विराटनगरका वडाहरुको बजेट : ४० लाखका सिमेन्ट फलैंचा, एक करोड ६० लाखको बिजुली सामान

<span class='c1'>विराटनगरका वडाहरुको बजेट : ४० लाखका सिमेन्ट</span> <span class='c2'>फलैंचा, एक करोड ६० लाखको बिजुली सामान</span>

विराटनगर । विराटनगरका धेरै स्थानमा पुग्दा सडक पेटीमा देखिन्छन् कलरवाला सिमेन्टका फलैंचा । कतिपय स्थानमा चिया पीउँदै गफिन समेत सहज भएको छ । कतिपय स्थानमा राखिएका फलैंचा वेवारिसे भएका छन् । नगरमा यसो ट्यास्स बस्नुपर्दा सहज हुने फलैंचा र बिजुली सामान खरिदमा चालु आर्थिक वर्षका लागि वडास्तरमा राखिएको बजेट हेर्दा सदुपयोग भन्दा दुरुपयोगका लागि भए जस्तो देखिन्छ ।

आर्थिक वर्ष २०८१÷२०८२ को नीति, कार्यक्रम तथा बजेट समेटिएको रातो किताब अध्ययन गर्दा विराटनगरका दक्षिण भन्दा उत्तरतिरका वडाका अध्यक्षहरुले फलैंचा र बिजुली सामान तथा स्ट्रिट लाइटमा प्रशस्त रकम राखेका छन् । जबकी उत्तर भन्दा दक्षिणतिरका सडक अध्याँरो छन् । फलैंचा पनि उत्तरतर्फका वडाका चोकचोकमा भेटिन्छन्, जबकी दक्षिणतर्फका वडामा देखिदैन ।

विराटनगरका सबै वडाले नराखेपनि चालु आर्थिक वर्षको बजेटबाट ४० लाख रुपैँयाको सिमेन्ट फलैंचा गरिद हुनेछन् । प्रतिइकाई मूल्य १० हजार परेछ भने ४०० वटा फलैंचा खरिद हुनेछन् । महानगरभरी फलैंचै–फलैंचा हुने स्थिति रहने देखिन्छ । तर, यी सिमेन्टको फलैंचाको अधिकतम मूल्य सानालाई ७ र ठूलालाई ८ हजार मात्रै पर्दछ । त्यो पनि महानगरपालिकाले विगतका वर्षमा खरिद गरेर भुक्तानी गरेको हिसाबका आधारमा हो । यदि अधिकतम मूल्य ८ हजार भए ५०० वटा फलैंचा महानगरपालिका भित्र वडाले चालु आर्थिक वर्षमा खरिद गर्नेछन् ।

फलैंचापछि बिद्युत सामाग्री, स्ट्रिट लाइट, सडक बत्ती शिर्षकमा राखिएको बजेट हेर्दा पनि सदुपयोग भन्दा दुरुपयोग हुने प्रकारको देखिन्छ । कतिपय वडाले त बिजुली सामान, सडक बत्ती र स्ट्रिट लाइट तीनवटै शिर्षकमा बजेट राखेका छन् । यसरी वडाहरुको बजेट हेर्दा एक करोड ६० लाख रुपैँया बराबरको बिद्युतीय सामान खरिद हुनेछ । यी सामान खरिद गरेर कहाँ–कहाँ लाग्छन्, त्यसको मूल्यांकन कसरी हुन्छ भन्ने कुरा यकिन भने छैन ।

