आमा ! के त्यो साँच्चै आउँछ ?-  सुमन पोखरेल

आमा ! के त्यो साँच्चै आउँछ ?-  सुमन पोखरेल

 "तिमीले जसलाई त्यो लिन पठाएथ्यौsuman pokhrel

ती त्यसको ओज देखेर डराएजस्तो छ, छोरा !

तिमीले योद्धा ठानेर पठाएकाहरू हुतिहारा परेछन्,

तिनलाई त्यो बोकाका मुखमा कुभिन्डोजस्तै भएको छ अहिले,

तर त्यो पक्कै आउँछ । "

 

"त्यसलाई आउन किन यस्तो कठीन भएको, आमा ?"

 

"त्यो आफैँ आउँदैन, छोरा

त्यसलाई वीरहरूले डोहोर्‍याएर ल्याउनुपर्छ,

त्यसलाई निष्पाप सपुतहरूले बोकेर ल्याउनुपर्छ,

आफूलाई भन्दा बढी जगतलाई देख्न सक्नेहरूले सिँगारेर ल्याउनुपर्छ

स्वभिमानी शिरहरूले उचालेर ल्याउनुपर्छ, त्यसलाई

अरूका दासहरूले त्यसलाई बोक्न सक्दैनन्, छोरा !

तर छोरा ! तिमीले लिन पठाएकाहरू अरूकै दास परेछन् जस्तो छ ।"

 

"के त्यो यसैपाली आउँछ त, आमा?"

"आउँछ छोरा,

एकदिन बन्दी भएकै ठाउँमा त्यो ज्वाजल्यमान हुनेछ

र त्यसको उज्यालाले दासहरूको चेतना खुल्नेछ

दासहरूले मालिकहरूका कुटील कृत्यलाई बुझ्नेछन्

तिनको छातीमा देशप्रतिको माया पलाएर आउनेछ

र तिमीले पठाएकाहरू दासबाट वीर सपुतमा परिणत हुनेछन्

र तिनैले लिएर आउनेछन्, त्यसलाई ।"

 

"के त्यो हामीले भनेकै दिन आउँछ त आमा  ?"

 

"छोरा, म यसै दिन भनेर त भन्न सक्तिनँ

तर त्यो पक्कै आउँछ ।

मेरो शुभकामना छ तिमीलाई, छोरा !

उठेँ, म गएँ

अब त्यो आएपछि

तिमीलाई बधाई दिन आउनेछु ।"

 

* * * *

 

मलाई अझै पनि विश्वास छ,

त्यो तिमी नै हुनेछौ ।

 

 

(श्रद्धेय कवि गोपालप्रसाद रिमालमा समर्पित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्