– बसन्त अधिकारी
श्रावन २४ गते म काठमान्डूबाट बिराटनगर एयरपोर्टमा १०:१५ मा उत्रिए l घर जानको निम्ति भ्यान अलि महँगो पर्ने हुनाले सस्तो साधन खोज्ने क्रममा सिटि रिक्सा भेटे l “पंचमुखी चोकको भाडा कति लिनु हुन्छ” भनेर चालकलाइ सोधे, उनले ४०० भने, मैले“हैट, के को चारसय, त्यतिमा त भ्यानले नै पुर्याईहाल्छ नि” भने ? उनले भने “हैन हजुर आज सिटि रिक्सावालाहरुको आन्दोलन छ, लुकी-लुकी जानुपर्छ, बाटो लामो पर्छ त्यसैले आज अलि बढी लाग्छ l मैले “यति धेरै त दिन्न” भनेर भने, उनले “३०० दिनुस् न त, धेरै रिस्क छ बाटोमा” भनेर भने, मैले “ल भैगो २५० दिन्छु” हिड भनेर भनेपछि उनि तयार भए l अलि आगाडी अर्को एकजना महिला यात्रु भेटेर १०० रुपैयामा धरान बसपार्क (कनचंबारी) छोडिदिने भनेर चडाए l महिलालाई कंचनबारी पुर्याएर मलाइ मेरो गन्तब्यसम्म पुर्याउन रिक्सा अलि अगाडी मात्र बढाएको के थियो आन्दोलन स्थल तर्फ गइरहेका ५-७ वटा सिटि रिक्सा चालकहरुले म चढेको रिक्साको बाटो छेकि उसलाई गालि गर्न थाले l उसले बरगाछीसम्म मलाई पुर्याएर आन्दोलनको ठाउमा आफु आउने जानकारी गरायो, तर ति रिक्सा चालकहरु मान्न तयार भएनन् l उल्टै मलाई रिक्सबाट उतार्न म चढेको सिटि रिक्सा चालकलाइ दबाब दिन थाले l रिक्सा चालक र मैले धेरै सम्झाउने प्रयास गर्यौ तर उनीहरु मान्न तयार भएनन् l आखिर मैले रिक्सा छोडेर अरु नै विकल्प समात्न बाध्य हुनुपर्ने स्थिति आयो l
ति चालकले आफ्नो रिक्सा घुमाएर मलाइ अर्को विकल्पको निम्ति पहल गर्न थाले l मैले भने “हिड म पनि तिमीहरुको हड्ताल हेर्न जान्छु, कहाँ हो तिमीहरुको आन्दोलन ? भनेर सोधे” उनले भने “यातायात कार्यालय, ढाट छेउमा” l मैले भने “हिड जाउ” l रिक्सा चालक एकछिन अचम्ममा परे योकुरा उनको हाउभाउले बताइरहेको थियो l जब रिक्सा यातायात कार्यालय छेउमा पुग्यो मैले देखेकी ४-५ सय जति सिटि रिक्सा चालक र त्यसका धनिहरु (आफ्नो साधन सहित) आन्दोलन गर्नको निम्ति भेला भएका थिए l बार्तास्थल नजिक उत्रिएर मैले सोधे, “बार्ता कहाँ हुदैछ?” उ त्यहाँ माथि” भनेर एकजना आन्दोलनमा आएका साथीले देखाए l मैले मेरो सिटि रिक्सालाई भने “म पनि बार्ता भएको ठाउमा जान्छु, मेरो ब्याग के गर्नु?” उनले भने, “यहि छोडिदिनुस्, म यहि नै पर्खिएर बस्छु l मेरो फोन नम्बर लिएर जानुस्, अथवा मलाई तपाइको फोन नम्बर दिनुस्, कल गर्दा जहा भएपनि भेट भइहाल्छ भनेर उनले मलाइ मिसकल दिए l मैले गाडीको नम्बर टिपे र फोन नम्बर पनि भइसकेपछि समस्या नहोला भन्ने विश्वासमा दुइवटा ब्याग रिक्सामा नै छोडी बार्ता भएको ठाउतर्फ लागे l
