ऐंठन – लेनिन बन्जाडे

<span class='c1'>ऐंठन  –</span> <span class='c2'>लेनिन बन्जाडे</span>

एक साँझपछिको रात–
चकमन्न अँध्यारोमा भुकिरहेका कुकुरलाई शायद हाम्रो बिछोड असह्य थियो । बाँसघारीमा रातभरि एकनास र एकसुरले बजिराख्ने कीरा शायद हाम्रै पोकापन्तुरामा अडेस लागेर मधेस झर्न खोज्दै थिए । अब त यो सन्नाटा पनि आफ्नो रहन्न ! बूढी विरक्तिएर सुँक्सुकाउँदै थिई ।
त्यही धुकचुकीमा २ वर्षकी छोरी उठेर चिच्याई आधारातमा । बुढी पोकापन्तुरा छाडी छोरीतिर गई र थामथुम पारी । छेउमै ९ महिनाको छोरो संसारबाट बेखबर रहेर सुतेको थियो । भोलि यो हामीसँगै अर्कै संसार विचरण गर्न जान्छ कतै ।
अनुहारमा हेरें– आशा मारिसक्दा ११ महिनामा जन्मिएर उसले हामीलाई उल्टो गुन लगाएको थियो । जीवनमा भरथेग गर्ने उही नै त थियो ! 

sketch

“पैसा भयो ?” झोलामा लुगा कोच्दै बूढीले सोधी, “जेठाजुले दिए ?”
“यताउति गरेर २ हजार जम्मा भयो,” ढाडस दिँदै भनें, “मधेस झरेपछि उपाय लाग्छ, नआत्ते ।”
बूढीको अनुहारबाट दिउँसैदेखि तेज हराएको थियो । पुस्तौंदेखि बसेको ठाउँ हठात् छाड्दा ऊसँगै मेरो मन पनि चिरिएको थियो ।
सोचें– सुख खोज्दै हिँड्दा यिनै लालाबालाको आँसुले भिजाउने त होइन ?
छोरी भर्खर बामे सर्दैछे । ऊ जन्मिनुअघि बुवा बित्नुभयो, जन्मिएपछि आमा ।
र, यो गाउँमा मेरो आफ्नो सम्पत्ति भन्नु यिनै त थिए !
दाजुभाइ त मर्दापर्दा मात्र न हुन् !
२०४० मंसिर १० गते ।
बिहानै झिसमिसेमा बुढी सुँक्कसुँक्क गर्दै छरछिमेक र आफन्तसँग बिदावारी माग्दै थिई । म बचेखुचेका लत्ताकपडा पोको पार्दै थिएँ । छोराछोरी आँखा मिच्दै टोलाइरहेका थिए ।
म जन्मिएर शिशु हुँदै वैंशका अनेकन् सुखदुःख बिसाएको यो गाउँ छाडेर जाँदा मन गह्रौं ढुंगाले थिचिएजस्तो थियो । तर, ढुंगाले जतिसुकै थिचे पनि मेरा आँखा कहिल्यै रसाउँदैनन् । मान्छे भन्छन्– मेरो शरीरमा आँसुको मूल नै छैन ।

