‘बस दुर्घटनामा २३ को मृत्यु’

‘बस दुर्घटनामा २३ को मृत्यु’

डोटीको जोरायलबाट धनगढी आउंदै गरेको यात्रुवाहक बस सोमबार अपरान्ह् डोटीको छतिवन गाविसको बाँझीलेक भन्ने ठाउँमा दुर्घटना हुँदा कम्तीमा २३ जनाको ज्यान गएको स्थानीई प्रहरीले बताएका छन्।

मृतकहरुको संख्या अरु बढ्न सक्ने आशंका गरिएको छ।

दशैँ मनाउने क्रममा रहेका यात्रुले खचाखच भरिएको उक्त बस दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन्।

घटनास्थलमा अझै केही व्यक्तिहरु फसिरहेको हुन सक्ने अनुमान गरिएपनि अँध्यारोका कारण उद्दार हुन नसकेको अधिकारीहरूले बताए।

एक सय भन्दा बढी टिकट नकाटेका यात्रुहरू रहेको यात्रुवाहक बस सडक साँघुरो भएका कारण नियन्त्रण गर्न नसकेर २ सय ५० मिटर तल सडकमुनि खसेर दुर्घटना भएको बताइउको छ।वर्षायामपछि पहिलो पटक जोरायल पुगेको यात्रुवाहक बस दशैँको टिका थाप्न र टिका थापेर फर्किएका एक सय भन्दा बढी यात्रु लिएर धनगढीतर्फ गइरहेको थियो।

उद्धार कार्यमा संलग्न एक जना स्थानीय महेश कठायतले झन्डै ३५ जना घाइतेहरुको चिन्ताजनक अवस्थामा उपचार भैरहेको जानकारी दिए।

कच्ची त्यसमा पनि साँघुरो सडक र मोडमा रहेको माटोको ढिस्कोका कारण चालकले बसलाई नियन्त्रणमा लिन नसकेर २ सय ५० मिटर तल खसेको उद्धार कार्यमा संलग्न प्रहरी निरीक्षक सागर बोहराले बताए।

उनले भने, “चालकले नियन्त्रण गुमाएको कारण दुर्घटना भएको देखिन्छ, २३ जनाको शव भेटियो। अझै केही भेटिन्छ कि भनेर हामी खोजिरहेका छौँ।”

पहाडी सडकमा पटक पटक सवारी दुर्घटनामा परी नेपालमा बर्षेनी सयौँ जनाले ज्यान गुमाउने गरेका छन्।

तर पछिल्लोपटक धनगढी देखि डडेल्धुरासम्म ‘टाइम कार्ड’ अर्थात यात्रा पुरा गर्ने अवधिको सीमा लागू गरेपछि सडक दुर्घटनामा निक्कै कमी आएको दावी ट्राफिक प्रहरीले गर्दै आएको छ।

उनले भने, “बाटो बनेपछि पहिलो पटक सो बस पठाइएको थियो, तर बाटो खराब रहेछ त्यही भएर दुर्घटना भयो।”

सडक दुर्घटना रोक्न सरकार र सरोकारवालाहरूले जति धेरै कुरा गरेपनि सडकको स्तरोन्नति र क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कडा कारवाही नगरिँदा सवारी दुर्घटनाको क्रम नरोकिएको कतिपयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्