म बार्ता भैरहेको ठाउमा जान सिढी उक्लन थाले, सिढीमा धेरै मानिसहरु थिए, जस्मद्धे एकजना प्रहरी पनि थिए l मैले उनलाई म पनि बार्ताको निम्ति आएको हो, मलाई जान दिनुस् भने l तर उनले डिएसपी साहबले अब कसैलाईपनि भित्र छिर्न नदिनु भनेर भन्नु भएको छ भनेर मलाई जानकारी गराए l मैले उनलाई भने हामीले सिटि रिक्साको बिषय खोज र अनुसन्धान गरेका छौ, त्यसैले मैले पनि केहि सहयोग गर्न सक्छु भनेर जानकारी गराए, तर उनि मानेनन् l मैले धेरै पटक भनेपछि, ति प्रहरीले म डिएसपी साहबको नुम्बर दिन्छु, तपाई आफै कुरा गर्नुस् भनेर भने l मैले नम्बर लिएर डिएसपीलाइ फोन गरे, उहा बाहिर आउनु भयो, मैले वहालाई मैले बार्तामा बस्नु पर्ने औचित्य बारे कुरा राखे l डिएसपी साहबले पनि हिड्नुस भित्रै जाउ भनेर भन्नु भयो l
भित्र केहि चिनजान भएको साथीहरु पाए l बार्तामा निकै चड्का-चड्कि भइरहेको थियो l रिक्सा चालक साथीहरु लाइसेन्स, रुट, पार्किंग आदि अरु बिसयमा आफ्नो कुरा बिराटनगर यातायात प्रमुख समक्ष राखिरहेका थिए l हाल राज्यले सिटि रिक्सालाइ हाइवेमा चल्न नदिने र भित्रि बाटाहरुमा मात्र संचालन गर्नु पर्ने भनेर गरेको निर्णय अहिले बिराटनगर क्षेत्र भित्र भत्केको बाटाहरुको कारण अव्यावहारिक छ, त्यसैले तत्काल बाटो नबनुन्जेल केहि समयको निम्ति बिराटनगरको हाइवेमा सिटि रिक्सा संचालन गर्न पाउनुपर्छ भनेर एकसाथ् आफ्नो कुरा राखिरहेका थिए l साथै यातायात कार्यालयले सिटि रिक्सालाइ लिइने गरेको ट्रायल अब्यावहरिक भएको कारण त्यसमा सुधार गरिनुपर्छ भनेर पनि भनिरहेका थिए l माथिको निर्णय भएको कारण यस बिषयमा आफुले केहि गर्न नसक्ने भनेर यातायात प्रमुखले आफ्नो निरीहपन जाहेर गर्नु भयो l आफ्नो मागप्रति सुनुवाही नभए जस्तोसुकै कडा आन्दोलन गर्न पछि नपर्ने भनेर सिटि रिक्सा चालकहरु भनिरहेका थिए l डिएसपी संजय सिंहले सबै सरोकारबाला निकायहरु मिलेर यो समस्या समाधानकोनिम्ति पहल गर्नुका साथै सिटि रिक्सा चालकहरुलाइ यो समाजको जिम्मेवार नागरिक भएकोले कारण गलत कदम नउठाउनको निम्ति अनुरोध गरिरहेका थिए l धेरैबेर यातायात कार्यालयका हाकिमको कुरा सुनिसके पछि कुनैपनि ठोस नतिजा आउला जस्तो लागेन l
“कसरि समाधान होला त यो समस्या?” भनेर मैले प्रश्न राखे l “नगरपालिकाले चाहेमा यो समस्याको समाधान गर्न सक्छ, तर उसले हाम्रो कुरा नै सुन्न मान्दैन, हिजो भर्खर मात्र हाम्रो नगरपालिका घेराउ कार्यक्रम थियो, तर हामीलाई भेट गर्न समेत दिएन” भनेर रिक्सा चालकहरुले भने l नगरपालिकासंग बसेर छलफल गर्नसक्दा पो समस्या समाधानको निम्ति पहल गर्न सकिएला कि जस्तो लाग्यो l मैले तत्काललै बिराटनगर उप-महानगरपालिकाका कार्यकारी प्रमुखलाइ फोन सम्पर्क गरेर स्थिति बारे जानकारी गराए l भोलि बिहान १०:३० बजे ५-७ जना साथीहरु सहित भेट गर्ने कुरा निश्चित गरियो l यातायात कार्यालयबाट हामि बाहिरियौ, बार्तामा बसेका युनियनका साथीहरुले भोलि नगरपालिका सग छलफल भएर निचोड ननिस्कन्जेल आन्दोलनलाइ स्थगित गरेको जानकारी गराए l यो कुरा सुनेर केहि सिटि रिक्सा चालकहरुले आक्रोस पोख्न थाले l स्थिति बिग्रने देखेपछि प्रहरीहरु सबैलाइ आफ्नो पोजिसन लिएर बस्न आदेस गरियो l बार्तामा बसेका ५ वटै रिक्सा युनियनका पधाधिकारीहरुले धेरै पटक आफ्नो साथीहरुलाई अनुरोधपछि स्थिति साम्य भयो l
