बन्द विरुद्धको अभियानमा बिर्तामोडका युवा

बन्द विरुद्धको अभियानमा बिर्तामोडका युवा

 

बिर्तामोड । झापा बिर्तामोडका युवाहरुले बन्दको प्रतिकार गर्ने भएका छन् । मधेसी मोर्चा, थारु संघर्ष समिति, कोचिला संघर्ष समिति लगायतका दलले अनिश्चित कालका लागि सोमबारबाट तराई बन्द गर्ने भनेपछि बिर्तामोडका युवा व्यवसायीले स्वतस्फूर्त रुपमा बन्दको विरोध गरेका हुन् ।
सयौंको संख्यामा युवाहरुको सद्भाव र्यालीले बिर्तामोड परिक्रमा गरेको थियो । तराई बन्द भए पनि मंगलबार झापामा बन्दको कुनै प्रभाव पर्न सकेन । बजार खुलेपछि यातायातका साधनहरु पनि चलेका थिए । बिर्तामोडका युवाहरुले निकालेको बन्द विरोधी र्यालीमा व्यवसायीहरुले समेत सहभागिता जनाएका थिए ।
लगातारको बन्दले आजित बनेका सर्वसाधारणलाई युवाहरुले बन्दको विरोधमा सडकमा आउन आग्रह गरेका छन् । उनीहरुले नेपालको राष्ट्रिय झण्डा लिएर सद्भाव र्याली गरेका थिए । झापाको सुरुङ्गामा बन्दको कुनै प्रभाव पर्दैन । त्यसको अभ्यास बिर्तामोडका युवाहरुले पनि थालनी गरेका छन् । र्यालीका क्रममा युवाहरुले ‘बन्द हाम्लाई चाहिँदैन, रोजरोटी खोस्न पाइँदैन’ भन्दै नारा लगाएका थिए ।
झापाका प्रमुख व्यापारिक केन्द्र मानिएको बिर्तामोडलाई सधैँका लागि बन्द निषेधित गर्न युवाहरुले प्रयास गरेका छन् । उनीहरुले बन्द निषेधित गर्न स्थानीय राजनीतिक दल, संघसंस्थासँग समन्वय गर्ने जानकारी दिए ।
नवौं दिनसम्मको बन्दले घरायसी सामाग्रीको अभाव बढ्दै गएपछि सर्वसाधारणलाई समस्या भएको बताइएको छ । दिनहुँ चोकमा निस्किने बन्दकर्ताले सर्वसाधारणको समस्यालाई बुझ्न नसकेको र्यालीमा सहभागी एक युवा बताउँछन् । उनीहरुले सरकारसँग राखिएको मागले जनतालाई दुःख नदिन आग्रह गरेका छन् । युवाहरुको र्यालीमा बन्दको विकल्प खोज्न पनि आह्वान गरिएको छ ।
मधेसी मोर्चा, थारु संघर्ष समिति, कोचिला लगायतका केही दलले गरेको अनिश्चितकालीन बन्दमा बन्दकर्ताका कार्यकर्ता सडकमा नदेखिएपछि बजार पनि केहीबेरमै अघिल्ला दिनहरुसरह खुलेका थिए । लामो तथा छोटो दूरीका यातायातका साधन आंशिक रुपमा चलेका छन् ।
बिर्तामोडमा रहेका विभिन्न युवा संघसंस्थाका नेतृत्व समेत र्यालीमा सहभागी भएपछि सर्वसाधारणले बन्द निषेधित क्षेत्र हुनेमा विश्वास गरेका छन् । संस्थागत रुपमा भने र्याली निस्किएको होइन । उनीहरुले निरन्तर बन्दको विरुद्धमा सद्भाव र्याली गर्ने जनाएका छन् ।
केही वर्षअघि बन्दको विरोधमा एकजुट भएका बिर्तामोडका व्यवसायी बीचमा चुपचाप थिए । पुनः युवाहरुले बिर्तामोड बन्द निषेधित बनाउन अभियान सुरु गरेका छन् । उनीहरुले एक दिन मात्र यस्तो अभियान चाल्ने हो भने बन्दकर्ताको मनोबल अझै बढ्दै जाने एक व्यवसायी बताउँछन् । उनले जुनजुन दिन बन्द हुन्छ, व्यवसायीबीच एकताका साथ बन्दको प्रतिकार गर्नुपर्ने बताए ।
सोमबार बिर्तामोडमा भएको एक छलफलबाट झापाका शिक्षण संस्थाहरुलाई कुनै अवरोध नगर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्