विराटनगर, फागुन १० – मोरङको होक्लाबारिमा महिलालाई बोक्सी भन्दै मलमुत्र खुवाउन खोज्ने झाँक्रीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमान र सासू ससुराले बोक्सी भएको भन्दै मानव मलमुत्र खुवाउने प्रयास गरेका थिए ।
मोरङ होक्लाबारी-२ का यशोदा डोटेल भण्डारीले आफूलाई बोक्सीको आरोपमा शारीरिक तथा मानसिक यातना दिँदै मलमुत्र खुवाउने प्रयास गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उजुरीका आधारमा प्रहरीले उनका श्रीमान रोशन भण्डारी, ससुरा छत्रबहादुर भण्डारी र सासू रुपा भण्डारी, नन्द मन्दीका भण्डारी साथै झाँक्री इटहरीकी जानुका कोइरालालाई पक्राउ गरेको हो ।
घटना तीन दिनअघिको भएपनि प्रहरीमा जाहेरी दिएको आधारमा सोमबार मात्र घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रमोद खरेलले जानकारी दिनुभयो ।
झाँक्री कोइरालाको मन्त्रको प्रभावमा काम्नुपर्नेमा नकामेको भन्दै परिवारले यशोदालाई बोक्सी भन्दै मलमुत्र खुवाउन खोजेका थिए । तर, उनी भाग्न सफल भएकी थिइन् । उनले राष्ट्रिय नारी अधिकारवादी संघको सहयोगमा प्रहरीमा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।