आफुलाई नेपाली भन्ने साथीहरु
एक चोटी नेपाली बनेर त हेर, बन्न कति गाह्रो छ
देशलाई सरापी बस्ने साथीहरु
बनाएर त हेर, सोच्या भन्दा सजिलै छ!
नेपाल बन्द गर्ने साथीहरु
बन्द खोलेर त हेर, खुल्लापन कति अमुल्य छ
बन्द तोडौँ भन्दा हराउनेहरु
अवेज्ञा गरी त हेर, मन हलुंगो हुन्छ
देश टुक्र्याई “सुन्य”बाट आँट्ने नेताहरु
टुक्राएर त हेर, फेरि जोड्न कति गाह्रो छ
जात-भात र संस्कार हटाऔँ भन्ने मित्रहरु
हटाएर त हेर, आफैंलाई चिन्न ‘गाह्रो’ छ
कोठैमा रमाई, घरको वास्तै नगर्ने ज्ञानीहरु
घरै सफा गरि त हेर, रमझम अझ कत्ति छ
हराएरै जित्नेहरु, हार्नेलाई माथी तानी त हेर
जीत जीतको नेपाल कति सुगन्धित छ
हक माग्ने सँग डराउने साथीहरु
दिएरै त हेर, दिँदामा कति सन्तोष छ
अधिकार खोज्दा दायित्व भुल्नेहरु
जिम्मेवार बनेर त हेर, मन बडो फुल्ने छ
बिदेशीने सँग रुष्ट भएकाहरु
परदेश बसी त हेर, त्यहाँ बाँच्न कति पिडा छ
परैबाट देश-भक्ति देखाउने साथीहरु
भित्र आई त हेर, देशलाई माया गर्न यति गाह्रो छ
देश घिस्रिएकोमा झोक चलेका साथीहरु
सँगै हिँडेर त हेरौँ, टाढा पुग्न कति छिटो छ
पटक पटक जागेर थाकेका अग्रजहरु
नया सँग हात मिलाएर त हेर, गन्तव्य अत्ति नजिक छ
फेसबुकमा लडाई खेल्ने युवाहरु
सडकमा आई त हेर, बास्तविकता कत्ति जटिल छ
नेतालाई दोष दिई हाल्ने सहयात्रीहरु
उनको खुट्टामा उभिएर त हेर, दोष कस्को पो छ
मैले मन घोचेँकोमा रुष्ट ईष्टहरु
आफै पनि घोँची त हेर, नेपालीलाई जगाउन कति गाह्रो छ
आफुलाई नेपाली भन्ने साथीहरु
एक चोटी नेपाली बनेर त हेर, नेपाल बन्दै छ।