सामान्य भाषामा इन्फ्लुएन्जा वा फ्लुलाई भाइरल ज्वरो भनिन्छ । एक्कासि ज्वरो आएमा, श्वासप्रश्वासमा अप्ठ्यारो, जीउ दुख्ने, टाउको दुख्ने लक्षणहरू देखा परेमा त्यस व्यक्तिलाई इन्फ्लुएन्जा भएको भनिन्छ ।
प्रायः कडा घाम र पानी पर्ने मौसममा यसले प्रकोपको रूप लिने गरेकाले यसलाई मौसमी इन्फ्लुएन्जा पनि भन्ने गरिन्छ । बदलिँदो मौसम, वायु प्रदूषण तथा दूषित पानीका कारण भाइरल संक्रमण बढी हुन्छ ।
यो हावाबाट सर्ने रोग हो । यसको प्रभाव जाडो मौसममा भन्दा गर्मी मौसममा बढी रहन्छ । यो रोग भाइरसका कारण हुन्छ । भाइरल ज्वरोका लक्षणहरूः
फिजिसियन डा. नन्दु पाठकका अनुसार भाइरल ज्वरोका मुख्य लक्षणहरू निम्नानुसार छन्ः
-एक्कासि ज्वरो बढ्ने र रोकिने
-चिसो महसुस हुनु
-हल्का खोकी लाग्नु
- घाँटी दुख्नु
- हाँच्छिऊ आउनु
- नाकबाट पानी आउनु
- टाउको, शरीर तथा हाडजोर्नी दुख्नु
- हातखुट्टामा सिल्का हान्नु र कमजोरी महसुस हुनु
- अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु
- आँखा रातो हुनु
- वाकवाकी लाग्नु
- वान्ता हुने, पेट मडारिनु,
- बेसुरोपना देखा पर्नु
- झाडापखाला लाग्नु आदि ।
भाइरल ज्वरो सरुवा रोग हो । विशेषगरी रोग लागेका व्यक्तिको शरीरको तरल पदार्थबाट यो रोग अर्को व्यक्तिमा सर्दछ । रोगीले खोक्दा, हाच्छ्यु गर्दा, हाई काढ्दा उसको मुख र नाकबाट निस्कने मसिना थुक, र्याल, सिंगानका कणहरूबाट वातावरणमा यसका भाइरस निस्कन्छन् र नजिकै बसेको मानिसले सास फेर्दा यो भाइरस सर्दछ ।
यसका साथै बिरामीसित हात मिलाउँदा, बिरामीले प्रयोग गरेका रुमाल, कलम आदिबाट पनि रोग सर्दछ । हावामा खेलिरहेका विषाणुहरू श्वासप्रश्वासको क्रममा नाकको माध्यमबाट मानिसको शरीरमा पुग्छ । भाइरसको प्रवेशसँगै नाक चिलाउन र दुख्न थाल्छ । भाइरस घाँटीमा पुगेपछि घाँटी खसखस गर्छ ।
अन्तिममा फोक्सोमा पुगेपछि खोकी लाग्न थाल्छ । भाइरसको प्रवेशसँगै नाकबाट हाच्छ्यु आउने, रुघा लाग्ने, घाँटीमा अप्ठेरो पर्ने, स्वर बिग्रने गर्छ । फोक्सोमा पुगिसकेपछि भाइरस रगतमा मिसिन्छ र शरीरका सम्पूर्ण भागमा फैलिन्छ । रगतमा फैलनासाथ मानिसमा ज्वरो आउँछ । ज्वरोका कारण शरीरको प्र्रतिरोधात्मक शक्ति कमजोर हुन्छ र भाइरसको शक्ति बलियो हुन्छ । ७२ घन्टादेखि पाँच दिनसम्म बढी क्रियाशील हुने भाइरल त्यसपछि आफैं हराएर जान्छ ।
डा. पाठक भन्छन्, यो रोग फैलिनमा नियन्त्रण गर्नका रोगीले खोक्दा हाच्छ्यु गर्दा रुमाल वा रुमाल नभएको अवस्थामा आफ्नो हातले नाक, मुख छोप्ने तथा संक्रमित मानिसले मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले हाच्छ्यु गर्दा, खोक्दा उसको रोग अन्य व्यक्तिमा प्रवेश गर्ने कम सम्भावना हुन्छ ।
बारम्बार हात धुने र हात सफा राख्ने, बिरामीसँग कुरा गर्दा कम्तीमा एक मिटरको दूरीमा बस्ने, बिरामीलाई बेग्लै राख्ने जस्ता उपायहरू अपनाएर संक्रमणबाट जोगिन सकिन्छ ।
चिकित्सकका अनुसार, भाइरल ज्वरो गम्भीर खालको हुँदैन । त्यसैले डराउनु पर्दैन, तर सजग रहन भने आवश्यक छ । सामान्य अवस्थामा भाइरल ज्वरो तीन दिनमा निको हुने गर्छ । ज्वरो ठीक भए पनि एक हप्तासम्म दुर्बलता तथा खोकी रहिरहन सक्छ ।
