७ वर्षदेखि ओछ्यानमा

७ वर्षदेखि ओछ्यानमा

 

बिर्तामोड । शान्तिनगर–३ का सुरज परियारले उपचार नपाउँदा ७ वर्षदेखि ओछ्यानमै थलिएका छन् । ट्रकमा मजदूरी गर्ने परियार ६५ साल पुस २ गते दमकमा दुर्घटनामा परेका थिए । ट्रक र बस एकापसमा ठक्कर हुँदा घाइते भएका उनको अहिलेसम्म स्वास्थ्यमा सुधार आएको छैन । तत्काल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न पुर्याइएको थियो । उपचार सम्भव नभएपछि अस्पतालले उनलाई २८ दिनपछि घर फर्काएको थियो । मेरुदण्ड भाँचिएकाले उनको शरीर अहिलेसम्म उठ्न सकेको छैन । शरीरको कम्मरदेखि माथिको भाग राम्रो भएपनि कम्मरदेखि मुनि उनलाई खुट्टा नै नभए जस्तो भएको छ ।
७ वर्षदेखि ओछ्यानमा थलिएका २८ वर्षीय सुरज उपचार गरेर हिँड्डुल गर्न सक्ने सपना देखिरहेका छन् । आर्थिक अवस्था न्यून भएकाले उपचार गर्न नसकेर ओछ्यानमै वर्षौं बितिसकेको उनका भाई मोहन परियार बताउँछन् । मोहनका अनुसार बुधबारेस्थित ट्रक धनी धनञ्जय साहले उपचारमा पर्याप्त सहयोग गर्न नसक्दा उनको जीवन एउटा कोठाभित्रै सीमित भएको छ ।
बाँसका भाँटाले बारिएको घर । पश्चिमपट्टि फर्किएको घरमा बरण्डामा उनको दिनचर्या बित्ने गरेको छ । पूर्व–पश्चिम पारेर राखिएको खाटमा ७ वर्षदेखि उनी सुतिरहेका छन् । दिसा पिसाब गर्न समेत उनलाई शरीरले साथ दिँदैन । पाइपबाट उनको दिसापिसाब गराइरहेको भाइ मोहन बताउँछन् ।
अनपढ आमालाई लगेर कागजमा हतारहतार औंठाछाप लगाएपछि दाइको शरीर अहिलेसम्म उठेको छैन– भाइ भन्छन्–‘औंठा छाप हानिसकेपछि मात्र आमालाई थाहा भयो डेढ लाख रुपैयाँ दिने शर्त रहेछ ।’ डेढ लाखको उपचारले सुरजलाई हिँड्डुल गर्न सक्ने बनाउन सकेन । त्यो पैसा लिएर आमा भारतका केही अस्पतालमा उपचार गर्न जानुभयो, भाइले भने–‘उपचार गर्न एकछेउ पुगेन त्यो पैसाले । सुरजको उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा पनि हप्ता दिन भन्दा बढी राखियो । त्यै पनि उनको उपचार सम्भव भएन ।’
दैनिक मजदुरी गरेर जीविकोपार्जन गरिरहेको परिवारलाई अहिले हातमुख जोर्ने भन्दा पनि बिरामीको उपचार गर्न समस्या छ । ५९ वर्षीया आमा र भाइ मोहन दुवै ज्याला मजदुरीमा काम गर्दै मलाई उपचार गरिरहनु भएको छ – सुरज भन्छन् । ‘सास रहुञ्जेल आस गरेका छौं’ – भाइ मोहन भन्छन् । मासिक ५ हजारको औषधि खुवाइरहेको परिवारले जनाएको छ । घटना भएको केही महिनापछि श्रीमतीले पनि छोडिन् । सुरजसँग ७ वर्षीया छोरी समेत बस्दै आएकी छिन् । उनले उपचारमा सहयोग पुर्याइदिन सबैलाई आग्रह गरेका छन् । उनको खुट्टा सुकेर अनौठो देखिन्छ । कम्मरदेखि मुनिको भाग नचल्ने भएपछि उनी कोठामा सुतिरहन देखि बाहेक केही गर्न सक्दैनन् ।
सम्पत्तिको नाममा १ कठ्ठा जमिन र सामान्य घर छ । जग्गा १ लाख रुपैयाँमा धितो राखेर उपचार गराइरहेको परिवारको भनाइ छ । अब १ लाख तिर्न नसकेर जग्गा पनि लिलाम हुने डर परिवारलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्