भोलिको नगरपालिकासंग गरिने एजेन्डा बारे छलफल गर्नको निम्ति सबै युनियनका साथीहरु विकल्पको अफिसमा ५ बजे भेला हुने निर्णय गरियो l ५ बजे बसेको भेलामा सबैले अहिलेको रुटको प्रक्रिया अव्यवहारिक रहेको र यसलाई अझ व्यवहारिक बनाइनु पर्छ भन्ने भनाइ थियो l यस नियम अनुसार हाइवेमा रिक्सा संचालन गर्न नपाइने र वर्तमान तोकिएको रुट अनुरुप व्यावसाय संचालन गर्दा धेरै घुमेर जानुपर्ने हुनाले अन्तत नागरिकहरुलाई थप समय र आर्थिक भार पार्नेछ भन्ने उनीहरुले भनाइ थियो l साथै हाल बिराटनगरको सबै बाटाहरु भत्केकोले गर्दा त्यसमा रिक्सा संचालन गर्न सक्ने अवस्था नै नरहेको कारण तत्काल बाटो नबनुन्जेल हाइवेमापनि नागरिकहरुलाइ सेवा दिन पाउनुपर्छ भनेर आफ्नो भनाइ राख्ने निर्णय गरे l
बिहान १०:३० मा नगरपालिकाको गेट अगाडी युनियनका केहि साथीहरुसंग भेट गरी कार्यकारीको कक्ष तर्फ लागियो l पियनले हामि आएको कुरा कार्यकारी अधिकृतलाइ जानकारी गराए l म लगायत अरु तीनजना साथीहरुपनि भित्र पस्न खोज्दा “एकजना तपाइँ मात्र जानु भन्नु भएको छ” भनेर पियनले जानकारी गराए l म भित्र गए र अरु रिक्सा चालक साथीहरुपनि भेट गर्न आएका छन् भनेर भनेपछि कार्यकारी ज्युले अरु साथीहरुसंग भेट नगर्ने जानकारी गराउनु भयो l मैले “हिजो म लगायत ५-७ जना साथीहरु आउछौ” भनेर भनेको कुरा जानकारी गराए l तर उहाले भन्नु भयो, “यो भन्दा अघि मैले उहाहरुसँग धेरै पटक गफ गरिसकेको छु, त्यसैले म उहाहरुसँग फेरी त्यहि कुराहरु डोर्याउन चाहन्न भनेर जवाफ दिनुभयो l धेरै आग्रह गरेपछि कार्यकारीज्युले भेट दिन मान्नुभयो l त्यसबेलासम्म अरु केहि सिटि रिक्सा चालक साथिहरुपानी आइसकेका थिए l भेटमा साथीहरुले कार्यकारी समक्ष आफ्नो कुरा राखे, तर कार्यकारीले रुट निर्धारणको कुरा सिटि रिक्सा युनियनका साथिहरुकै समझदारीमा भएको हुदा त्यस सम्झौतालाई मान्नको निम्ति सुझाब दिनुभयो l युनियनका साथीहरुले रुटको सम्झौता आफु मान्न तयार रहेको, तर हाल चौतर्फी बाटो भत्किएको अवस्थामा रुटको बाटो नबनुन्जेल हाइवेमा आफ्नो साधन गुडाइ सेवा संचालन गर्नपाउ भनिअनुरोध गरे l कार्यकारी आफु सिटि रिक्साको बिसयमा सकारात्मक हुदाहुदै पनि यातायात अथवा ट्राफिक कार्यालयले गरेको निर्णयलाइ टेक्न नमिल्ने जानकारी गराए l आफुले यस बिसयमा केहि गर्न नसक्ने भएकोले ट्राफिक अथवा यातायातमा गइ आफ्नो जुनासो राख्नको निम्ति अनुरोध गरे, साथै ट्राफिक र यातायातले यदि समस्या नगरपालिकाको तर्फबाट आएको भनेर भनेको खण्डमा आफुले जस्तोसुकै पहल गर्नको निम्तितयार रहेको जानकारी गराए l
