हामी उनि पढ्ने ईटहरीको ब्लुमिङ लोटस सेकेण्डरी स्कुलमा पुग्दा उनि क्लास लिईरहेका थिए । अतितले उनको बावा र स्कुलको प्रिन्सिपल सर सँग हामी आउने कुरा गरिसकेको थियो । हामी उनलाई पर्खिँदै अफिसमा बस्यौ ।
उनको नाम अभिषेक पोखरेल हो । उनलाई पहिलोपटक भेट्दै थिँए म । युथ फर व्लड सुनसरी च्याप्टरको सेयरिंग डे मा सहभागी हुन अफिसमा पुग्दा अतितले उनले ब्राजिल भ्रमणको बेला लेखेको यात्रासंस्मरण 'उन्मुक्त चरी' देखाएको थियो । बिचको कुनै एक च्याप्टर पढेर तरंगित भएको थिँए । उनले वुनेका शव्दहरु नौ कक्षामा पढ्ने मान्छेले लेखेको हो भनेर सुरुमा त पत्याएकै थिईन ।
उनलाई भेट्न कुनै दिन ईटहरी आँउछु भनेर बिराटनगर फर्किएको थिए त्यसदिन ।
˟ ˟ ˟ ˟ ˟
स्कुल छुट्टि भएर सवैजना विद्यार्थीहरु यताउता लागिसकेका थिए । कोहि आए र अफिसमा होमवर्क कपी छोडेर फर्किए । तर उनि आईपुगेनन् । प्रिन्सिपल सर किन ढिलो आए भनेर खोज्न जानुभयो । उनि आफ्नो समुहको डान्स प्राक्टिसलाई व्यवस्थापन गर्न गएका रहेछन् । एकैछिनमा आउने जानकारी मिलेपछि मैले रेकर्डर र डायरी ठिक गरेँ ।
उनि आए र मेरो छेउमा वसे । मैले परिचय गरेँ । नयाँ मान्छेसँग पहिलोपटक बोल्दाको धक उनको अनुहारमा कतैपनि देखिएन । बरु उनले टिसर्टमा लगाएको व्याचमा आँखा गयो । त्यहाँ लेखिएको थियो¸ 'स्कुल क्याप्टेन' ।
उनि आईपुग्नु पूर्व पनि हामीले उनको बाबा सँग कुरा गरेका थियौ । कलाका विभिन्न क्षेत्रमा उनलाई रुची रहेको कुरा वताउनुभएको थियो । अफिसको दराजमा राखिएका केहि ट्रफिहरु उनले नै वक्तित्वकला तथा डान्समा जितेका रहेछन् ।
उनकै अनुमतिमा उनको लेखनको विगत पल्टाउन थालेँ ।
सानो हुँदादेखि नै उनि दैनिकी लेख्थे । त्यसवेला आफ्नो लागी भन्दा पनि बावाको लागी गरेजस्तो हुन्थ्यो किनकी लेख्न प्राय उहाँ नै कर गर्नुहुन्थ्यो । उनलाई नेपाली लेख्न ज्यादै अल्छि लाग्ने तरपनि नाँई भन्न सक्थेनन् । पछि बिस्तारै बानी भयो । एकपटक उनि भेडेटार गएका थिए तीन दिनको लागी । त्यहाँ जाँदाको रमाईलो क्षणलाई समालेर उनले 'स्वर्ग जस्तो भेडेटार' शिर्षकमा संस्मरण लेखे । कोपिलामा छापियो । त्यो संस्मरण छापिएपछि आफन्तहरुले उनलाई फोन गरेर उत्साहित गर्नुभयो । प्रकाशित हुन थालेपछि जिम्मेवारी पनि वढ्ने रहेछ । त्यसपछि विभिन्न पत्रिकाहरुमा उनि प्रकाशित भईरहे । प्रकाशित तिनै सामाग्रीहरु र त्यसपछि आउने आफन्त साथिभाईहरुका फोनहरुले उनलाई लेखनमा अल्छि हुन दिएनन् ।
यसरी बाबाले लगाईदिएको बाटोमा हिँड्दा हिँड्दै उनले लेखकको रुपमा आफ्नै परिचय वनाउन थाले । उनलाई त्यो मन पनि पर्यो ।
त्यसछिका हरेक घुमघाममा उनि एक्दै घुमेनन् । डायरी र पेन लिएरै गए । विर्सिन सक्छ भनेर कुराहरु टिपोट गर्न थाले । कितावहरु पढ्दा पनि पाठकको रुपमा मात्र नभई लेखकको रुपमा पढे । लेखनको मिठासलाई मनन् गरे । आफु भित्रको लेखक मान्छेलाई माया गरे ।
उनि सिधै व्यक्त गर्न नसकिने धेरैजस्तो कुराहरु लेखाईमा पोख्दा रहेछन् । भने 'मेरो खुशीलाई वा दुखलाई कसैले मेरो लेखनमार्फत महशुस गरुन् भनेर¸ मै सँगसँगै घुमुम् भनेर लेख्छु ।' आफ्नो भित्री मनसँगको यो कुराकानी उनलाई रमाईलो लाग्छ ।