शायद जेठा दाइका आँखाका डिल पनि सुख्खा थिए, मेराजस्तै–
“जाने नै भइस् त तँ ?” भर्याङ झर्दै सोध्नुभो । भाउजू पनि झरिन् ।
मैले मुन्टो हल्लाएँमात्रै, कसैको आँखा हेरिनँ ।
दाइले छोरीको टाउको सुम्सुम्याउनुभो, भाउजूले छोरो उचालिन् ।
“मेरो बा, कैले आउने होला यो !” छोरोको निधार सुम्सुम्याउँदै भाउजूले भनिन्, “भाउँ आउन्न पो कि !”
दाइले गोजीबाट १ रुप्पेको ढ्याक निकालेर छोरीलाई दिनुभो । ऊ खुसीले हाँसी ।
“हए घाइँला, कत्थेर हिन्चौ तिउँर ?” अलिबेरको मौनतापछि भाउजूले सोधिन्, “टेक्टर जान्च रे चुत्राबेसीबड ?”
धारापानीबाट चुत्राबेसी पुग्न हिँडेर ढाई घण्टा लाग्थ्यो । केटाकेटी र पोकापुन्तुरा बोकेर हिँड्दा साढे ३ घण्टाजति ।
“के जानम्,” पूरै अनिश्चयमा बोलें, “जाला त कर ।”
म निस्सासिएझैं बोलिरहेको थिएँ ।
दाइ घरबाट निस्केर अलि बेरमा दुईजना मान्छे लिएर आउनुभो । एकजना गुरुङ साइँला, अर्का पत्थरकोटे द्रोणे ।
“चुत्राबेसीबाट टेक्टर पाइएनन् भने पत्थरकोटसम्म लैदिनू,” दाइले साइँलालाई अह्राउनुभो, “फर्किंदा नुन ल्याउनू । सकिस् भने चावँल नि बोकेस् ।”
छोरो जन्मिएको साल यो गाउँ भोकमरीले एकपटक मरेर बाँचेको थियो । म धेरै पटक पत्थरकोटबाट काँधमा बोरा बोकेर डाँडा उक्लिएको थिएँ । खडेरीले सुकेको गाउँमा त्यस्ता बोरा निमेषमै खाली हुन्थे । त्यसमाथि हाम्रो ११ जनाको परिवार !
र, पनि बाँच्यौं । बाँचेरमात्रै पुगेन, सुखले बाँचौं भन्ने लाग्यो । भोकमरीले सुकेको आँतले मलाई मधेससम्म डोर्यायो ।
गोजीमा २ हजार थियो । साथमा बूढी र छोराछोरी । त्यसबाहेक लुगाफाटा, बन्दोबस्तीका सामान ! यिनै भारी बोकेर झ¥यौं धारापानीबाट । संयोगले ट्रयाक्टर भेटियो चुत्राबेसीमा । साइँला र द्रोणेको अनुहारमा संसार जितेझैं चमक आयो । ट्रयाक्टरले उनीहरुको २ दिन पैदल हिँडाइ छोट्याइदिएको थियो । नुन र चामल नबोकी फर्किए ।

भर्खर बनेको बाटो अनि ट्रयाक्टरको ट्रलीयात्रा । यस्तो लाग्थ्यो– मानौं हामी बाटोमा होइन, ढुंगैढुंगाको कापबाट हिँडिरहेका छौं । ९ महिनाको दूधे छोरोलाई बुढीले चपक्क समाएकी थिई, छोरीलाई मैले । उफ्रिँदा आकाश पुर्याएर निमेषमै पाताल लैजान्थ्यो ट्रयाक्टरले । बुढी पुलुक्क मेरो अनुहार हेर्थी, म मन्टो बटारेर अर्कैतिर हेर्थें । म चाहन्थें– उसले मेरो आँखाको डर नदेखोस् । बेलाबेला छोरी चिर्रर चिच्याउँथी, ड्राइभर पछाडि फर्केर हेथ्र्यो र उही गतिमा हाँक्थ्यो । हामीजस्ता अरु ६ जना पनि त्यस्तै डरले एकोहोरिएका थिए ।
निरन्तर १२ घण्टाको उफ्राइपछि आयो समथर पत्थरकोट ! पत्थरकोटबाट गोरुसिंगे, चन्द्रौटा, भालुवाङ र लमही आए । लमहीपछि घोराही र तुलसीपुर आए । त्यसपछि ३ किलोमिटर उत्तर गणेशपुर आयो, जहाँ कान्छी दिदीले सानो घर र थोरै बारी हेरिदिएकी थिइन् ।