परिवारको एक सदस्यलाई भाइरल ज्वरो आई निको भई अर्को सदस्यमा सुरु भएको छ भने पनि आत्तिनु पर्दैन । तर ज्वरोसँगै बान्ता भएमा, टाउको दुखेमा, सास फेर्न कठिन भएमा र बिरामी बेसुरो देखिएमा भने तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्र पुर्याउनुपर्छ ।
यो रोग लाग्दा देखा पर्ने सामान्य लक्षणहरूको व्यवस्थापन घरैमा गर्न सकिन्छ । प्रशस्त मात्रामा मनतातो पानी पिउने, बासी तथा चिसो पदार्थ सेवन नगर्ने, चिसोबाट बच्ने, तातोपानीको वाफ लिने, नुनपानी तथा बेसारले कुल्ला गर्ने तथा एक चम्चा मह, आधा चम्चा तुलसीको पातको रस र आधा चम्चा अदुवाको रस मिसाएर बिहान, दिउँसो तथा साँझदिनको तीन पटक सेवन गर्ने जस्ता घरेलु उपचार गर्न सकिन्छ ।
ज्वरो र जीउ दुखाइ कम गर्न सिटामोलजस्ता औषधि उपयुक्त हुन्छ । तर, गर्मीमा अन्य रोग पनि हुन सक्ने सम्भावना भएकाले सुरुमै ब्रुफिनजस्ता औषधि भने नखाएकै राम्रो । यति गरेमा ज्वरो आफैं निको हुन्छ । तर, चिकित्सकको सल्लाहबिना पेन किलर र एन्टिबायोटिकलगायतका औषधि खाने गर्नुहुँदैन । यस्तो गर्दा रोग झन् बल्झिने खतरा हुन्छ ।
इन्फ्लुएन्जा भई ज्वरो आएको वा झाडापखाला भएको व्यक्तिलाई प्रशस्त मात्रामा झोलिलो खुवाएर जलवियोजन हुनबाट जोगाउनु पर्दछ । बिरामीलाई साबिकबमोजिमको खानेकुराका अतिरिक्त थप पोषिलो खानेकुरा तथा झोलिलो खानेकुरा पनि खुवाउनु पर्दछ । आमाको दूधखाने बालक भएमा साबिकभन्दा बढी मात्रामा दूध चुसाउनु पर्दछ ।
यस रोगका सामान्य लक्षणहरूको घरमै उपचार गर्न सकिए पनि जटिलता देखिनेबित्तिकै स्वास्थ्य संस्थामा लगेर उपचार गर्नुपर्दछ । उच्च जोखिममा रहेका समूहजस्तै गर्भवती महिला, बालबालिका, वृद्ध व्यक्ति, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूको निगरानी निकटताबाट गरिनु पर्दछ ।
कसैमा पनि निमोनिया वा ब्रोङ्काइटिसका लक्षण, चिह्न देखिएमा, कडा जलवियोजन भएमा वा गम्भीर रूपले बिरामी भएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
सास फेर्न गाह्रो हुनु, चाडो चाडो सास फेर्नु, ओठ र अनुहार नीलो देखिनु, खोकीमा रगत देखिनु, बोल्न नसक्नु वा अरूले बोलेको नबुझ्नु, छाती बेस्सरी दुख्नु, कम्पन हुनु, राम्रो भएर फेरि रोगले च्याप्नुजस्ता लक्षणहरू खतराका चिह्नहरू हुन् । दुई महिनाभन्दा साना नानीहरूमा इन्फ्लुएन्जा भएमा वा इन्फ्लुएन्जा भएको कुनै व्यक्ति सिकिस्त बिरामी भएमा त्यो पनि खतराको निशानी हो ।
भाइरल ज्वरोका बिरामीले प्रशस्त आराम गर्ने, झोलिलो पदार्थ तथा मनतातो पानी खाने गर्नुपर्छ । जति बढी मनतातो पानी खायो त्यति नै छिटो पानी रगतमा फैलने र भाइसलाई पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्छ । खोक्दा, हाच्छ्यु गर्दा वा हाई काढ्दा सधैं रुमालले मुख छोप्ने गर्नुपर्छ ।
यसरी भाइरल ज्वरोप्रति सावधानी अपनाएको खण्डमा ज्वरोको नियन्त्रण र सहज उपचार सम्भव छ । भाइरल ज्वरोको संक्रमण हुनेबित्तिकै डराउनु पर्दैन, आत्तिनु पर्दैन ।
(लेखक मनोविद् हुन् ।)
-अन्नपुर्णबाट