उनको लेख्ने कुनै निश्चित समय छैन । जव कुनै कुराले दिमागमा हान्छ लेखिहाल्छन् । नँया कुराको स्वागतको लागी सँधै तयार भने हुन्छन् । मनन् गरेर लेख्न मन लाग्छ उनलाई । यस्तो लेख्न चाहान्छन् जसलाई पढ्न सवैलाई रुचि लागोस् । 'मेरो आगामी किताबमा त्यस्तै केहि पाउन सक्नुहुन्छ ।' उनले भने ।
धेरै कला पक्षहरुसँग उनको चिनजान छ । ईटहरी एफएममा बालवालीकाको लागी कार्यक्रम पनि चलाउछन् । त्यसको अलावा उनि नृत्य, पेन्टिंग तथा कुकिंगमा पनि पारंगत छन् । नयाँ फर्मको कुनै पनि डान्स स्टेप आए सिकिहाल्छन् तर त्यसलाई नेपाली सेन्समा ढालेर स्टेजमा पर्फर्म गर्ने गरेका छन् । युट्युव तथा डिस्कभरीमा नँया नँया रेसिपी वनाउने तरिकाहरु पनि सिकिरहेका हुन्छन् । घुम्नु त विशेष चाख नै भैगयो । वर्षमा दुई वा तीन ठाँउ घुमिरहेका हुन्छन् । सामाजिक काममा पनि उनि उत्तिकै सकृय छन् । भ्याएको बेला ईटहरीका सवै सामाजिक संस्था हरुमा संवयंसेवा गर्छन् ।
मन लागेका सवै कुराहरु गर्नुपर्छ भन्ने लाग्छ उनलाई । त्यसैले भरसक सवैका लागी समय छुट्याईरहेका हुन्छन् ।
उनलाई भाषाको राम्रो ज्ञान पनि छ । नेपाली¸ अंग्रेजी¸ हिन्दी¸ एस्परान्तो सँगै पोर्चुगिस भाषा राम्रोसँग वोल्न सक्छन् । एस्परान्तो भाषाले त उनलाई विदेश सम्म पनि पुर्याएको छ । त्यसकै अन्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन उनि ब्राजिल गएका थिए । त्यहि भ्रमणले उनको लेखाईलाई कितावको रुपमा लिएर आएन मद्धत गर्यो । बहुत मेहनेत गरेर उनले ब्राजिल भ्रमणका हरेक क्षणहरुलाई शब्दहरुमा बुनेका छन् ।
एस्परान्तोसँगको चिनजान पनि रमाईलो छ उनको । पोल्याण्डको एल एल जेमिनहोफ ले विश्व शान्ति र भाईचाराको लागी यो भाषालाई सुरु गरेपछि विश्वभर यसको प्रचार भयो । प्रचारकहरु भाषा सिकाउँदै विभिन्न देशहरु घुमे । त्यसैक्रममा काठमाण्डौ आईपुगेको थाहा पाएपछि उनको बाबाले पनि यसलाई सिक्नुभयो । उहाँले घरका अरुलाई पनि सिकाउनु भयो । एस्परान्तो बोल्ने विभिन्न विदेशीहरु पनि उनिहरुको घरमा आईरहन्थे । उहाँहरु कुरा गरेको सुनेर उनलाई पनि चाख वढ्यो । उनले यसलाई नेपाली भाषा सिकेजसरीनै सिके¸ कसैले नपढाईकन¸ परिवारका अरु सदस्यहरुले बोलेको सुनेकै भरमा । आफ्नो सुरुवाती दिनहरुको बारेमा यसरी लेखेका छन् उनले किताबमा:
म त्यसबेला युकेजीमा अध्ययन गर्थेँ । घरमा प्राय बावुछोरी एस्परान्तो भाषामै कुराकानी गर्नुहुन्थ्यो । म पनि यसो छेउमा टुसुक्क बसेर सुन्थेँ । सुरुसुरुमा त बुझ्न कठिन पर्यो तर विस्तारै विस्तारै वहाँहरुले कुराकानी गर्दा सुनेका शब्दहरु डायरीमा टिपोट गरी पटकपटक त्यसलाई उच्चारण गर्न थालेपछि ति शब्दहरु आउन थाले । पृ २६
माथि भनेझै एस्परान्तो भाषाकै एक अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन उनि ब्राजिल गएका थिए । तर सानो बालकलाई ब्राजिल सम्म पुग्ने यात्रा सहज भएन । बालबालिकाको लागी विश्वकै खतरा देश भनेर प्रचार गरिएकाले उनलाई नजान सल्लाह पनि दिएका थिए तर आत्मविश्वासले जितेर उनि जोखिम मोलेरै भएपनि ब्राजिल पुग्न सफल भए । उनको यात्रा संझँदै भने¸ 'नगएको भए धेरैकुरा छुट्ने रहेछन् ।'
