पत्रकार कुट्नेलाई ज्यान मुद्दा

पत्रकार कुट्नेलाई ज्यान मुद्दा

विराटनगर, २३ जेठ । समाचार लेखेको विषयलाई लिएर युवा संघका कार्यकर्ताहरुले नागरिक दैनिकका विराटनगर सम्वाददाता खिलानाथ ढकाललाई ज्यानमार्ने उद्देश्यले आक्रमण गरेका छन ।

आइतवार राति युवा संघका कार्यकर्ता रोहित कोइरालालगायतको समूहले विराटनगरको ट्राफिक चौकबाट पत्रकार ढकाललाई अपहरण गरी विराटनगर–१५ को आँप बंगैचामा पुर्याएर मरणासन्न हुने गरी कुटपिट गरेका हुन । आक्रमणबाट ढकालको नाकको हड्डी भाँचिएको छ भने अनुहार, मुख, ढाड, छातीमा समेत गहिरो चोट लागेको छ । घाइते ढकालको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।  पत्रकार ढकालले आफुलाई युवा संघका नगर अध्यक्ष रोहीत कोइराला र कार्यकर्ता मनोज राइले वोलाई आक्रमण गरेको बताएका छन । उनले भागेर ज्यान बचाएको र प्रहरीले महेन्द्र चौकबाट उद्दार गरेको बताइएको छ ।

मोरङ जिल्ला अदालतमा पेशीका लागि ल्याइएका हत्याका आरोपी अभिषेक गिरीमाथि ६ दिनअघि गरिएको आक्रमणको विषयमा लेखिएको समाचारलाई लिएर युवा संघका अध्यक्ष पर्शुराम बस्नेतले धम्की दिंदै आएको  ढकालले बताएका छन । उनले युथ फोर्स मोरङ अध्यक्ष   बस्नेतले समाचार लेखेको विषयमा आफुलाई जानकारी नगराएको भन्दै जे पनि हुनसक्ने भन्दै धम्की दिएको बताएका हुन ।

आइतबार राति १०३० बजे कोइरालाले फोन गरी आफुसंग सानो काम भएकोले भेट्न बोलाएका थिए । ढकालले आफुलाई विराटनगर–१५ स्थित जेनियल होटल पछाडी लगेर आक्रमण भएको बताएका छन । उनी आक्रमणकारीबाट बचेर भाग्न सफल भएका थिए ।  नालीमा खाँदेर लछारपछार पर्दै कुटेको ढकालले बताएका छन । आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले कोइरालालाई उनकै घरबाट राति नै पक्राउ गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारी, पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरमा डिआईजी विनोद सिंहले अस्पतालमा ढकाललाई भेटी घटनाको विषयमा जानकारी लिनुभएको छ । डिआईजी सिंहले घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गरिने बताउनुभयो । उहाँले अपराधिले कुनै पनि हालतमा छुटकारा नपाउने भन्नुहुँदै पानी मुनि भएपनि नछोड्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मोरङले सोमबार नै प्रमुख जिल्ला अधिकारीलाई भेटी दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा युथ फोर्स मोरङका अध्यक्ष परशुराम बस्नेत, युवा संघका नगर अध्यक्ष रोहित कोइराला र कार्यकर्ता मनोज राईलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरिएको पत्रकार महासंघ मोरङका अध्यक्ष विक्रम निरौलाले जानकारी दिनुभयो । तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा ज्यान मार्ने र अपहरणको जाहेरी दर्ता गरीएको समेत उहाले जानकारी दिनुभयो । महासघले सोमवार जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएको ज्ञापन पत्रमा लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको प्रेशमाथि गरिएको आक्रमणको जति नै निन्दा गरपनि थोरै हुने बताइएको छ । ज्ञापनपत्रमा विगतका दिनमा आपना कुरा प्रशासनले नसुनेको भन्दै निन्दा गरिएको छ । समाचार लेखेकै आधारमा ज्यान मार्ने उद्देश्यले ढकाललाई आक्रमण गरेको भन्दै कार्वाही नगरे जस्तोसुकै आन्दोलन गर्नु पछि नपर्ने बताइएको छ । ज्ञापनमा घटनाका मुख्य दोषी पर्शुराम बस्नेत, रोहित कोइराला र मनोज राईलाई तत्काल पक्राउ गरी कार्वाही गर्न संकेत माग गरेको छ ।

