झापा भ्रमणमा निस्किएपछि नै पानी पर्न थालेको थियो । फर्किँदा पनि पानी परिरह्यो । भेषराज न्यौपानेलाई भेट्न जाँदै गर्दा पनि पानी दर्किरहेको थियो । दमक बस स्टेण्डमा ओर्लिएर सिधै सिटी सफारी चढ्यौ । उनले दिएको लोकेशन अनुसार चालक दाइले हामीलाई दमक पब्लिक लाईब्रेरीको गेटमै पर्खिरहेका थिए ।
'म त उताबाट आउनुहुन्छ भनेर हेरिरहेको ।' हामी उनले हेरिरहेको भन्दा उल्टो बाटोबाट आएका थियौ । त्यसैले यसो भन्दै उनले हामीलाई मिठो स्वागत गरे ।
लाईब्रेरीमा छिर्दा जहिल्यै पनि अलग महसुस हुन्छ मलाई । किताबहरूको सामिप्यताले गहिरो साईलेन्स डिमाण्ड गर्छन् । कुनै किताब नपढे पनि त्यहाँ पुगेर शान्त हुनुको अनुभव अर्कै हुन्छ । त्यो लाईब्रेरी त झन् सामान्य लाईब्रेरी थिएन । शारीरिक रूपमा अपांगता भए पनि मानसिक ईच्छाशक्तिले भरिएका एक शैक्षिक योद्धाको सपना खडा थियो हाम्रो अगाडी । मलाई त्यसको सामिप्यता त्यसैले पनि न्यानो लाग्यो ।
केही केटाकेटिहरु त्यहाँ बसेर चेस खेलिरहेका थिए । एकैछिनमा गईपनि हाले ।
फेसबुकमा देखिरहेको र सुनिरहेको मानिसलाई पहिलोपल्ट भेटिरहेको थिँए म । उनको व्याक्तित्वको बारेमा परिचित भइसकेको थिँए ।
हामीले उनलाई भेट्न चाहेको कारण वताएपछि उनी झन् सहज रूपमा प्रस्तुत भए । मैले आजसम्म लिए मध्ये सबैभन्दा सहज अन्तर्वाता हुँदै थियो त्यो । उनले दिने जवाफहरुमा उनको अध्ययनको मिठास पनि भरिएर आँउथ्यो । मलाई प्रश्न गरिरहनु पनि निरर्थक लाग्थ्यो ।
चिया पिँउदै हामीले कुराकानी सुरु गर्यौ ।
˟˟˟˟˟
२०६१ फागुन २७ गतेको दिन उनी दुर्घटनामा परे । घरको बार्दलीबाट खसे र अचेत भए । होस् आँउदा उनको शरीरको कुनै पनि अङ्ग चलिरहेका थिएनन् । थाहा भयो उनलाई स्पाईनल ईन्ज्युरी भएको रहेछ । उनले सेकेण्ड लेप्टिनेन्ट मा भर्ती हुने सपना देखिरहेको बेला थियो त्यो । शारीरिक अभ्यास गरिरहेका थिए त्यसको लागी ।
डक्टरले बिस्तारै ठिक हुन्छ भन्ने गरे पनि उनको शरीरले ज्यादै ढिलो प्रगति गरिरहेको थियो । यस्तो लाग्थ्यो चोट उनलाई चाँडै छोड्नेगरी आएकै थिएन । उनलाई डक्टरले भनेको यति कुरा अझै पनि ताजा छ¸ 'घरकै सदस्यमा पनि अव कसले सबैभन्दा बढी माया गर्छ भन्ने कुरा तपाईँलाई थाहा हुन्छ ।' त्यो उनले थाहा पाए पनि ।
उनका हातका औलाहरु चलेनन् । सबै काम अरूले नै गरिदिनु पर्यो । उनलाई लाग्थ्यो उनको त्यत्रो बल कहाँ गयो ? तर पनि परिवारले जुन रूपमा साथ दिए त्यसको कारण उनी आफूलाई भाग्यमानी संझन्छन् । अरू धेरै अपांगहरु जस्तो उनले अपहेलित भएर बस्नु परेन । उनले सोचेको काममा परिवारले साथ दिए ।
बस्न सक्ने हुनथालेपछि उनले पुस्तक पढ्न थाले । नेपोलियन हिलको एउटा किताब उनले पढ्न चाहेका थिए तर दमकमा कतैपनि पाउन सकेनन् । उनलाई लाग्यो यत्रो एक डेढ लाख जनसङ्ख्या भएको ठाउँमा पढ्न चाहाने एउटा मान्छेले किताब किन पाउन सक्दैन? उनले आफैलाई प्रश्न गरे¸ म जस्तै मानिसहरू कति होलान् त?
