बैठक सुरु हुँदा नहुँदै एमाले अध्यक्ष केपी ओली विमानस्थलतिर लागेपछि बैठक निष्कर्षविहीन

बैठक सुरु हुँदा नहुँदै एमाले अध्यक्ष केपी ओली विमानस्थलतिर लागेपछि बैठक निष्कर्षविहीन

संविधानका अन्तरवस्तुमा सहमति जुटाउन भन्दै आज बिहान बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । बैठक सुरु हुँदा नहुँदै एमाले अध्यक्ष केपी ओली विमानस्थलतिर लागेपछि बैठक विना निश्कर्ष टुंगिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाको बैठकमा संविधानका विवाद तथा सत्ता समीकरणका विषयमा छलफल गर्ने कार्यक्रम थियो । एमाले अध्यक्ष ओली गृहजिल्ला झापाबाट फर्केपछि बुधबार अर्को बैठक बस्ने नेताहरुले बताएका छन् । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका नेताहरुले छलफलबाट कुनै निकास नआए पनि छलफल सकारात्मक रहेको दाबी गरेका छन् । यसअघि दोस्रो तहका नेताहरुलाई पनि राखेर आज बिहानै एकसरो छलफल भएको थियो । उनीहरु बालुवाटारबाट बाहिरिएपछि शिर्ष नेतामात्र बसेका थिए ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त प्रतिक्रिया दिँदै कुरा नमिलेको र मिलिसक्यो भन्ने स्थिति पनि नरहेको बताउँनुभयो ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले शीर्षतहमा समग्र विषयमा छलफल भैरहेको भन्दै संविधानका विवाद प्रक्रियाबाट टुंगो लगाउनुको विकल्प नभएको बताउँनुभयो
मधेसी मोर्चाको तर्फबाट बैठकमा सहभागी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले छलफल सकारात्मक रहेको बताउँनुभयो । उहाँले बुधबार पुनः बैठक बसेर सहमतिको प्रयास गर्ने जानकारी दिनुभयो । संविधानका विवाद समाधानका लागि गठित चार दलीय कार्यदलमा सहमति नभएपछि शीर्षनेताहरुको बैठक बसेको हो । दलहरुले कहिले कार्यदल त कहिले शिर्ष नेतालाई सहमतिको जिम्मेवारी दिने श्रृंखला जारी रहे पनि कुरा जहाँको त्यही अड्किएको छ । एकीकृत माओवादी र मधेसी दलहरु टसकामस नभएपछि सहमतिको सम्भावना टर्दै गएको छ । नयाँ संविधानमा कस्तो संघीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीको व्यवस्था गर्ने भन्नेमा दलहरुबिच विवाद छ ।
यसैवीच सत्ता साझेदार कांग्रेस–एमालेले प्रक्रियामा जान संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गर्ने भएका छन् । एकीकृत माओवादी र मधेसी मोर्चासँग सहमतिको सम्भावना टरेको निष्कर्ष निकाल्दै कांग्रेस एमालेले अब सहमतिका नाममा माघ ८ लाई गुजार्न नहुने ठहर गरेका हुँन । शीर्षनेता र कार्यदलमा पटक–पटकका छलफलमा मूल विषयमा प्रवेश नै नभएकाले अब संविधानसभाबाटै छिनोफानो गर्नुपर्ने निष्कर्ष निकालिएको एमाले उपाध्यक्ष भीम रावलले बताउँनुभयो । सत्तारुढ एमालेले भने अब संविधानसभाको प्रक्रियाबारे छलफल गर्नु पर्ने बताएको छ । सहमतिका आधारमा माघ ८ मा संविधान बन्ने सम्भावना टरेको एमालेको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्