ब्राजिल भ्रमणमा जाँदाका सयौ रमाईला पलहरुलाई उनले किताबमा उतारेका छन् । उनले छानेका घटनाहरु र तिनको वर्णनमा प्रयोग भएका शव्दहरु कुनै परिपक्क लेखकको भन्दा कम छैनन् । भेटिएका धेरै मानिसहरुसँग कुरा गरेको प्रसंगले उनको बोलिको कुशलतालाई पनि झल्काउँछ । उनको मित्रताका कथाहरु पनि मिठो छन् । नेपाललाई ब्राजिलमा चिनाउन पाउदाको एक क्षणलाई उनले यसरी कैद गरेका छन्:
कार्यक्रम सकियो । किशोरकिशोरीहरु सवै जनाले मलाई मञ्चतिर तानेर लगे अनि फोटो खिच्न थाले । उनिहररुले मसँग फोटो खिच्नुको कारण एउटा मैले दौरासुरुवाल अर्थात नेपालको राष्ट्रिय पोसाक लगाएको थिँए र अर्को भनेको चाँहि म अङ्ग्रेजी बोल्न जान्दथेँ । पृ ५५
नेपालमा भुकम्प आँउदा उनि ब्राजिलमै थिए । त्यति परबाट नेपालमा परेको संकटलाई हेरिरहनु परेको थियो । हजारौले जीवन गुमाएको त्यस घटना भएको वेला देशमा हुँन नपाउनुको पिडा उनलाई धेरै परेछ । त्यहाँबाट फर्किएपछिको उनले गरेको निर्णयबारे भन्छन्:
दशैमा म ब्राजिलबाट नेपाल फर्किसकेको थिँए । तर यसरी प्राकृतिक विपत्तिका कारण एकैचोटी हजारौ मेरा नेपाली आफन्तहरुले ज्यान गुमाएकाले मैले दशै र तिहारको टिका लगाईनँ । पृ ८४
˟ ˟ ˟ ˟ ˟
साथीहरुले उनलाई तँ त सेलिब्रेटी भको भनेर पनि जिस्काउने रहेछन् । कतिले तैले जानेको हामीलाई पनि सिका न भन्छन् रे । उनलाई सिकाउन पनि रमाईलो लाग्दो रहेछ । जानेको कुरा सिकाउन के को लाज ।
भविष्यको योजना के छ त भनेर मैले सोद्धा उनि लामो हाँसे र भने¸ 'प्लान त छ तर अहिले के आउट गरिहाल्नु । मरिन्छ कि बाँचिन्छ कसलाई थाहा छ । तर यति हो अहिलेको ईन्ट्रेसको विषय र भविष्यको योजना धेरथोर मिल्छन् ।'
उनि लेखन सँगै पढ्नमा पनि रुचि राख्छन् । सुन्दर लेखन पढ्दा सुन्दर लेख्न सकिने अनुभव भएको रहेछ । यात्रा संस्मरण सँगै उपन्यास पनि पढ्छन् । नयाँ नयाँ सँस्कृतिको बारेमा पनि पढिरहेका हुन्छन् । उनलाई किताब गिफ्ट पनि आउछन् रे तर धेरै हैन । भने¸ 'किताब दिने र पढ्ने मान्छे अलिक थोरै नै हुन्छन् नि त । तर यस्तो बानी गर्न सके राम्रो हुनेथियो ।'
आफुलाई मन परेको विषयमा परिवार¸ स्कुल तथा शिक्षकहरुले गरेको सहयोग प्रति उनि खुशी छन् । उनलाई आफ्नो रुचि वहुतै प्रित चिज लाग्नेरहेछ । रुचिले नजानिदो गरी हामीलाई काम लगाईरहेको मन पर्छ उनलाई ।
संभवत त्यो रुचि त्यति धेरै वलियो नभईदिएको भए उनि किताब लेख्न सक्दैन थिए । आफ्नो र परिवारको सपना अधुरै हुनेथियो ।
˟ ˟ ˟ ˟ ˟
कुराकानी लगभग सकिन लागेको थियो । डायरीमा भएका केहि खेस्रा प्रश्नहरु पनि सकिईसकेका थिए । उठ्ने वेला अन्तिम प्रश्न गरेँ ।
'समुन्द्र पारी पुग्दा कस्तो हुँदोरहेछ त?'
उनले सायद आफ्नो यात्रा संझिए वा किताव लेख्दाको क्षण संझिए । एकछिन हामीबाट हराएझै भए । त्यसपछि मुसुक्क हाँसे र भने 'चरा भएझै लाग्दो रहेछ । नयाँ भुगोल¸ नँया मान्छे¸ नँया नयाँ सँस्कृति सँग नजिक हुन पाईने । म कहाँ आएको छु भन्ने नै थाहा नभएजस्तो । आकाशमा उडिरहेजस्तो ।'
खासमा त्यो वाक्यमा भन्न चाहेका धेरै कुराहरु उनले भन्न सकेनन् । तर उनको अनुहारमा फैलिएका भावहरुलाई पढिरहेको थिँए म । फर्किँदा शिर्षक सोचिसकेको थिँए¸ 'एउटा उडानको कथा' ।
चिरकाउवा˟ - एस्परान्तोमा अलराउन्डर