विराटनगर । केहि वर्ष अगाडी विराटनगरमा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) रोटरी क्लव अफ विराटनगर फ्यूजन, लायन्स क्लव अफ विराटनगर योङहार्ट र बारी नामक संस्थामा आवद्ध युवाहरुले ३५ किलोमिटरको सर्टिकमा फन्को लगाउँदै साइकल लेनको अवधारणा अगाडी सारेका थिए । सार्वजनिक सडकमा साइकल चलाउनेहरुका लागि समेत सुरक्षित बाटो आवश्यक छ भन्ने मान्यता स्थापित गर्ने सन्देश दिएका उनीहरुले स्थानीय सरकार विराटनगर महानगरपालिकासँग साइकल लेनको माग राखे ।
२०७७ साउनको यो सन्देश विराटनगरले अहिलेसम्म कार्यन्वयन गर्न सकेन । तर, अन्य शहरमा प्रचलित साइकल लेनलाई धनगढी उपमहानगरपालिकाले पछिल्लो समय कार्यन्वयनमा ल्याएको छ । जसले विराटनगरलाई समेत एउटा सिकाईको पाठ हुनसक्ने सन्देश दिएको छ । त्यसका लागि केहि समानता पनि छन् ।
धनगढी र विराटनगरका लागि साइकल लेन निर्माण गर्ने समान अवसर छन् । उहाँ समेत छलेन सडकको एउटा निश्चित भाग साइकलमा सवार यात्रीका लागि संकेतसहित छुट्याइयो र विराटनगरमा समेत छलेन सडकको एउटा भाग छुट्याउन सकिने अवस्था छ । तर, धनगढीका उपमहानगरका प्रमुख गोपाल हमालमा जस्तो ईच्छाशक्ति विराटनगरका जनप्रतिनिधिमा हुन्छ की हुन्न भन्ने कुराले त्यसको कार्यन्वयन प्रभावकारीता जाँचिन्छ ।
त्यसका लागि केहि निश्चित चुनौती पनि छन् । युवा व्यवसायी मनोजबिक्रम शाहका अनुसार विराटनगरमा राजमार्ग केन्द्रीत पार्किङ व्यस्थापन यहाँको मुख्य चुनौती हो । त्यसका लागि पार्किङस्थल जरुरी हुन्छ र सडकको लेन अनुसाशनको पालना गराउनु पर्छ । साईकलिस्ट समेत रहेका शाहले जरुरी भएको कुरालाई स्थानीय सरकार र ट्राफिक प्रहरीले कार्यान्वयनमा ल्याउन सक्छन् । त्यसका लागि सरोकारवाला पक्षसँग लामो समयसम्म छलफल गरेर निश्चित मापदण्डका योजना निर्माण गर्नुपर्ने हुन्छ । उनले थपे–शौखका लागि हैन साइकल लेन भोकका लागि दैनिक दौडनेहरुलाई जरुरी छ ।
साइकल लेन छुट्याएपछि दुर्घटनामा कमी आउने बुझाई धेरैको छ । ठूला मालवहाक सवारी र यात्रु वहाक सवारीको चापमा परेका साइकल यात्रीलाई आफ्नो गन्तव्य पुग्न हतासा हुनुपर्दैन । अर्का युवा उद्यामी युनेशराज श्रेष्ठ सडकमा साइकल यात्रीको पनि हक छ भन्ने सन्देश साइकल लेनले दिन सक्ने बताउँछन् । तत्कालिन समयमा नेपाल युवा उद्यमी मञ्चको नेतृत्वमा रहेका बखत श्रेष्ठसहितको समूहले नै विराटनगरमा साइकल लेनको माग गरेका थिए । तर, २०७७ सालयता त्यसको कार्यन्वयन त भएननी निर्माण गर्ने योजनामा समेत परेको छैन ।
‘खासमा लेन विभाजन, सडक प्रयोग प्रयोजन र अनुसाशनमा विराटनगर कहिल्यै चासो राख्ने ठाउँमा देखिएन’ युवा उद्यमी श्रेष्ठले भने–‘मोटरसाइकल, गाडीमा हिँड्नेलाई साइकललाई स्पेस दिनुपर्छ भन्ने सन्देश दिन पनि यो जरुरी छ । अर्को कुरा लेन विभाजन गरेर साइकलमा हिड्नेहरुको आत्मासम्मान पनि मिल्छ । उनले दैनिक गरि खाने वर्गमा नागरिकले आफ्नो समय व्यवस्थापन गर्न समेत सहज हुने तर्क गरे ।
स्वास्थ्यसँगै पर्यावरणलाई पनि फाइदा पुग्ने भएकाले साइकल चलाउने परिपाटी बढाउन आवश्यक शहरमा देखिन्छ । तर, सुरक्षित साइकल यात्राका लागि व्यवस्थित सडकको अभाव हुँदा त्यसको असर चौतर्फी पर्ने गरेको छ । धनगढीले कार्यन्वयनमा ल्याएको साइकल लेन विराटनगरले किन कार्यन्वयन गर्न सक्दैन ? महानगरपालिकाका प्रमुख नागेश कोइरालाले एकै शब्दमा उत्तर दिए–हामीसँग योजना छैन । उनले छलेन सडक संघ सरकारको क्षेत्राधिकार भित्र पर्ने भएकोले स्थानीय सरकारले बनाउन नसक्ने बताए । यद्यपी सडकले बनाउन हुन्छ भने तयार हुनसक्ने पनि बताएका छन् । उनले छलेन सडकमा साइकल लेन बनाउन नसकिने बताउँदै मेन रोड क्षेत्रमा बनाउन सकिने विषयमा सोच्न सकिने बताए । उनले राजमार्गमा मालवहाक सवारी गुड्ने भएकोले साइकल लेन सुरक्षित नहुने तर्क गरे ।
विराटनगर महानगरपालिकाले सारेका योजनाहरु कार्यन्वयनमा नागरिक प्रतिरोध हुँदै आएका छन् । प्रमुख कोइरालाकै भाषामा भन्ने हो भने सुर्तीजन्य वस्तु नियन्त्रणका लागि लिएको पहलमा समेत अदालतले ब्रेक लगाई दियो । अर्को पार्किङ क्षेत्र तोकेर सडक खाली गराउन चाहेको कुरालाई समेत यहिंका नागरिकले अस्वीकार गरिदिए ।