० ० ०

२ हजारमध्ये १५ सयमा सानो घर ठडियो । ८ कक्षा पढेर छाडेको– जागिरको छेकोछन्द थिएन । ७ दाजुभाइमध्ये ४ जना भारतीय सेनामा थिए, म सिलोङसम्म पुगेर पनि भर्ती हुन सकिनँ ।
अब ४ जनाको परिवार कसरी पाल्ने ?
गणेशपुरमै बसिरहेकी कान्छी दिदीले सुझाइन्– भैसी किन्, खेती गर् ।
किनें, गाई पनि ल्याएँ । घरमुनिको सानो जग्गामा धनियाँ रोपें । धनियाँ र दूध लिएर लखरलखर तुलसीपुर बजारमा बेचें । यो क्रम ३ वर्ष चल्यो । पैसा नजोगिए पनि घर जोगियो, केटाकेटीले ओत पाए ।
त्यत्तिले पुगेन । अरु धेरै चाहियो ।
सोचें– सहर गएर केही गरूँ ।
सल्लाह गरें । बूढी, दिदी सबैले भने– होटल गर ।
अनि म निस्किएँ जेठो छोरो लिएर सहर– घोराही । कान्छो भर्खर जन्मिएको थियो ।
बजारबाट १५ मिनेट दक्षिण जिल्ला अदालत र जिविसअगाडि खाली चौरमा बनेको झुप्रो किनें– १ हजारमा । चिया, समोसा, तरकारी बनाउन सिकें । सिकिनँ मात्रै– बनाएर बेच्न पनि थालें । छोरो नजिकैको स्कुल पढ्न थाल्यो ।
हरेक शुक्रबार २७ किलोमिटर पर गाउँ जान्थ्यौं, अनि शनिबार बेलुकी फर्किन्थ्यौं ।
अरु दिन सहरको होटलमा छोरो र म एक्लै हुन्थ्यौं ।
होटलमा अदालत र जिविसका कर्मचारी खाजा खान आउँथे । तीमध्ये आधाजसो वकिल हुन्थे । उनीहरुलाई चिया पुर्याएर फर्किएको छोरोलाई कानमै भन्थें, “तँ पनि वकिल भइस् भने चिया खान आएस् । तेरो गिलाँस यसैगरी म बोकूँला ।”
ऊ गजक्क परेर हाँस्थ्यो ।

समयक्रममा त्यही छोरो जन्ड भएर निस्कियो । कहिल्यै नपढ्ने, पैसा चोर्ने र गुच्चा खेल्ने । हरेक पटक पैसा चोरेको म चाल पाउँथें अनि बाँसको पिलरमा दिनभरि बाँधिदिन्थें । चिया खान आउने मान्छेले सहानुभूति दिएपछि घ्वाँघ्वाँ रुन्थ्यो । तर, मेरो मन कहिल्यै पग्लिएन । अरु मान्छेले जोडबल गरेपछि बाध्य भएर फुकाइदिन्थें ।
केटाकेटीमा नराम्रो असर पर्छ भनेर होटलमा चुरोट, रक्सी केही राखिनँ । तर, चिया खान आउने मान्छेलाई चुरोट, पान हरेक चिज चाहिन्थ्यो । मेरो आँखा छलेर मान्छेले छोराको हातमा सुटुक्क पैसा राखेर चुरोट, पान लिन पठाउँथे । सुरुसुरुमा रिसाउँथें पनि, पछि छोराले त्यही इलम गरेर पैसा कमाउन थालेपछि चुप लागें । सामान ओसारेबापत पाउने सबै पैसा ल्याएर मलाई बुझाउँथ्यो ।
कहिलेकाहीँ रिसाएर गाला पड्काएँ भने उफ्रिंदै आउँथ्यो र भन्थ्यो, “खै मेरो पैसा दिनुस्, म घर जान्छु ।” उसले पैसा मागेपछि फेरि गाला पड्काउँथें । केही दिन चुपचाप लाग्थ्यो ।