वडागत रुपमा हेर्दा विराटनगर महानगरपालिका १ नम्बर वडाले बिद्युत सामाग्री खरिद तथा भ्यापर लाइट समेत ७ लाख र फलैंचा खरिदमा ५ लाख बजेट राखेको छ । दुई नम्बर वडाले बिद्युत सामाग्री खरिद ५ लाख र फलैंचा खरिद २ लाख राखेको छ । विराटनगर–३ ले सडक बत्तीको लागि सामान खरिद १० लाख, वडालाई उज्यालो बनाउने स्ट्रिट लाइट खरिद १० लाख र सिमेन्ट फलैंचा खरिद ३ लाख रुपैंया राखेको छ ।
यसैगरी ४ नम्बर वडाले बिजुली सामान खरिद ७ लाख, फलैंचामा ३ लाख, ५ नम्बर वडाले छठ पर्वमा लाइटिङ्ग तथा सरसफाई, बिद्युत सामाग्री खरिद ८ लाख भनेर उदेश्य खुलाएको छ । फलैंचा खरिदका लागि ३ लाख रुपैँया बजेट राखेको छ । विराटनगर महानगरपालिकाको ६ नम्बर वडाले फलैंचा खरिद शिर्षकमा ५ लाख र बिजुली बत्ती सामाग्री खरिदमा ८ लाख बजेट राखेको छ । विराटनगर ७ नम्बर वडाले बिजुली सामान ५ लाख, स्ट्रिट लाइट १० लाख, वडा कार्यालयलाई जेनेरेटर ५ लाख र फलैंचामा ४ लाख बजेट राखेको छ । विराटनगर ८ ले फलैंचा ३ लाख र बिजुली बल शिर्षकमा ४ लाख बजेट बिनियोजन गरेको छ ।

विराटनगर ९ मुख्य बजार क्षेत्रको वडाले सिसी क्यामरा जडामा १० लाख, बिजुली बत्ती पोल खरिद तथा जडान १० लाख, फलैंचा, स्याब, नाला, बाटो, कल्भर्ट, ग्राभेल मर्मत तथा संभार शिर्षकमा १० लाख बजेट राखेको छ । १० नम्बर वडाले सडक सौन्दर्यकरण, लाइटिङ्ग, घेराबेरा, फूल तथा बिरुवा रोपनमा ६ लाख र सडक बत्ती, स्ट्रिटलाइट, बिद्युतीय सामाग्री खरिद शिर्षकमा ८ लाख बजेट बिनियोजन रेको छ । फलैंचामा दुईलाख बजेट रहेको छ ।

यसैगरी विराटनगर ११ ले बिद्युत खानेपानी वातावरण तथा सरसफाई ८ लाख ५० हजार राखेको छ । यसैगरी विराटनगर १२ ले बिद्युत व्यवस्थापनतर्फ भन्ने शिर्षकमा ६ लाख, विराटनगर १३ ले बिजुली सामाग्री खरिद ७ लाख, स्ट्रिट लाइट खरिद ७ लाख भनेर बिनियोजन गरेको छ । विराटनगर महानगरपालिका १४ ले वाइफाइ सिसी क्यामरा ३ लाख, बिद्युत सामाग्री खरिद (भुक्तानी दिन बाँकी समेत) ७ लाख ५० हजार र फलैंचामा २ लाख बजेट राखेको छ ।

विराटनगर १५ ले बिजुलीका बत्ती तथा सामान ५ लाख, स्ट्रिट लाइट ६ लाख रुपैँया बिनियोजन गरेको छ । विराटनगर १६ मा बिजुली सामान खरिद शिर्षकमा ८ लाख, १७ मा बिजुली सामान खरिद ५ लाख र १८ मा १८ बिजुली खरिद वडामा भन्ने शिर्षकमा ७ लाख रुपैँया राखिएको छ । विराटनगर १८ ले एकलाखको सिमेन्ट फलैंचा खरिद गर्ने बजेट समेत राखेको छ । दक्षिणका वडाले उत्तरको भन्दा बिजुली र फलैंचा शिर्षकमा कम बजेट राखेका छन् । उत्तरतर्फको नयाँ वडा विराटनगर १९ ले सडक बत्ती ५ लाख र फलैंचा २ लाख भनेर बजेट बिनियोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्