उर्लाबारी नगर अधिकृतको चुरीफुरी

उर्लाबारी नगर अधिकृतको चुरीफुरी

बिजय  धिमाल

बिराटनगर फाल्गुन १२, अन्य नगरपालिकाको तुलनामा उर्लाबारीवासीलाई भाग्यमानी सावित गरिन्छ । पूर्वपश्चिम राजमार्ग, उर्लाबारी–बरडंगा–विराटनगर राजमार्ग, पूर्वी मोरङकै गहना प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे, जिल्लामै सर्वाेकृष्ट नतिजा हासिल गर्ने स्कुल र विद्यालय, सञ्चारको पहुँच तथा विद्युत विस्तारले उर्लाबारीलाई जिल्लाकै सुगममा देखाउँछ । ‘अचानोको चोट खुकुरीलाई के थाहाँ ?’ नगरपालिकाको बेथितीले पुरपुरोमा हात लगाउन बाध्य छन्, स्थानीयवासी । बेथितीको शुरू कहाँबाट गरांै, सबै उस्तै छन् । तर, एक वाक्य मात्र उठायो भने उनको पारो नै चढ्छ । सुन्दा पनि अचम्म, त्यसदिन त उनले बबाल नै गरे । तीन दशक पत्रकारितामा खारिएका पत्रकारलाई उनले ‘नगरपालिकाको विपक्षमा समाचार लेख्नेलाई केही दिन्न’ भन्दै जंगिए । ती पत्रकार पनि के कम ‘लोकतन्त्रमा भजन गाउँदिन’ भन्दै जवाफ दिए । लोकतन्त्रमा स्थानीय निकायमा विकास निर्माणको गतिविधिलाई निगरानी गर्नु हरेक नागरिकको अधिकार हो । तर, यहाँ नागरिकसम्म सूचना प्रवाह गर्ने पत्रकारलाई त यस्तो शासन छ, विचरा जनतालाई । अझ विचरा त साना राजनीतिक दलका प्रतिनिधि । जबकी उनका अगाडि ती साना दलका प्रतिनिधिहरूको हस्ताक्षरबाहेक केही बिक्दैन । नगरपालिकाको विकासे योजना छनौट साथै अन्य महत्वपूर्ण निर्णयहरूमा तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीबाहेक अन्य दलका प्रतिनिधिलाई बेवास्ता नै गर्ने गरेको साना दलका प्रतिनिधिको गुनासो छ । उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठको यी र यस्तै क्रियाकलापले आलोचनाको पात्र बनिरहेका छन् । समाज रूपान्तरणका अभियान थालनीदेखि नगरपालिकाको भवन शिलान्याससम्म उनका चुरीफुरी कम छैनन् । सामान्यतया सार्वजनिक भवन शिलान्यासमा जिल्ला तथा केन्द्रस्तरबाट प्रमुख अतिथिलाई निम्त्याउने चलन छ । तर, उनले भव्य भवनको आफैं शिलान्यास गरे । यसबाट नै स्पष्ट हुन्छ, उनी कति स्वच्छेचारी छन् । अर्काेतर्फ उर्लाबारी क्षेत्रमा विकासका निर्माणले गति लिन नसक्नु, समाज रूपान्तरणका विभिन्न अभियानले सुस्तता पाउनुले उनको असक्षमतालाई उदांगो पारिदिएको छ । उर्लाबारी क्षेत्रलाई प्लाष्टिकमुक्त बनाउने, पूर्वपश्चिम राजमार्ग दायाँ–वायाँ ८२ फिट अतिक्रमण हटाउने, फोहोरमैलाको व्यवस्थापन, खुल्ला दिसामुक्त लगायतका अभियान घोषणा भएपनि यसको सार्थकताका लागि अनुगमन र कार्यान्वयन नहुँदा कागजी नारामा सीमित भइरहेको छ । यस्तै, नगरभित्रको सडक निर्माण कार्य कछुवाकै गतिमा चलिरहेको छ । मुख्य राजमार्गबाहेक अन्य भने सामान्य ग्राभेलमा सीमित छन् । यसको स्तरउन्नतिका लागि कहिलेसम्म कुर्नुपर्ने हो त्यो त हेर्न बाँकी नै छ । बर्सेनि सार्वजनिक हुने बजेटमा सडकको स्तरउन्नतिका लागि बजेट छुटिएपनि खर्च भने हुन सकेको छैन । वर्षायाममा पानी जम्ने, खाल्डाखुल्डी पर्ने र हिउँदमा धुलाम्मे हुने गरेका छन् । उता स्कुलडाँडा–बरगाछी तथा स्कुलडाँडा उत्तरको सडकको स्तरउन्नतिका लागि नाला बनाउने काम शुरू भएपनि गुणस्तरीयतामा भने प्रश्न उठेको छ । यस्तै नगरका बासिन्दा पुल, कल्भर्ट निर्माण नहुँदा आगामी वर्षायाममा विगतमाझैं ‘मेघ गर्जदा आकाश हेरेर खोला तर्नुपर्ने’ बाध्यता रहेको छ । यस्तै, नगरपालिका कार्यालयमा कर्मचारी नियुक्तिमा पनि अधिकृत श्रेष्ठको मनोमानी नै चल्ने गरेको छ । कर्मचारी नियुक्तिका लागि विज्ञापनको सूचना प्रकाशित गरी कर्मचारी छनौट गर्नुपर्ने हुन्छ । तर, नगरपालिकाले न विज्ञापन निकाल्छ, आफूखुशी कर्मचारी नियुक्ति गरेको स्थानीय एक युवाको भनाइ छ । उनका अनुसार कम्प्यूटर अपरेटरका लागि विज्ञापन कुरेर बसेपनि नगरपालिका पुग्दा पहिले नै कर्मचारी नियुक्ति भएको जानकारी प्राप्त भएको थियो । उता नगरपालिकाको कामकाजका लागि प्रयोग गर्नुपर्ने बोलेरो गाडीसमेत उनले दुरूपयोग गरेको खुल्न आएको छ । भालेको डाकसँगै उर्लाबारी चौंकमा दैनिकजसो देखिने उक्त गाडी विना कुनै काम दिनमा दर्जनपटक ओहोरदोहोर गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्