लाईब्रेरी सुरु गरौँ भन्ने कुरा त्यस बेला नै लाग्यो उनलाई । पुस्तकहरुले नै खासमा उनलाई हाँसेर बाँच्न सिकाउन थालेका थिए । पुस्तकहरुले मलाई परिवर्तन गर्यो भने अरूलाई पनि गर्न सक्छ भन्ने लाग्यो । त्यस्तो महत्वका पुस्तकहरुलाई सबैको पँहुचमा पुर्याउँछु भन्ने उनलाई भित्र कतै लाग्यो ।
आफ्नो दिमागमा बनेको योजना उनले हरि सिटौलालाई सुनाए । उनी अहिले दमद पब्लिक लाईब्रेरीका सचिव छन् । उनले अर्को साथीलाई पनि बोलाए । तीनजनाले २०/२० हजार उठाउने र आफूसँग भएका किताबहरू राखेर सुरु गर्ने भनेर निर्णय गरे । पहिलो माईन्युट तिनै तीनजनाले गरे ।
पछि बनेको टिमले अहिलेको यो अवस्थासम्म ल्याईपुगेको छ । उनीहरूले सुनाएका सबै साथीहरू सकारात्मक । त्यस अगाडी पनि धेरै लाईब्रेरीहरु बन्दै खुल्दै गरेका रहेछन् । निरन्तरता दिनु प्रमुख चुनौती हुँदै थियो । उनीहरू सिधै लाईब्रेरीको लागी बजारमा पैसा उठाउनु भन्दा पनि मानिसहलाई लाईब्रेरी जरुरी छ भन्ने आभास दिलाउन विभिन्न कार्यक्रमहरू गरे ।
सुरुसुरुमा मानिसहरूले उनको घरको तलतिर एउटा कोठामा खुलेको उक्त लाईब्रेरीलाई दोकान संझिदा रहेछन् । उनले रोमांचित हुँदै सुनाए¸ 'मानिसहरू कपि¸ कलम¸ चार्टपेपर जस्ता सामान किन्न आँउथे । उनीहरूलाई लाईब्रेरी भन्ने के हो भनेर नै बुझाउनु थियो ।'
पत्रपत्रिकाहरु देखि लिएर पुस्तकहरू राख्ने गरिएको थियो । विना शुल्क पढ्न सकिन्छ भनेर प्रेस मिट गरेपछि बिस्तारै मानिसहरू आउन थाले । कल्चर बढ्दै गयो ।
उनी विभिन्न किताबहरू पढिरहेका हुन्छन् । हामीसँग कुरा गर्दा पनि 'सोफिज वर्ल्ड' पढिरहेका थिए । दर्शनका किताबहरू पढ्न मन पर्छ उनलाई ।
उनी युवापुस्ताका विभिन्न कार्यक्रमहरूमा गेस्ट स्पिकरको रूपमा बोल्न गएका छन् । के भन्ने गरेका छन् भने सबैले देखे जस्तो उनी शारीरिक रूपमा कमजोर छन् तर मानसिक रूपमा छैनन् । जिन्दगीमा मानसिक रूपमा सबल छौ भने जस्तोसुकै समस्यासँग पनि जुध्न सकिन्छ । दिमाग परिपक्क भएन भने शरीर मात्रले मानिसहरूलाई बचाउन सक्दैन । शारीरिक रूपमा त हात्ती कति धेरै सबल छ तर माउतेको सानो आदेशबाट उसको दिमाग सञ्चालन हुन्छ । उनी भन्छन्¸ शारीरिक रूपमा अपांग भएर मैले त यति गर्न सकेको छु भने तिमीहरू किन सक्दैनौ? भन्ने गरेका छन् ।
सपना देख्नेकै पुरा हुन्छन् ।