एकदिन गल्लाबाट ५ को नोट गायब भयो । भोलिपल्ट बिहान थाहा पाएँ । सिधै बोलाएर केरकार गरें । अनेक आनाकानी ग¥यो । कन्चटका रौं तानें– डेग चलेन ।
“चो¥या हुँ भनिस् भने क्यै गर्दिनँ, जोगिन्छस्,” चेतावनी दिएँ, “नत्र ट्वाइलेटमा बास हुन्छ तेरो ।”
चुपचाप उभिइरह्यो । मलाई झोंक चल्यो । च्याप्प समातेर जिविसको ट्वाइलेटमा थुनिदिएँ । अफिस नखुलेकाले कम्तीमा ३–४ घण्टा बस्नुपर्थ्यो।
तर, १ घण्टामै मन पग्लियो । उसको जाँच त्यही दिन थियो ।
सरासर गएर ट्वाइलेट खोलेर हेर्दा त मान्छे गायब ! फ्लसको भाँडोमा टेकेर झ्यालबाट निस्किएछ !
त्यसपछि चिटचिट पसिना निस्किने पालो मेरो थियो । वरपर सबैतिर खोजें । साथीभाइकहाँ पनि थिएन ।
एकजनाले भन्यो, “केटो त रुँदै गएको देख्या हुँ, के भो ?”
अर्को सुनायो, “छोरो त भाग्यो रे !”
त्यसपछि मेरा आँत सुके । शरीरमा हावाले करेन्ट हान्यो । ऊ जन्मिएदेखि ट्वाइलेट थुनिँदासम्मका हरेक घटना सजीव भएर आँखाभरि आए । भागेर कहिल्यै फर्किएन भने ? मन त्यसरी कहिल्यै एक्लिएको थिएन । यहाँ मेरो भन्नु ऊ र उसको भन्नु ममात्रै त थियौं ।
होटल फर्किएर समोसाको आलु बनाइनँ । बठैनियाले ल्याएको दूध पनि डेक्चीमा राखिनँ । फोन गरेर बूढीलाई सुनाउने युग थिएन, आफैं गएर भन्नुपथ्र्यो ।
मान्छे आउँथे, सोध्थे, म सरासर भन्थें । कति चुक्चुकाउँथे । मेरो दुःखमा एकछिन भए पनि ढाडस दिन्थे ।
एकछिनमै संसार रित्तिएझैं भयो । घरमा सुम्ला उठ्ने गरी गाला पड्किने केही केटाकेटी भागेर कहिल्यै नफर्किएका थुप्रै किस्सा सुन्थें । गह्रुंगो ढुंगाले छाति थिचेझैं भयो । आँखा तिर्मिराए । मलाई सपनामा ऐंठन कहिल्यै परेन, आज विपनामै पर्यो ।
कोसौं पर बसेकी बूढीले यो खबर सुनी भने मुटु फुटेर मर्थी ।
वरपरका, जिविस र अदालतका कर्मचारी जम्मा भए । अनेकले अनेक कुरा गरे । कसैले तुलसीपुर गएको हुन सक्छ भने, कसैले भागेर लमही काटिसक्यो होला भने ।
छोराछोरीको वियोग मैले पहिलोपटक भोग्दै थिएँ ।
खुइलिसकेको टाउकोमा हात राखेर टोलाउनुबाहेक मसँग अरु केही शक्ति थिएन । खुट्टा चिसिएर जम्लाझैं थिए । थचक्क भुईंमा बसें । छेउछाउमा बोलिरहेका मान्छेको आवाज पनि सुन्न छाडें । हात फतक्क गलेर लुला भए ।
“हरिजी, नआत्तिनुस् । फर्किन्छ केटो,” अदालतका लेखापाल धर्मसिंहले काँध थप्थपाए, “त्यत्रो ५ वर्षको केटो कहीँ जान्न । भोक लागेसि दौडिएर आउँछ । चराचुरुंगी दिनभरि जति नै टाढा गए पनि फर्किएर आखिर गुँडमै आउँछन् ।”
उनको कुराले अलि सास आयो ।
मनमनै कसम खाएँ– छोरो फर्किएर आयो भने जीवनमा कहिल्यै हात उठाउन्नँ ।
गायब भएको ५ घण्टापछि लुरुलुरु होटलतिर आइरहेको फुच्चे देखेर उनै धर्मसिंहले झक्झकाए, “लौ हरिजी, आइहाल्यो त !”
सुन्नेबित्तिकै कोखमा सिल्का हानेझैं भयो । जुरुक्क उठेर हेरें– ७ सय मिटरजति टाढाबाट खालीखुट्टा हल्लिँदै आइरहेको त्यो फुच्चे मेरै छोरो थियो । आँखामा छिनमै शीत परे ।
त्यतिबेला पहिलोपटक थाहा पाएँ– मेरो शरीरमा आँशुको मूल सुकेको छैन ।
बडो निष्फिक्री भएर ऊ टुप्लुक्क मेरा अघि उभियो । रमिता हेरिरहेका मान्छे अवाक् थिए । एकछिन मेरा पनि शब्द निस्किएनन् । सन्नाटाझैं भयो ।
अलि बेरमा फर्फराएको घाँटीबाट टुक्राटुक्रा शब्द निस्किए पालैपालो, “काँ गा’थिस् ?”
ठमठमी भयो । खुट्टाको बूढी औंलाले भुईं कन्याउन लाग्यो ।
“सुनिनस् ?” अलि जंगिएर सोधें, “काँ गा’थिस् ?”
उसको बूढी औंलाले भुईंमा चारकोठे घर बनायो । जाङे र सर्टमा ठिंग उभिएको मान्छे चुँक्क बोलेन ।
कान समातेर तानें जोडले । रन्फनिएर करायो, “स्कुल गाथें परीक्षा दिन ।”
हकारेर सोधें, “अनि भन्न सक्दैनथिस् ?”
बोलेन ।
जम्मा भएका मान्छे लाखापाखा लागे छिनमै । भीड रित्तिएपछि ऊ मेरो छेउ आयो ।
फेरि भुईंमा खोस्रिदै उभियो ठमठमी ।
“के भो फेरि ?”
जाडोले काँपेझैं बिस्तारै बोल्यो, “हिज अन्याय फिलिम हेर्न गा’थें, अब चोर्दिनँ ।”
मेरो घाँटीमा सिंगो आलु अड्किएझैं भयो एकछिन ! फरक्क पछाडि फर्किएर आँखा पुछें ।