त्यसैगरि समाचार लेखेकै विषयलाई लिएर आक्रमण गरिएको भन्दै संचार क्षेत्रमा कार्यरत विभिन्न सगठनहरुले घटनाको भत्र्सना गदै दोषिलाई तत्काल कार्वाही गर्न माग गरेका छन । नेपाल पत्रकार महासंघ मोरङका सभापति विक्रम निरौला, क्रान्तिकारी पत्रकार संघ मोरङका अध्यक्ष गणेश लम्साल, प्रेस युनियन मोरङका अध्यक्ष कुमोद अधिकारी, प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष बन्धु पोखरेलले संयुक्त विज्ञप्ती प्रकाशित गरी समाचार संकलनपछि आफ्नो घरमा खाना खाइरहेको अवस्थामा मोटरसाइकलमा अपहरण गरी एकान्तमा लगेर मध्यराति युथफोर्स मोरङका प्रमुख परशुराम बस्नेतको प्रत्यक्ष निर्देशनमा युवा संघ विराटनगर नगर अध्यक्ष रोहित कोइराला र संघका कार्यकर्ता मनोज राईसहितले ज्यानै लिने किसिमले सांघातिक आक्रमण गरी मरणासन्न अवस्थामा सडकको नालीमा फ्याकेको भन्दै तत्काल दोषीहरुलाई कार्वाहीको माग गरेका छन साथै घाइते पत्रकार ढकालको शीघ्र स्वास्थ्यलाभको समेत कामना  गरेका छन ।

विज्ञप्तीमा यस्तो आपराधिक घटना गराउन योजना बनाएर निर्देशन दिने बस्नेतसहित आक्रमण गर्ने कोइराला र राईलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न हामी प्रहरी प्रशासनसँग जोडदार माग गर्दछौ भनिएको छ । दोषीलाई कारबाही गर्ने सम्बन्धमा प्रहरी प्रशासनले बेवास्ता गरेमा उत्पन्न परिणामप्रति स्वयं प्रहरी र प्रशासन जिम्मेवारी हुने चेतावनी दिंदै सशक्त आन्दोलन घोषणा गर्न बाध्य हुने विज्ञप्तीमा भनिएको छ ।

त्यसैगरि प्रेस चौतारी पुर्वाञ्चल क्षेत्रीय समन्वय समितिका अध्यक्ष प्रकाश खतिवडाले दोषीलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेका छन ।

दोषीलाई कार्वाही र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपाल सम्पादक प्रकाशक संघ मोरङले पनि विज्ञप्ती प्रकाशित गरेको छ । विज्ञप्तीमा घटनामा संलग्नलाई कडासे कडा कार्वाहीको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यसैबीच, घटनालाई लिएर विभिन्न पार्टी तथा राजनैतिक दलका भातृ संगठनहरले विरोध गरेका छन । एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस, अखिल क्रान्तिकारी, वाइसियल मोरङ, गणतान्त्रिक खेलकुद महासंघलगायतले छुट्टाछुट्टै बिज्ञप्ती प्रकाशित गरी घटनाको विरोघ गरेका छन । विज्ञप्तीमा दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न माग गरिएको छ । त्यस्तै मानअधिकारवादी संघ संस्था, नेकपा एमाले, मधेशी जनअधिकार फोरमले पनि दोषीलाई तत्काल कार्वाही गर्न माग गरेका छन । विज्ञप्ती प्रकाशित गर्नेहरुमा इन्सेक, ओरेक, रिडेफ, कोक्यापलगायतका १९ वटा गैरसरकारी संस्थाहरुले समेत दोषीलाई कार्वाही गर्न माग गरेका छन ।

यसैगरी, युथ फोर्स मोरङ अध्यक्ष पर्शुराम बस्नेत र युवा संघका मोरङ अध्यक्ष रविन थापाले संयुक्त रुपमा विज्ञप्ती प्रकाशित गरी घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको बताएका छन ।

यता नेपाल पत्रकार महासंघ मोरङले मुख्य दोषी युथफोर्स मोरङका अध्यक्ष पर्शुराम बस्नेत, नगर अध्यक्ष रोहित कोइराला र मनोज राईलाई ज्यान मार्ने उद्योगअन्तर्गत अपहरणसहितको मुद्दा जिल्ला अदालत मोरङमा दायर गरेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्