लाईब्रेरी अभियानमा सहभागी भएपछि धेरै घटनाहरू भएका छन् जसलाई संझिएर उनी बेलाबेला आफूले गरेको कामप्रति सन्तुष्ट हुने गरेका छन् । एक पटक एक जना सर लाईब्रेरिमा आउनुभयो । उहाँले उहाँको बारेमा पढ्नुभएको रहेछ । उहाँले भन्नुभयो रे¸ खासमा दमक आउने सानो काम मात्र थियो तर तपाईँलाई नभेटी जानै सकिन ।
उनी बाहिर निस्किँदा रिल्याक्समा निस्किन्छन् । उनलाई लाज लाग्दैन । केहिसमय अगाडी भारत भ्रमणमा जाँदा उनी समुन्द्र घुम्न गए । ह्विलचेयर सहित पानीमा भिजे । सनबाथ गरे । त्यहाँ कालो वा गहुँगोरो छाला उनको मात्र थियो । वरपर भएका मानिसहरू आफू रमाइलो गर्न छोडेर उनलाई हेर्दै ईन्जोई गरिरहेका थिए । अलिकति कतै अड्किएजस्तो भए 'क्यान आई हेल्प यु?' भन्दै सोध्न आईहाल्थे ।
नेपालमा अपांगता भएका मानिसहरूलाई गर्ने साधाहरण मानिसहरूको व्यवहारमा अहिले पनि परिवर्तनको खाँचो छ । अपांगतामैत्री संरचना तथा व्यवहार सबैतिर हुनु जरुरी छ । सार्वजनिक यातायातमा पनि यात्रा गर्न कठिन छ । आनाकानी गर्न खोज्छन् तर अधिकार हो भनेर बुझाउने गरेका छन् ।
राज्यबाट त्यति धेरै अपेक्षा गर्न सक्ने अवस्था छैन तर पनि उनलाई के लाग्छ भने घरमा बसेर अधिकार आँउदैन । उनले घरबाट निस्किने आँट नगरेका भए कसैले पनि उनलाई त्यो अवसर दिनेथिएनन् । उनले लाईब्रेरी खोल्ने सपना नदेखेका भए आज कसैले पनि उनलाई लाईब्रेरियन भन्ने थिएन ।
सहानुभूति बाट उदाहरण बन्न सबै अपांगता भएका मानिसहरले फाईट गर्नुपर्ने देख्छन् उनी । आफूभित्र नै क्रियाशील नहुँदा दिएकै अधिकार पनि कतिपय उपयोग गर्न नसकिईरहेको उनको ठम्याई छ ।
शिक्षा क्षेत्र र युवाहरूलाई फोकस गरेर मानवताको लागी काम गरिरहने उनको योजना छ । देखेका सपनाहरुको बाटो हिँडिरहन मन छ उनलाई । अभियानलाई त्यहाँ सम्म पुर्याउन मन छ जहाँ बाट अरू कसैले पनि अगाडी धकेल्न सकुन् ।
˟˟˟˟˟
उनी आध्यात्मा विश्वास गर्छन् । स्पाईनल ईन्ज्युरी भएर जब उनलाई होस् आयो¸ त्यसपछिका सात दिन सात रात निन्द्रानै आएन । यस्तो मोडमा थिए उनी कि कल्पनै गर्न सकिन्न । एउटा गन्तव्यमा निस्किसकेको रेल अन्तै कतैको कठिन मोडतिर लागेको थियो जता जाने कुनै बाट उनले देखिरहेका थिएनन् । हरेक बाटो शून्य लाग्थे । त्यसको असर कहाँ पर्यो भने¸ दबाईले काम गर्नै सकेन ।
डक्टरहरुले मेडिटेसन गराउनुभएपछि उनलाई निन्दा लाग्न थाल्यो । मेडिटेसनको 'रेस्ट अफ माईन्ड' कन्सेप्टमाथि उनलाई गहिरो विश्वास छ । कुनै चिजलाई आराम दियो भने त्यो अझै बढी प्रभावकारी हुन्छ ।
अहिलेको केटाकेटी कस्ता छन् त?
