धरान, २८ साउन । एसियाकै प्रतिष्ठित अस्पतालको रुपमा रहेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय विभिन्न आन्दोलनका कारण समस्याग्रस्त बन्दै गएको छ । प्रतिष्ठानमा कार्यरत कर्मचारी र चिकित्सकहरुको राजनीति तथा विभिन्न बहानामा पटक–पटक हुने आन्दोलनका कारण प्रतिष्ठान समस्याग्रस्त बन्दै गएको हो । २०५० सालमा नेपाल–भारतको संयुक्त लगानीमा स्वास्थ्य सेवा र चिकित्सा शिक्षा प्रदान गर्ने उद्देश्यले धरानमा स्थापना गरिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापनाकालदेखि नै कर्मचारी, चिकित्सक तथा त्यहाँ अध्ययनरत विद्यार्थीहरुले विभिन्न माग राखी आन्दोलन गर्दै आएका छन् । पटक–पटक वार्ता र सहमति भएपनि प्रतिष्ठानमा आन्दोलन भने रोकिएको छैन । जसका कारण प्रतिष्ठानमा उपचारका लागि पुग्ने विरामीहरुले पटक–पटक सास्ती भोग्नुपरेको छ । प्रतिष्ठानको नियमावली २०५५ र संशोधन २०६४ ले प्रतिष्ठानभित्र बन्द हड्ताल, धर्नालगायतका विरोधका कार्यक्रम गर्न गराउन नपाइने व्यवस्था गरेको छ । यस्तै प्रतिष्ठानको नियमावलीमा प्रतिष्ठानमा काम गर्ने शिक्षक वा कर्मचारीले कुनै व्यापार व्यवसाय गर्न नपाउने तथा राजनीतिक दलको सदस्य हुन नपाउनेसमेत उल्लेख छ । तर प्रतिष्ठानमा कार्यरत कतिपय शिक्षक, कर्मचारी र चिकित्सक राजनीतिक पार्टीको जिम्मेवार तहमा छन् । यस्तै चिकित्सकहरुले निजी क्लिनिकसमेत सञ्चालन गरेका छन् । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर बलभद्रप्रसाद दास प्रतिष्ठानको नियमावली र आचारसंहिता उल्लंघन गर्नेलाई चाहेर पनि कारबाही गर्न नसकेको बताउनुहुन्छ । हुन त प्रतिष्ठान हाताभित्र कुनै राजनीतिक दलको भातृ संगठनहरु खुलेका छैनन् । तर प्रतिष्ठानका कर्मचारीहरुबाहिर भने प्रत्यक्ष राजनीतिमा होमिएका छन् । वीपी प्रतिष्ठानको कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङ हरेक नेपाली कुनै न कुनै राजनीतिक विचारसँग जोडिएकाले प्रतिष्ठानलाई असर नपर्ने गरि राजनीतिमा लागेको स्वीकार गर्नुहुन्छ । सर्वोच्च अदालतले पनि एक बर्ष अगाडि अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आन्दोलन गर्न नपाउने आदेश दिए पनि सर्वोच्चको आदेशलाई समेत यहा“ कार्यरत कर्मचारी, चिकित्सक तथा अध्ययनरत विद्यार्थीहरुले धज्जी उडाउँदै आएका छन् । पछिल्लो समयसमेत आवासीय चिकित्सकहरु ३७ आंै सिनेट वैठकले तलब वृद्धिमा विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएका थिए ।