सुजता लिम्बू
विराटनगर । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मृत्यु भएपछि रित्त रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा यतिबेला चुनावी माहोल तातिएको छ । निर्वाचन आयोगले बैशाख १५ उपनिर्वाचनको घोषणा गरेसँगै इलाम क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिएको हो । नेम्वाङको गत भदौ २६ गते मृत्यु भएको थियो ।
यतिबेला दलका नेताहरु घरदैलो, भेला बैठक गर्दै गाँउ पसेका छन् । हरेक निर्वाचनमा प्रतिस्पर्धाको मैदानमा रहेको नेकपा एमाले र नेपाली काँग्रेस आन्तरिक तयारीमा जुटदैछन् । भने, साना दलका नेताहरु पनि सो क्षेत्रका जनता माझ पुगेर भेटघाटलाई तिब्रता दिइरहेका छन् ।
पछिल्लो समय तत्कालिन प्रदेश १ ले फागुन १७ गते कोशी नाम पाएसँगै सडक आन्दोलनमा उत्रिएका पहिचान पक्षधर समेत उपनिर्वाचको तयारीमा रहेका छन् । सुवासचन्द्र नेम्वाङ हुँदासम्म एमालेको किल्ला भत्काउन नसकेको इलाम क्षेत्र नम्बर २ मा अब हुने उपनिर्वाचनमा के होला भन्ने बहसको विषय नै बनेको छ ।
त्यसो त इलाम आफैमा पहिचानवादीहरुको केन्द्रको रुपमा पनि लिने गरिन्छ । किराँत धर्मगुरु आत्मनन्द लिङ्देनको वासस्थान र किराँतीहरुको धार्मिक आस्थाको रुपमा रहेको माङसेबुङ निर्वाचन क्षेत्र नम्बर २ मा नै पर्दछ ।
यही आडले प्रत्येक निर्वाचनमा नेम्वाङको उम्मेदवारी लगभग जीतको निर्णायक शक्तिमा नै हुने गरेको नेताकार्यकर्ताहरु बताउछन् । यो उपनिर्वाचनमा एमालेको किल्ला जोगाएर राख्न स्व. नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई एमालेले उम्मेदवार बनाउला या अरुलाई नै पार्टीले टिकट देलान् ? भन्ने बहसको विषय बनेको छ । यतिबेला सुहाङको अनुहार देखाएर पहिचानपक्षधरको र एमालेको भोट तान्नमा अन्य दल पनि लागि नपरेका भने होइनन् ।
बुवाको सपना पुरा गर्नेगरी मात्रै आफू राजनीतिमा आउने भन्ने उनको भनाई छ । यता, एमाले समेत उनलाई टिकट दिने तयारी रहेको एमालेका नेताकार्यकर्ताहरु बताउछन् । २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका कुलबहादुर गुरुङ एमालेका नेम्वाङसँगै पराजित बने । २०६४ को संविधानसभा निर्वाचनमा कांग्रेसकै केशव थापा, २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका तत्कालीन महासमिति सदस्य भेषराज आचार्य पनि नेम्वाङसँग पराजित भए । २०७४ सालमा फेरि उनै आचार्यलाई पराजित गरेका नेम्वाङले २०७९ सालको निर्वाचनमा कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई पराजित गरे । तर, इलाम क्षेत्र नम्बर २ को राजनीतिक अवस्था पहिलेको जस्तो भने छैन । अहिले प्रदेशले कोशी नाम पाएसँगै एमालेका लागि राजनीतिक समिकरण बदलिएको छ । नामकरणको विषयले रुष्ट रहेको सो क्षत्रेका जनताको जनमत फेरिएला भन्ने अनुमान लगाउन सकिन्छ । यता, यही पहिचानको मुद्दालाई टेकेर उम्मेदवारको तयारीमा थुप्रै पहिचानपक्षधरका अभियन्ताहरु रहेका छन् । जसमा पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिम, राष्ट्रिय जनमुक्तिका केन्द्रिय अध्यक्ष के.पी. पालुङ्वा, किराँत याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष प्रेम येक्तेन, पत्रकार मिलन लिम्बू लगायतको नाम चर्चामा आएको छ ।
पत्रकार लिम्बू त चुनावी अभियानमा सक्रियरुपमा लागिपरेका छन् । दृष्टि अनलाइनको सम्पादक समेत रहेको लिम्बू नेपाल आदीवासी पत्रकार महासंघ ‘फोनिज’ का संघीय महासचिव समेत हुन् ।
अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङसँग पराजय बेहोरेका नेपाली काँग्रेसका डम्बर खड्का यो उपनिर्वाचनमा जीतको स्वाद चाख्ने दौडमा दौडिरहका छन् ।
पछिल्लो समयको पहिचानको आन्दोलनको प्रभावले पनि काँग्रेस र एमालेलाई पाखा लगाउदै पहिचानपक्षधरलाई विजयी बनाउने दौडमा रहेका पुनः नामकरण संघर्ष समितिको रणनिति राम्रो भएपनि आफै उम्मेदवारी बनेर चुनावी मैदानमा उत्रिनु भने मुद्धा ओझेलमा पर्न सक्ने सरोकारवालाहरु बताउछन् । आदिवासी अधिकारी एवम् नागरिक अभियन्ता गोविन्द छन्त्याल निर्वाचन आयोगको कोशी लेखेकै फारम भरेर उम्मेदवार हुने कार्य आन्दोलन गिजोल्ने एउटा दृष्टिकोण रहेको धारणा राख्छन् ।
आदिवासीको मुद्दा अमूक दलले वा अमूक उम्मेदवार (जिते पनि) सल्टाउने मुद्दा नभएको तर्क राख्दै उनले केवल संघर्षले घुँडा टेकाएर सल्टाउने मुद्दा रहेको बताउछन् । ‘अहिलेको टेक्नोफ्युडलिज्म, टेक्नोक्यापिटलिज्मको समयमा आदिवासीका सवाल केवल राज्यसत्तासँगको लडाईँ मात्रै होइन, ’उनी आफ्नो धारणा राख्छन्,‘कर्पोरेट नाफा राखेर दलाल पूँजीपतिको विरुद्धको लडाईँ पनि हो ।