झापामा बाढीले ८४५ घर डुबानमा

झापामा बाढीले ८४५ घर डुबानमा

 
झापा । मंगलबार राति परेको अविरल वर्षासँगै झापामा आएको बाढीले ८४५ परिवारलाई प्रभावित बनाएको छ । बाढीले २९ लाख बराबरको धनमालमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाका मेची, बिरिङ्ग र कनकाई नदीमा आएको बाढीले सर्वसाधारणलाई प्रभावित बनाएको हो ।
विरिङ नदीले बाँध भत्काउँदा खुदुनाबारीको दुई विद्यालय समेत डुबानमा परेको छ । दुई सय घर डुबानमा परेका छन् । खुदुनाबारी–१ स्थित साधुटारमा बाढीले बाँध भत्काएपछि खुदुनाबारी १, २, ५ र ९ नम्बर वडाका परिवारलाई प्रभावित बनाएको हो ।
मध्यरातमा विरिङ्ग नदीको बाँध अचानक फुटेर बाढी बस्तीमा पसेर खुदुनाबारी–१ सिस्नेका विशाल सुब्बा, फुलमाया विक, नारायण अधिकारीलगायतको घर बगाएको छ । बाढीले सोही ठाउँको सिंहदेवी मावि र सिस्ने शान्ती विद्या मन्दिरमा क्षति पुर्याएको छ भने स्थानीयको खाद्यान्न, लत्ता कपडा र चौपाया बगाउनुको साथै सयौं विगाहा जमिनमा रोपेको धान पुरिदिएको प्रहरी चौकी शनिश्चरेका प्रमुख सार्कीधन राईले बताए ।
स्थानीयले राति बाँध फुटेर बाढी अचानक गाउँ पसेकोले धेरै धनको क्षति भएको बताएका छन् । नदीको कटान रोक्न कुनै पहल नगरिए खुदुनाबारीको पाँच सय घर परिवार विस्थापित गराउने स्थानीयले बताए ।
डाँगीबारी गाविसको वडा नं. २ र ३ मा ३५, १ र ९ मा ५०, खुदुनाबारी १ र २ मा ८०, शरणामति ३ मा ११५, ५ मा १००, राजगढ ४ मा १२०, टाघनडुब्बा ९ मा १२५, शरणामति ८ मा १२५, मेनपा १० मा २० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झिलझिले, सुरुङ्गा, बिर्तामोड, शनिश्चरे, राजगढ, शरणामति, काँकरभिट्टा, धुलाबारी, भद्रपुर र अञ्चल प्रहरीसहित सशस्त्र प्रहरी, नेपाली सेना बाढी प्रभावित क्षेत्रमा तयारी अवस्थामा रहेको जनाइएको छ ।
मानवीय क्षति हुन नदिन सुरक्षा निकाय हाई अलर्टमा रहेको जिप्रका झापाले जनाएको छ । बुधबार बिहान दुई सय सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिए पनि दिउँसो संख्या बढाइएको थियो ।
जिल्ला दैवी उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लगरे नदीको नियन्त्रण प्रयास भइरहेको जानकारी दिए । त्यसैगरी, वर्षाले झापाका दक्षिणी भेगका दर्जनौ गाउँहरु डुबानमा परेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

mechitimes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्