० ० ०

एक झिसमिसे बिहान–
छोरो आधा निद्रामा थियो ।
डेक्चीभरिको दूध तताउन स्टोभमा दम दिएँ । कपालको रौंजत्रो दुलोबाट पिचिर्रर मटितेल निस्क्यो तर धनुषजस्तो बांगो । सलाई कोलेर बालें, धप्प बल्यो । बर्नर तात्तिएपछि फेरि जोडले दम दिएँ, एकातिर मात्रै जुरो निकालेर बल्यो । पिन घोचें, दुलोमै भाँच्चियो । अनेक प्रयास गर्दा पनि जोडबलले बलेन । रङसिएर डेक्ची पूरै कालो भयो ।
नजिकैको पिलास उठाएर बर्नर कसें । कस्दाकस्दै नट फुस्किएछ, ह्वार्रै बल्यो ।
लौ सक्कियो !
मटितेलको तेजले वरपरका लुगा टिप्यो । उछिट्टिएर मेरो शरीरलाई समात्यो । आगोको रापले छालामा पनि डस्यो । आगोले एकछिनमै छानो टिप्यो । प्लास्टिकको छानो पग्लिएर भुईंमा तप्पतप्प चुहियो ।
झट्ट आँखा छोरातिर गए । ऊ संसार बिर्सेर निदाइरहेको थियो । उसले ओढिरहेको कम्बलले हत्त न पत्त शरीरको आगो निभाएँ र उसलाई च्याप्प समातेर होटलबाहिर हुत्ताइदिएँ । जमिनमा बज्रिएर होला– चिच्याएर रोयो । दौडिएर भित्र आएँ र स्टोभमाथिको डेक्चीको दूध स्टोभमाथि खन्याएँ । झन् दन्कियो ।
सबथोक यति छिटो भइरहेका थिए कि मेरो दिमागले ठम्याउनै सकेन । पूरै शून्य थिएँ ।
ओच्छ्यानमा भएजति सिरक र कम्बल एकैपटक आगोमाथि हु¥याइदिएँ । चिच्याएर बोलाऊँ भने पनि दौडिएर आउन नजिकमा कोही थिएनन् ।
बाहिर फलामको ड्रमबाट जगमा पानी ल्याउँदै खन्याएँ छानोमा । एकैछिनमा भुत्तियो ।
मलाई रिंगटा लाग्यो । वरिपरिको जमिन फनफनी घुमेझैं भयो । मतिर फर्किरहेको छोरो पनि दुई–तीन्टा देख्न थालें ।
अनि बुंग ढलें ।
ढलेर उठ्दा वरपर थुप्रै मान्छे उभिएका थिए । कसैले पछाडिबाट अडेस लगाएर उठायो । जाङेबाहेक शरीरमा केही थिएन । शरीरमात्रै होइन, होटलको आधा भाग ह्वाङ्ङै थियो ।
उठेपछि देखें– आगोले नछोएको शरीरको कुनै भाग थिएन । दुखाइ यति असह्य थियो कि सास फेर्दा पनि कटकटी खान्थ्यो । छोरो पसिनाले निथ्रुक्क थियो । मैले प्रष्टसँग अरु मान्छे ठम्याउन सकेको थिइनँ । पीडाले मेरा दाह्रा जाँतोझैं पिसिइरहेका थिए आफैं ।
दुई–तीन जनाले बोके– कसैले हात समाते, कसैले खुट्टा । जिविसको गाडीमा बोकेर महेन्द्र अस्पताल पु¥याए । म आधा होसमा थिएँ, आधा बेहोस् ।
