बिराटनगर पुस २४
दलालको प्रलोभनमा परी एक वर्षको अवधिमा पूर्वी नाकाबाट रोजगारीका सिलसिलामा भारत गएका १७ युवतीमध्ये ११ जना अझै फेला परेका छैनन् । माइती नेपाल पशुपतिनगर आवधिक गृहले दिएको जानकारीअनुसार सन् २०१५ मा भारतमा हराएका भनी १७ जनाको निवेदन परेपछि खोजी गरी छजनालाई आफन्तको जिम्मा लगाइएको र ११ जना अझै सम्पर्कविहीन बनेको आवधिक गृहले जनाएको छ ।
उनीहरूलाई भारतको दार्जिलिङ, सिक्किम, सिलिगुढीलगायतका घर तथा होटलबाट उद्धार गरी परिवार तथा अभिभावकको जिम्मा लगाइएको हो । हराएकाहरूको माइती नेपाल र माइती नेपाल सञ्जाल समूहले व्यापक खोजी गरिरहेको आवधिक गृह पशुपतिनगरका संयोजक होम ढकालले जानकारी दिनुभयो । इलामको पूर्वी क्षेत्रका दर्जनौँ अवैध नाका हुँदै रोजगारीका लागि भारत हिँडेका १९७ जनालाई सीमा क्षेत्रबाटै परामर्श गरी घर फर्काइएको माइती नेपालले जनाएको छ । रोजगारीका लागि भारत पुगेका १२१ जनालाई माइती नेपाल, विभिन्न सङ्घसंस्था, प्रहरीको सहयोगमा उद्धार गरी पुनःस्थापना केन्द्रमा राखिएको छ । माइती नेपालले सन् २०१५ मा एक हजार ३४३ युवतीलाई परामर्श सेवा प्रदान गरेको छ । माइती नेपालमा एक वर्षमा १७ वटा घरेलु हिंसाका उजुरी परेका थिए जुन गत वर्षको तुलनामा ४० प्रतिशतले कम हो ।
जिल्लाका सीमावर्ती अवैध नाकाको प्रयोग गरी दलालले किशोरीलाई भारततर्फ लैजाने गरेको माइती नेपालले जनाएको छ । इलामको जिर्मले, श्रीअन्तु, पशुपतिनगर, समालबुङ, गोर्खे, जोगमाई, माइमझुवा र मावु गाविसका चोरबाटोबाट दलालले चेलीबेटीलाई रोजगारीको प्रलोभन देखाएर भारतका विभिन्न सहर पुर्याउने गरेका हुन् । भारतको दार्जिलिङस्थित पिएसडी कम्पनीमा रोजगारी दिने सपना देखाएर जिल्लाका विभिन्न गाउँबाट नेटवर्किङ व्यवसाय सञ्चालन गरी सीमापार लैजाने गरेको समेत पाइएको छ । दलालले १६ देखि ३० वर्ष उमेर समूहका युवतीलाई जागिरको प्रलोभन देखाएर भारत पुर्याउने गरेका छन् । प्रायः भूकम्पप्रभावित सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, काभ्रेलगायतका जिल्लाबाट युवतीलाई दलालले भारत पुर्याउने गरेको माइती नेपालको तथ्याङ्कमा उल्लेख गरिएको छ । सीमावर्ती क्षेत्रबाट अवैध बाटोको प्रयोग गरी दलालले चेलीबेटी भारत पुर्याउन थालेपछि माइती नेपाल र प्रहरीले संयुक्तरूपमा सञ्जाल समूह गठन गर्ने र शङ्कास्पद व्यक्ति भेटिएमा प्रहरीमा खबर गर्न भनेका छौँ, प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले भन्नुभयो ।
प्रहरीले सीमावर्ती गाविसमा समेत इलाका प्रहरी कार्यालयअन्तर्गतका प्रहरी चौकीमार्फत नियमित पैदल गस्ती सुरु गरेको समेत प्रनाउ रानाभाटको भनाइ छ । सीमा क्षेत्रमा गठन भएका त्यस्ता समूहका सदस्यले भारत जान लागेका महिलालाई नजान सुझाव दिने, गाउँमा चेलीबेटी बेचबिखनबारे जनचेतना फैलाउनेलगायतका काम गर्दै आएको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकाल बताउनुहुन्छ । “अवैध मार्गबाट चेलीबेटी भारततर्फ लागेको थाहा पाउनेबित्तिकै हामीलाई खबर गर्छन्, हामी दुवै देशका अधिकारीको सहयोगमा भए पनि उनीहरूलाई फर्काएरै छाड्छौँ” – ढकालले भन्नुभयो । सीमा क्षेत्रमा गठन भएका सञ्जाल समूहको सक्रियतापछि विगतको तुलनामा चेलीबेटी बेचबिखन केही कम भएको उहाँ बताउनुहुन्छ । सन् २०१४ मा १६ युवती भारतको विभिन्न कोठी र होटलमा हराएको माइती नेपालले जनाएको छ । सीमा क्षेत्रमा गठन भएका सञ्जाल समूह र पशुपतिनगरमा प्रहरीको सहयोगमा युवतीलाई रोकेर परामर्श गर्न थालेपछि दलालले चोरबाटोको प्रयोग गर्न थालेका छन् । रोजगारीको प्रलोभनमा परेर भारत जाने भन्दै गएका धेरै युवती कोठी र होटलबाट फर्कन थालेको आवधिक गृह पशुपतिनगरले जनाएको छ । रासस