इनरुवा, चैत १८ गते ।
सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिका क्षेत्रका किसानले सूर्यमुखी फूलको व्यावसायिक खेती थालेका छन् । किसानले तेलका लागि उपयुक्त भएको भन्दै सूर्यमुखी फूलको व्यावसायिक खेती थालेका हुन् ।
जिल्लाको कोसी गाउँपालिका र बराह क्षेत्र नगरपालिकामा मौरी चरनका लागि सूर्यमुखी फूल उपयोगी भएको र इनरुवा नगरपालिका, देवानगञ्ज, बर्जु, गढी, हरिनगर, नरसिंह भोक्राहासहितका गाउँपालिकाका किसानले स्वस्थ तेलका लागि सूर्यमुखी फूलको व्यावसायिक खेती थालेका इनरुवा ९ बबियाका किसान शम्भु यादवले बताउनुभयो ।
उहाँका अनुसार यसबाट कृषकले अन्य बालीको तुलनामा दोब्बर र तेब्बर फाइदा लिन सक्छन् । सुन्दरताका लागि केही बोट दैलो, प्रवेशद्वार, आँगनको डिल, छेउछाउमा लगाउँदै आए पनि सो खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि यहाँका कृषक सूर्यमुखी खेतीतर्फ आकर्षित भएका अर्का किसान रामदेव मेहताले बताउनुभयो ।
केही वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले निःशुल्क सूर्यमुखी फूलको बीउ वितरण गरेपछि सुरु भएको सूर्यमुखी फूलको खेती अहिले आएर व्यावसायिक रूपमा नै यो खेती गर्नेहरू बढेका छन् । इनरुवा नगरपालिका ९ बबियाको यदु वंशी बहुद्देश्यीय कृषक समूहले तीन हेक्टरमा सूर्यमुखी फूलको व्यावसायिक खेती गरेको समूहका सचिव मुसहरु साहुले जानकारी दिनुभयो ।
बबियाका कृषकले पाँच वर्षअघि कृषक समूह गठन गरेर व्यावसायिक रूपमा सूर्यमुखी र मकै खेती सुरु गरेका थिए । इनरुवासहित जिल्लामा करिब एक हजार हेक्टर क्षेत्रफलमा सूर्यमुखी फूलको खेती गरेका छन् । यसबाट दुई वर्षयता किसानले सोचेभन्दा राम्रो आम्दानी गरेका लौकही कृषि शाखाका गोसाइ यादवले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख बौवालाल चौधरीले सूर्यमुखी फूल बाह्रै महिना फुल्ने भएकाले यसपालि कोसी गाउँपालिकाका किसानलाई ५१ केजी बीउ अनुदानमा वितरण गरिएको जानकारी दिनुभयो । फूलका कारण मौरीलाई चरन हुने अर्कोतर्फ बियाँबाट तेल उत्पादन गर्न सकिने भएकाले ज्ञान केन्द्रले अनुदानमा कोसी बगरका किसानलाई अनुदानमा बीउ वितरण गरेको चौधरीले बताउनुभयो ।