डाक्टर भन्थे– ३० प्रतिशत जलेछ, धन्न बाँच्नुभो ।

४ दिनसम्म अस्पतालमा हर नफर्काई सुतें । पाँचौं दिन छोरोले डो¥याएर होटल लग्यो ।
त्यसपछि छोरो बाउ बन्यो, म छोरो बनें ।
ऊ हरेक दिन डोर्याएर घाउ ड्रेसिङ गर्न अस्पताल लैजान्थ्यो, फर्काएर ल्याउँथ्यो । मलाई बोराले बेरेको ट्वाइलेमा कनिकुथि बसाल्थ्यो र अर्कातिर फर्किन्थ्यो । अर्कैतिर फर्किएर पानी हाल्दिन्थ्यो । घाउमा मल्हम लगाइदिन्थ्यो । चर्को घाम तापेर बस्दा गाली गर्दै भित्र ल्याउँथ्यो ।
म लुरुलुरु मान्थें ।
छैटौं दिनमा घर खबर पुगेछ– हुर्रिंदै आई बुढी । छोरी र कान्छो छोरो पनि ल्याई । भाञ्जा कमल पनि दौडिएर आए । स्वभावैले पिल्चे बुढीले तर्तरी आँसु झारी । ७ वर्षकी छोरीले पनि आँखाका डिल भिजाई । छोरो भने सबैलाई देखेर दंगदास थियो ।
बेलुकी छेवैमा आए बुढीले भनी, “अब मोरे नि बाँचे नि सङ्गै बस्नी । यस्तरी छुट्टेर त शत्तुर नि नबसून् ।”
आफ्नै बस्ने राम्रो टुंगो थिएन । होटलको आधा भागमा टेबुल–कुर्सी थिए, आधा आगोले खाएको थियो । बीचबाट बोराको भित्तो बनाएर जसोतसो सुत्ने ठाउँ बनाइदिए आफन्तले । त्यसमा एउटा पलङ । यति सानो कोप्चेरोमा ५ जना कसरी अटाउने ?
“अहिले नआत्ते, पैसा कमाउन दे,” ढाडस दिँदै भनें, “बसन्ते छ मसँगै । कमाइयो भने घरै बनाएर बसम्ला । यस्तो साँघुरो ठाउँमा पाँच जना बस्न सकिन्नँ हेर् ।”
“नजिकै कोठा खोज्ने,” बूढीले फ्याट्टै भनी, “एक्लै त मोरे नि बस्न दिन्नँ ।”
कोठा भेटियो पनि । बूढी कान्छो र छोरी लिएर राति डेरा जान्थी, म जेठोसँग लपक्क टाँसिएर सुत्थें । राति चराका जत्रा खुट्टा मेरो काखमा ल्याएर फिँजाथ्र्यो र काखीनेर टाउको घुसाएर सुत्थ्यो । निद्रा लागेन भने उसले मलाई ब्रह्माण्डमा देखे–सुनेका सबै कुरा सोध्थ्यो । राति ११ बजे रेडियो बन्द भएपछि उसको हाजिरीजवाफ चल्थ्यो ।
पछिसम्म नि उसले मेरो घाँटीका खाटा सुम्सुम्याइरह्यो । मनमा के जाग्थ्यो कुन्नि– जुरुक्क उठेर स्टोभ होटलबाहिर लगेर राख्थ्यो अनि लुसुक्क आएर मसँग टाँसिन्थ्यो ।
जतिसुकै जन्ड र उप्रद्याहा भए पनि ऊ मेरो सबैभन्दा नजिकको संगी थियो । नुहाउँदा ऊ मेरो ढाड मिच्थ्यो, म उसको ।

