प्रेम देवान
विराटनगर । विराटनगरमा दैनिक २ देखि ३ वटासम्म औपचारिक कार्यक्रम हुन्छन् । त्यस बाहेक सानातिना छलफल, अन्तरक्रिया, गोष्ठि जस्ता कार्यक्रम पनि उतिकै भईरहेका हुन्छन् । विराटनगर प्रदेशको राजधानी बनेपछि कार्यक्रमका ढाँचामा फरकपन आएका छन् । तर, विराटनगरमा धेरै संख्याको उपस्थितिमा कार्यक्रम गर्ने व्यवस्थित भवन र हल थिएन । भएको विरेन्द्र सभागृह खण्डहर जस्तै बनिसकेको थियो । भवन पुरानो र जिर्ण भएपछि त्यसै लथालिङ्ग अवस्था रहेको थियो । विराटनगर महानगरपालिकाको मातहतमा रहेको विरेन्द्रसभा गृहलाई के कसरी संचालनमा ल्याउने भन्ने चासो सबैको थियो ।
तत्कालीन मेयर भीम पराजुलीको पालामा छलफल तथा गृहकार्य प्रशस्त भएका थिए । पराजुलीकै पालमा नगरविकास कोषसँग ऋण सहयोग लिएर प्रवलीकरण तथा पुननिर्माण गर्ने प्रक्रिया बढ्यो । पुरानो भवनलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउनको लागि २० करोडको बजेट सुनिश्चित भएपछि काम पनि बढ्यो ।
नगर विकास कोषको सहयोगमा महानगरपालिकाले बिरेन्द्र सभागृह प्रवलिकरण तथा पुनः निर्माणको कामलाई अगाडी बढाएसँगै त्यसले नयाँ स्वरुप पाएको छ। करिब २० करोडको लागतमा पुरानो विरेन्द्र सभा गृहलाई पुनःनिर्माण गरी अत्याधुनिक सुविधा सम्पन्न बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।
समानान्तर जोशी, श्री ब्यन्कटेश जे्भीसँग २०७८ बैशाख ९ गते पुन निर्माण गर्नका लागि २० करोडको लागतमा सम्झौता भएको थियो । सम्झौता भएको केही महिनाबाटै निर्माण सुरु गरिएको भवनलाई सम्पन्नमा तीनवर्ष लाग्ने देखिन्छ । निर्माण कम्पनीसँग २०७८ बैशाख ९ गत सम्झौता भई १८ महिना भित्र निर्माण सम्पन्न गर्ने शर्त थियो । तर, तर अहिले १८ महिना कटिसकेको छ । केहि प्राविधिक समस्या आए पनि म्याद थप गरेर काम भईरहेको छ ।
निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर शेखर रायका अनुसार पुनः निर्माणको काम ९५ प्रतिशत सकिएको छ । अबका दुई महिनाभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिने छ । सभागृहको हलमा ४२० वटा सिट संख्या रहेकोमा १२ वटा भिआईपी सिट छन् ।
पहिलेको भन्दा आधुनिक किसिमको सिट राखिएको छ । यस अघि हलमा पंखा जोडिएको थियो । तर अहिले पखा हटाएर ठुलो खालको एसी जडान गरिएको छ । हलको माथिल्लो भागमा २ वटा क्याविन मिडिया जोन भनेर छुटाएको रायले बताए । पत्रकारहरुलाई फोटो तथा भिडियो लिनको लागि सहज होस् भनेर मिडिया जोन छुटै छुटाइएको उनले बताए । यसका लागि २ वटा नयाँ कक्ष समेत थपिएको छ ।
भिआईपी गेष्टको लागि सुविधा सम्पन्न कोठा र अतिथिलाई आवाससहितको थप सुविधा थपिएको हो । अपाङ्गतामैत्री भवन तथा शौचालय र ग्रिनरीपार्क सहितको प्रवेश र बाहिरीने गेट अलग–अलग बनाइएका छन् । हलमा अत्याधुनिक साउण्ड सिस्टम जडान गरिएको छ । भने कलात्मक वस्तुले खोपिएका झ्याल ढोका बनाइएको छ ।