मोरङमा फैलँदै एसआरआई प्रविधिको धानखेती

मोरङमा फैलँदै एसआरआई प्रविधिको धानखेती

 

गणेश लम्साल
विराटनगर, ९ साउन
मोरङमा स्वत:स्फूर्त रूपमा एसआरआई प्रविधिबाट धान खेती गर्ने कृषकको संख्यामा वृद्धि हुन थालेको छ । एसआरआई (सिस्टम अफ राइस इन्टेनसिफिकेसन अर्थात् सघन धान खेती प्रणाली) प्रविधिबाट धान खेती गर्दा उब्जनी ४ गुणासम्म वृद्धि हुन्छ ।
हाल एसआरआई प्रविधिबाट खेती गर्ने कृषक ६ हजार पुगिसकेका छन् । पथरी, शनिश्चरे, कोसी हरैँचा, सुन्दरदुलारी, बेलबारी नगरपालिकादेखि बुधनगर, हसन्दह, मधुमल्ला, बाहुनी, बनिगामा, डाँगीहाट, अमाही बरियातीलगायत गाविसका कृषकले स्वत:स्फूर्त रूपमा एसआरआई प्रविधिबाट खेती गर्न थालेका छन् ।

कृषि कार्यालय मोरङका प्रमुख तथा एसआरआई प्रविधि विज्ञ राजेन्द्र उप्रेतीले परम्परागत प्रविधिभन्दा कम मल, बीउ, पानी र खनजोत गरी एसआरआई प्रविधिबाट धान खेती गरिने बताए । ‘परम्परागत तरिकाले गरिएको खेतीबाट भन्दा ४ गुणा बढी धान उत्पादन हुन्छ,’ उनले भने, ‘परम्परागत प्रविधिबाट खेती गर्दा प्रतिकट्ठा कृषकले २ देखि ४ मनसम्म धान फलाउन सक्छन् ।’
कृषिविज्ञ उप्रेतीका अनुसार हाल मोरङमा प्रतिहेक्टर ७ देखि १० टनसम्म एसआरआई प्रविधिबाट धान उत्पादन भइरहेको छ । सुरुमा ०६९ मा मोरङको बाहुनीका एक किसानको एक कट्ठा जमिनमा एसआरआई प्रविधिबाट धान रोपिएको थियो । त्यसपछि ०६० मा दुलारीमा ४ कट्ठा जमिनमा यो प्रविधिबाट खेती गरियो । त्यसपछि यो प्रविधिबाट हौसिएर खेती गर्ने किसान ५ वर्षसम्ममा करिब ३ हजारजति पुगेका थिए ।

‘हालसम्म यो प्रविधिबाट खेती गर्ने कम्तीमा पनि ६ हजारजति पुगे होलान्,’ उनले भने, ‘हामीले यकिन तथ्यांक लिइसकेका छैनौँ ।’ एसआरआई प्रविधिको विस्तारका लागि सरकारीस्तरबाट कुनै प्रवद्र्धनात्मक कार्यक्रम नभए पनि मोरङका सचेत कृषक स्वत:स्फूर्त रूपमा यसमा लागेका छन् ।
के हो एसआरआई प्रविधि एसआरआई प्रविधि थोरै श्रम, मल, बीउ, पानी र समय प्रयोग गरेर उन्नत तरिकाले धान खेती गर्ने आधुनिक प्रविधि हो । यो प्रविधिबाट खेती गर्दा धुले ब्याडमा राखिएको कलिलो बिरुवा (बढीमा ९ दिनसम्मको) रोपिन्छ र उचित तरिकाले गोडमेल गरिन्छ । आवश्यकताअनुसार मल र पानीप्रयोग गरिन्छ ।

रोपिएको बेर्ना गाँजिएर एउटै बोटमा दर्जनौँ धानका बाला लाग्छन् र धान धेरै फल्ने गर्छ । यो प्रविधिबाट खेती गरिएको धान परम्परागत तरिकाले भन्दा अगावै पाक्ने गर्दछ । यो प्रविधिबाट सबैखाले धान हिउँद र वर्षायामका लागि रोप्न सकिन्छ । एसआरआई प्रविधि भारतमा श्री प्रविधिबाट प्रसिद्ध छ ।
भारतले विभिन्न राज्यमा यो प्रविधिलाई खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत नै राखेर प्रवद्र्धन गरिरहेको छ । इन्डोनेसियालगायतका देशहरूमा पनि एसआरआई प्रविधिलाई सरकारीस्तरबाटै प्रवद्र्धन गर्ने गरिएको छ । तर, नेपालमा भने अझैसम्म सरकारीस्तरबाट यो प्रविधिबारे योजनाबद्ध कार्यक्रम भने सञ्चालन भएको छैन । प्रो प्रविधिबाट परम्परागत तरिकाबाट भन्दा ३ सय प्रतिशत बढी उत्पादन भएको पाइएको छ ।
एसआरआई प्रविधि सबैभन्दा पहिले मेडागास्करमा फादर हेनरी डी लाउलेनीले सन् १९९३ मा आविष्कार गरेका थिए । त्यसपछि १५ वर्षसम्म यो प्रविधि मेडागास्करमै अनुसन्धान गरिएको थियो । प्रयोग सफल भएपछि आसपासका देशमा स्वत:स्फूर्त रूपमा फैलिएको थियो । यो प्रविधि सन् १९९७ देखि विश्वका अन्य देशमा पनि प्रसार गर्न थालिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्