० ० ०

एकदिन चिन्डे ब्राह्मण चिना लेख्न भन्दै आयो । तीनै छोराछोरी लाइनमा उभिए । मलाई सबैको जन्म, तिथि र समय सम्झना थियो, फरर भनें– पालैपालो ।
“ल छोरीको नाम ?” बाहुनले बाँसको निवमा मसी चोब्दै सोध्यो र लेख्यो, “के रे अनिता हैन्त ?”
खरर लेख्यो र कागज घाममा सुकाएर फेरि सोध्यो, “जेठोको नाम ?”
“घरमा त बसन्ते भन्छम्, तर लेनिन लेख्दिनुस्,” पुलुक्क जेठोतिर हेरें, अनुहार भीआई लेनिनको सातकोस परसम्म मिल्दैनथ्यो ।
लाग्यो– मलाई कसैले नचिने पनि उसलाई जीवनभर कम्युनिस्टको छोरो भनेर चिनून् न मान्छेले ।
बाहुनले पालैपालो हाम्रो अनुहार पढ्यो । शायद उसले यो नाम पहिले कहिल्यै सुनेको थिएन । चुपचाप घोसेमुन्टो लगाएर लेख्यो ।
कान्छाको नाम दधिराम थियो, दीपक लेखाइदिएँ ।
२ दिनपछि पो थाहा पाएँ– जेठोको नाम बाहुनले चिनामै लेलिन लेखिदिएछ !

