विराटनगर/ २५ श्रावण । विराटनगरका युवाहरुले १२ औ अन्तराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने भएका छन् । मोरङ्ग युवा सञ्जाल नामक समुह गठन गरी विराटनगरमा कार्य गर्ने विभिन्न ३० संघसंस्था, क्लब लगायतका समुहको सयुक्त सहभागीतामा गठित उक्त सञ्जालले एकैसाथ अन्तराष्ट्रिय युवा दिवस मनाउन लागेको हो ।
यस वर्षको युवा दिवस ‘स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय नीतिनिर्माण तहमा युवाको सकृय भुमिका सुनिश्चित गरौ’ भन्ने मुख्य नाराको साथ मनाउन लागिएको हो । युवाहरुको परिचय, आत्मसम्मान, सहभागिता, संविधान निर्माण , वातावरण संरक्षण, कुलत लगायतका विभिन्न सवालहरुलाई उठान गरी स्थानीय र केन्द्रिय सरकारलाई दवाब दिदै सम्पुर्ण युवाहरु एककृत भई युवा दिवस मनाईने सञ्जालले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । युवाहरुको सञ्जालले सार्वजनिक गरेको हप्ता दिने कार्यक्रम तालिका अन्तर्गत अगस्त ६ गते देखि अगस्त १२सम्म युवा दिवस मनाइने छ । यसै कार्यक्रम तालिकामा आधारित रहि विभिन्न संस्थाले छुट्टाछुट्टै कार्यक्रमहरु आयोजना गर्ने सञ्जालको सचिवालय प्रमुख विशाल राईले बताउनु भयो । उहाँका अनुसार यस अभियानलाई सबै संस्था मिलेर सामुहिक रुपमा श्रावण २७ गते साँझ ४ बजे बृहत यूवा र्याली आयोजना गरी समापन गरिने छ ।
सरकारलाई युवा निति कार्यान्वयनका लागि दबाव दिने उद्देश्यका साथ ई–क्याम्पेन अन्तर्गत एकै पटक हजारौ पत्र नेपाल सरकारको सम्बन्धित मन्त्रालयको इमेल ठेगानामा पठाउन लागिएको इस्ट आईटि कम्युनिटिका अध्यक्ष राजन लम्सालले बताउनु भयो । त्यसतै गरि यहि अवसरमा युवा तथा वातावरणको क्षेत्रमा कार्य गर्ने संस्था सँगसँगैले नेपाल मै पहिलो पटक अंकमाल कार्यक्रम आयोजना गर्दैछ । सँगसँगैका अध्यक्ष आशिष राज ढुंगानाका अनुसार शान्ति, सहकार्य र मित्रताका लागि यो कार्यक्रम गरिने छ ।
युवा दिवसको कार्यक्रम अन्तर्गत अन्तर कलेज निबन्ध प्रतियोगिता, सँगसँगै अँगालो, ई क्याम्पेन , हस्ताक्षर संकलन, रक्तसमुह संकलन लगायतका कार्यक्रम आयोजना गरीने सञ्जालले विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।