालिकाले २०७६ बैशाखदेखि घरका हजलाई ढल प्रणालीमा जोड्न थालेको थियो ।
मझौला शहर एकिकृत सहरी वातावरणीय सुधार परियोजना अन्तर्गत २ अर्ब ९६ करोडमा पहिलो चरणको निर्माण सम्झौता भएको यो परियोजना सम्पन्न हुँदा ३ अर्ब २७ करोड ८१ लख ४० हजार लागत लागेको थियो । परियोजना अन्तर्गत ३६ किलोमिटर नाला, ६३ किलोमिटर ढल, ४०.८५३ किलोमिटर सडक र ढल तथा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण गरिएको थियो ।
विराटनगर महानगरपालिका शहरी पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापाका अनुसार यसको परीक्षण सफल भएसँगै अहिले पूर्ण सञ्चालनमा आएको छ । परियोजनामार्फत निर्माण सम्पन्न भएको चार हजार ७२३ हाउस चेम्बरमा एक हजार ६९१ घुरधुरीका ढल जडान भई फोहोर पानी प्रशोधन केन्द्रसम्म पुग्न थालेको छ । महाशाखा प्रमुख थापाका अनुसार हाउस चेम्बर भएपनि प्राविधिक रुपमा ढल प्रणालीमा आवद्ध हुन नसकेका चार सय घरधुरीलाई सक्सन मेशिनद्वारा सेवा प्रदान गरिदैं आएको छ । ढल प्रणालीको हाउस चेम्बर भन्दा घरको इन्लेट होचो स्थानमा भएका घरहरुलाई मेशिनद्वारा सेवा प्रदान गरिदैं आएको हो ।
विराटनगर महानगरपालिकाको यो ढल प्रणालीमा भएका घरहरु आवद्ध भएपनि नभएपनि ढल उपभोग शुल्क बुझाउनु पर्ने प्रावधान रहेको छ । तर, हाउस चेम्बर नभएका घरहरुले भने बुझाउनु पर्ने छैन । महानगरपालिकाले ढल प्रणाली पुगेको क्षेत्रका नगरवासीहरुलाई यसमा आवद्ध हुन आग्रह गरेको थियो । यदि घरको ढल तथा फोहोर पानी प्रणालीकोे हाउस चेम्बरसम्म जोड्न नमान्ने घरहरुले उपभोग शुल्क भने बुझाउनु पर्नेछ ।