० ० ०

होटल ७ वर्ष चल्यो । अब जुठा भाँडा माझेर ज्यान पाल्ने ताकत थिएन– ८ हजारमा बेचिदिएँ । घोराही बजार भर्खर बामे सर्दै थियो । ऋणधन गरेर चोकमै फेन्सी खोलें । छोराछोरी हुर्किंदै थिए । पसल बजारमा, घर २ किलोमिटर उत्तर गाउँमा थियो ।
छोराछोरी पालैपालो टिफिन बोकेर भात ल्याइदिन्थे । हरेक शनिबार उनीहरु हुल कसेर टिभी हेर्न बजार आउँथे– एभरेस्ट होटलमा । घरमा टिभी थिएन । म टिभी किन्न सक्ने हैसियतमा पुगेको थिइनँ । फेन्सी व्यापार उति जबर्जस्त थिएन । गर्जो टार्नेबाहेक ठूला केही आँट्न सक्दिनथें । शनिबार टिभी हेरेर फर्किंदा उनीहरु सधैं भन्थे, “बुवा टिभी किनम् न है ।”
मसँग तयार जवाफ हुन्थ्यो, “अहिले त पढ्न छाडेर यसरी बिग्रिएका छौ, टिभी ल्याएपछि झन् के हालत होला ?”
उनीहरु चुपचाप फर्किन्थे ।
घरमा कामको जिम्मा बाँडिदिएको थिएँ । छोरी भाँडा माझ्थी, जेठोले पखाल्थ्यो । कान्छो सानै भएकाले पानी हाल्नेमात्रै । आफ्ना लुगा आफैं धुनुपर्ने । आफ्ना साथीसंगी खेलिरहँदा उनीहरु केही न केही काम गरिरहेका हुन्थे । चित्त दुख्दो हो, कहिलेकाहीँ गुनासो गर्थे ।
म कड्किएर भन्थें, “तिमीहरु कम्युनिस्टका छोराछोरी हौ, आफ्नो काम आफैं गर्नुपर्छ । जसले गर्दैन, ऊ जीवनमा कहिल्यै पनि ठाडो शीरले बाँच्दैन । खेल्नु छ भने पहिले काम सक ।”
२ महिनापछि चिठ्ठामा सांग्रिला टिभी पर्यो । छोराछोरीलाई त्यति खुसी जीवनमा कहिल्यै देखेको थिइनँ ।

० ० ०

फेन्सी बेचें, त्यही पसलको उपल्लो तलाको ‘पाहुना घर’ किनें । रक्सी, चुरोट नबेच्ने आदर्श त्यही होटलको बेसिनमा पखालियो । त्यही होटलले दिएको पैसाले अलि छेउतिर चारकोठे घर बनाएँ । सादा टिभीको ठाउँमा रंगिन आयो । एन्टेनाको ठाउँमा केबल जोडियो । छोराछोरी सरकारीबाट बोर्डिङ छिरे ।
लाग्यो– अब जीवन योभन्दा सुखी कहिल्यै हुँदैन ।
छोरी र छोरा दुवैले सँगै एसएलसी दिए । परीक्षा सकेको दिन छोरीले आफैं बिहे गरी । यो खबर सुनेको ३ दिनसम्म बूढीका आँखा भिजिरहे । म पनि उस्तै बज्रपातले थलिएको थिएँ र पनि भन्थें, “नआत्ते, बुझेरै गई । जीवनको लेखाजोखा आफैं गर्छे !”
छोरीको भविष्यलाई लिएर हामी बूढाबूढीका आफ्नै सपना थिए । ढले । मान्छे ज्युँदै ढल्छ र सकिन्छ, जाबो सपनाको के कुरा !
एसएलसी सकेको २ महिनापछि जेठोले पत्रिकामा जागिर खायो । पहिलो महिनाको तलब ७५० लिएर मेरो अघि आउँदा फेरि लाग्यो– जीवन योभन्दा सुखी कहिल्यै हुँदैन । मलाई यत्तिमा सन्तोक थियो– कमसेकम उसले पैसाको महत्व बुझ्यो, अब ऊ भोकै मर्दैन ।

२६ वर्षपछि ऊ काठमान्डू गयो– पढ्न । ऊपछि कान्छो पनि हिँड्यो । अचेल बूढाबूढी एक्लै छौं घरमा । कान्छो तातोपानीतिर ढुंगाको डाक्टर छु भन्छ ।
बुवाको मुख हेर्ने दिन जेठोले ‘२६ वर्ष’ भन्ने संस्मरण लेखेछ । यहीँको युगबोधले छापेपछि बूढीलाई पढेर सुनाएँ । ऊ धर्धरी रोई । भन्थी, “पहिले हाम्ले पिट्दा ऊ रुन्थ्यो, अहिले उसले हामीलाई रुवाउँछ !”

(२०७१ असोज १२ गते आइतबार ‘नेपाल’मा प्रकाशित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्