सरकारी स्कुल सुधार्दै युवा

सरकारी स्कुल सुधार्दै युवा

 

विराटनगर २ चैत । मोरङको केरौन–३ मा रहेको श्री जनमत सरस्वती निमाविले यसै शैक्षिक सत्र देखि अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गर्ने भएको छ ।

नेपाली माध्याममा पढाइरहँदा विद्यार्थीको संख्या अत्यन्त कम भएका कारण विद्यालय मर्ज हुने अवस्थामा पुगेपछि स्थानीय युवाको अगुवाइमा विद्यालयले यस्तो कदम चालेको हो । विद्यालयका प्रधानाध्यापक गोपाल अधिकारीले यही शैक्षिक सत्र देखि नै नर्सरी देखि कक्षा ८ सम्म अंग्रेजी माध्यामका लागि छुट्टै कक्षा लिएर भर्ना अभियान सुरु गरेको जानकारी दिनुभयो । ‘विद्यालय मर्ज हुने समयमा स्थानीय युवाको अगुवाईमा अंग्रेजी माध्याममा पठन पाठनका लागि आग्रह गरे,’ उनले भने, ‘त्यसपछि ति नै युवाहरुले व्यवस्थापनको सम्पूर्ण काम मिलाउने शर्तमा काम सुरु भएको हो ।’ सो विद्यालयलाई अंग्रेजी माध्यममा लाँदा लाग्ने खर्च स्थानीय सहकारी जनचेतना बचत तथा ऋण सहकारी संस्था केरौन–३ ले १५ हजार रकम दिएको छ । अंग्रेजी माध्यममा पठन पाठन सुरु गर्दा वार्षिक १० लाख रुपैयाँ भार स्कुललाई पर्न जाने भएकोले स्थानीय अभिभावक तथा दाताबाट चन्दा स्वरुप रकम संकलन गरिने विद्यालयका प्रअ अधिकारीले बताए ।

प्रचार प्रसारको काम, शिक्षक नियुक्तिको प्रक्रिया र विद्यार्थी भर्ना अभियान सुरु भएकोले अब विद्यालयले यही शैक्षिक सत्रदेखि अंग्रेजी माध्याममा पठन पाठन सुरु गर्ने पहलकर्ता टोमनाथ गौतमले बताए ।

अंग्रेजी शिक्षाको आवश्यकता बढेपछि स्थानीय युवाहरुको अगुवाईमा काम अघि बढाइएको सुधार अभियानमा सक्रिय हरि अधिकारीले जानकारी दिए । उनले जनचेतनालाई अंग्रेजी माध्ययमबाट अध्यापन हुने नमुना सामुदायि विद्यालयको रुपमा अघि बढाउने योजना रहेको बताए ।

‘सरकारी विद्यालयले शिक्षाको गुणस्तर सुधार्न नसके सरकारको लगानी बालुवामा पानी सहर हुने भएका कारण अरुको मुख ताक्नुको सट्टा आफैं अग्रसर भएका हौं,’ सरकारी स्कुल सुधार अभियान सुरु गर्नुको कारण प्रष्ट्याउँदै स्थानीय युवा अर्जुनकुमार आचार्यले भने, ‘स्कुललाई अहिले भौतिक रुपमा रंग्याउने, खेलकुदका सामान जुटाउने काम भइरहेको छ ।’ उक्त स्कुलमा अभियान सफल भए अर्को शैक्षिक सत्रदेखि केरौन गाविसका सबै सरकारी विद्यालयलाई अंग्रेजी माध्याममा पठन पाठन गर्न पहल गर्ने उनीहरुले बताएका छन् । अभियानमा स्थानीय युवा अभिनारायण लुइटेल, अर्जुन मगर, युवराज कोइरालालगायत युवाहरु सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्