जमिन भास्सिन थालेपछि स्थानीयवासी त्रसित

जमिन भास्सिन थालेपछि स्थानीयवासी त्रसित

 

खोटाङ, १ असार, भूकम्पका कारण जमिन भास्सिन थालेपछि यस जिल्लाको उत्तरी गाविस खार्पा–२ सिमखर्कका स्थानीयवासी त्रसित बनेका छन् । करिब पाँच सय रोपनी क्षेत्रफल रहेको जमिन भास्सिन थालेपछि त्यस क्षेत्रमा बसोबास गर्ने १० घरपरिवार त्रसित बनेका हुन् ।
बस्तीदेखि सात-आठ सय मिटर तलबाट जमिन भास्सिन थालेपछि उक्त बस्तीका स्थानीयवासी त्रसित बनेको शारदा उच्चमावि खार्पाका शिक्षक वसन्तराज पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो – “वैशाख १२ गतेको भूकम्पपछि धाँजा फाटेको उक्त जमिन कुन बेला बग्ने हो टुङ्गो छैन, अहिले दुई मिटरभन्दा बढी फाटिसकेको छ ।”

नेवार बस्ती रहेको उक्त जमिन भास्सिन थालेपछि अध्ययनका लागि प्राविधिक टोली खटाइएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो – “यो सङ्कटपूर्ण अवस्था हो, कहाँ कुन बेला के हुन्छ थाहा हुँदैन, त्यसैले सबैले सजगता अपनाउनुपर्ने अवस्था आएको छ ।”

जमिन भास्सिन थालेपछि स्थानीयवासीले अध्ययनका लागि टोली पठाउन जिल्ला प्रशासन कार्यालयलाई पत्र समेत पठाएको छ । उक्त पत्रका आधारमा भू–संरक्षण कार्यालयका प्रमुखको नेतृत्वमा प्राविधिक टोली खटाइएको प्रजिअ सापकोटाको भनाइ छ । जमिन भास्सिएपछि जुकेखोला गाउँमा खानेपानी आयोजनाको संरचनामा क्षति पुगेको एकीकृत नेकपा (माओवादी) खार्पाका सचिव राजन मगरले जानकारी दिनुभयो ।

मगरका अनुसार वडा नं ८ र ९ का करिब ८० घरपरिवारले उपभोग गर्ने खानेपानीको मुहानमा क्षति पुगेपछि पानी आउन छाडेको छ । जमिन चिराचिरा परेर भास्सिन थालेपछि त्यस क्षेत्रमा गाडिएका तीनवटा बिजुलीको खम्बासमेत भास्सिएको जनाइएको छ । बिजुलीको खम्बा भास्सिएपछि विद्युत् सेवासमेत अवरुद्ध भएको छ ।

वर्षा सुरु नहुँदै जमिन भास्सिएपछि अर्खौले, खार्पा हुँदै एेंसेलुखर्कसम्मको कच्ची सडकमार्गसमेत अवरुद्ध बनेको स्थानीयवासीले जनाएका छन् । सडक अवरुद्ध भएपछि स्थानीयवासी पैदलयात्रा गर्न बाध्य भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्