उनलाई लाग्छ सामाजिक सञ्जालले धेरैलाई नकारात्मक असर पारिरहेको छ । लाईब्रेरी भिजिट¸ पुस्तक कल्चर तथा सामाजिक स्बयंसेवामा अविभावकहरु अहिले पनि छोराछोरीलाई सहभागी गराउनु जरुरी ठान्दैनन् । त्यसले उनीहरूको व्याक्तिगत र सामाजिक जीवनमा पार्नसक्ने प्रभावको बारेमा पनि सबैलाई बुझाउनु जरुरी छ ।
त्यसलाई सुधार्नलाई स्कुलिंगको मुख्य उदेश्यहरुबारे अविभावकहरु पनि जानकार रहनु जरुरी छ । डक्टर¸ ईन्जिनियर¸ शिक्षक जस्ता पेशाहरु भनेको ती विधामा एक्पर्ट हुनुपर्ने विधाहरु हुन् । ठिक छ मान्छे त्यति बन्ला तर लाईफ त्यतिमात्र हैन । जतिपनि विश्वमा ईन्भेन्सन भएका छन् ती सबै क्रिएसनहरु लाईब्रेरीमा छन् जुन अध्ययन गरिनु जरुरी छ ।
उनी लाईब्रेरीमा विभिन्न युथहरुलाई भेटन् जो वास्तवमै भोलिक लागी गज्जब काम गर्न सक्ने हुँदैछन् । उनिहरुबिच बेलाबेला डिस्कसन पनि चलाउने गरेका छन् लाईब्रेरिमा ।
पहिला पहिला उनलाई कहिले ठिक हुँ र हिँडिहालु जस्तो लाग्थ्यो । ह्विलचेयरमा वस्नुपर्दा अत्यास लाग्थ्यो । तर संसार बिस्तारै फरक ढङ्गबाट हेर्न सक्न थाले उनी । अहिले त्यस्तो सपना छैन¸ मात्र लाईब्रेरिलाई कसरी दीर्घकालीन रूपमा सबल बनाउने भन्ने सोच छ उनलाई । पुरानो ह्विलचेयरलाई छोडेर विगत एक वर्षबाट उनी अत्याधुनिक ह्विलचेयरमा वस्छन् । हातको सानो इसारामा नै त्यो यता उता गरिदिन्छ । उनले भनेको मानिदिन्छ । त्यही सँग लामो यात्राको लागी निरन्तर हिँड्नु छ उनलाई । ईस्टेफन हकिंगले सबैभन्दा बढी प्रेरित गर्छन् उनलाई जसले संसारलाई वुझाईदिए कि एक्काईसौ सताब्दिमा ईट ईज माईन्ड द्याट म्याटर्स द मस्ट । मान्छे माउते हुन जानेने भने उसको शरीरको हात्तीले उसलाई दुर्घटित मात्र पार्छ । हिँड्ने काम ह्विलचेयरले गरिदिएको छ¸ त्यो पनि रमाइलो छ ।
लाईब्रेरिका अलावा दमक सफा अभियान भनेर विगत ३४ हप्तादेखि सरसफाईमा पनि क्रियाशील भइरहेका छन् । टिच फर ब्राईटर टुमारो भनेर अभियान पनि सञ्चालन गर्ने सोचिरहेका छन् ।
पहिला र अहिलेको भेषराज बिच तुलना गर्ने गरेका रहेनछन् । उनलाई त्यति वास्ता पनि लाग्दैन रहेछ । बाहिरबाट हेर्दा मान्छेल मलाई अपांग देखेपनि उनी आफूलाई कहिल्यै अपांग हो जस्तो लाग्दैन ।
उनको औलाहरु चल्दैनन् त्यसैले लेख्नलाई गाह्रो हुन्छ । मोबाइलमा भने जेनतेन लेख्छन् ।
˟˟˟˟˟
कुराकानी सकियो ।
‘अन्तिममा भने वि आर चेन्ज मेकर भनेर सोचौ । सकारात्मक सोच राखौ’ भन्दै उनले कुरा बिट मारे ।
हामी फर्किँदा पनि पानी परिरहेको थियो । झरीको बिचमै एक अलग अभियन्तासँग भलाकुसारी गर्न जुरेको रहेछ ।
फर्किँदा नँया उत्प्रेरणा शरीरमा दौडिरहेको जस्तो लाग्यो ।
सुरज सुवेदी
Twitter: @skyasesh