नगरपालिकाबाट समस्याको समाधान नहुने भएपछि हामि बाहिर निस्कियौ र सबैले छलफल गरि एकपटक जिल्ला प्रसासन कार्यालय, मोरंगका प्रमुखलाइ भेटि आफ्नो कुरा राख्ने निर्णय गर्यौ l सबैजना जिल्ला प्रसासन कार्यालय पुगी सिडिओसंग भेट्नलाइ समय माग्यौ तर उहाले सिधै नगरपालिका जानु भनेर भेट दिन इन्कार गरिदिनु भयो l मैले एकपटक कुरा राख्नको निम्ति जि.प्र.का प्रमुखको कार्यकक्षमा प्रवेश गरे l उहाले सिधै नगरपालिका जाने भनेर बन्नु भयो l“बाटो रोकेर अरुलाई दुक्ख दिनेहरुसंग आफु बार्ता नगर्ने” भनेर सुनाउनु भयो l धेरै पटक अनुरोध गर्दापनि उहाले नमानेपछि बाहिर निस्किए र भित्र भएको कुरा युनियनका साथीहरुलाई सुनाए l सबै निरास भए, एकजना युनियनका पधाधिकारीले जि.प्र.का प्रमुखसंग हामि भएको ठाउबाट फोन गरि भेट गर्नको निम्ति समय माग्नुभयो र निकै अनुरोधपछि सिडिओले ५ जनालाइ मात्र भेट गर्न अनुमति दिनुभयो l म लगायत अन्य साथि बाहिरै बस्यौ र ५ जना साथीहरु १० मिनेट जति गफ गरेर बाहिर आउनु भयो l सिडिओले उनीहरुलाई बन्द र चक्काजाम नगर्ने सर्तमा आफुले तत्काल केहि समयको लागि समस्या समाधान गर्नको निम्ति ट्राफिकसंग पहल गरिदिने बचन दिनु भयो l यति भएपछि हामि सबैले बिराटनगरका ट्राफिक इनिस्पेक्टरज्युलाइ भेट गर्ने निर्णय गर्यौ र फोन सम्पर्क गरि बेलुका ४ बजे भेट्नको निम्ति समय माग्यौ l
ट्राफिक कार्यालयको प्रागणमा बेलुका ४:४५ बजे छलफल सुरु भयो, जसमा सिटी रिक्सा चालक तथा युनियनका साथीहरुले कार्यालय प्रमुख माझ अहिले भित्रि बाटो बिग्रिएको अवस्थामा बाटो नबनुन्जेल हाइवेमा आफ्नो साधन गुडाउन पाउ भनेर आफ्नो समस्या राखे l ट्राफिक इनिस्पेक्टरले हाइवेमा संचालन गर्न नदिने निर्णय माथिको आदेश भएकोले आफुले कानुनको पालना गर्नुपर्ने, तर हाल बिराटनगरको बाटोको अवस्थालाइ मध्यनजर गर्दा व्यवहारिक पक्षलाइ नजरअन्दाज गर्नपनि नमिल्ने स्थिति रहेको जानकारी गराउनु भयो l हाल रुटको बाटो नबनीसकेको अवस्थामा केहि समयको लागि हाइवेमा जथाभाबि पार्किंग र भिडभाड नगरी संचालन गर्नको निम्ति सिटि रिक्सा युनियनका साथीहरुलाई अनुरोध गर्नुभयो l यस निर्णयले केहिहदसम्म भएपनि बर्तमान समस्यालाइ समाधान गर्नको निम्ति सहजता प्रदान गर्यो l
मेहेनत गरि कमाएर खान चाहने जो कोही व्यक्तिको निम्ति राज्यले सहज बाताबरणको स्थिति तयार गर्न जरुरि छ l सो नभएमा गरि खान चाहने मानिसहरुले अनावस्यक झन्झट र समस्याहरुको सामना गर्नुपर्ने हुन्छ जसले उनीहरुलाई मेहेनत गर्नलाइ निरुत्साहित गरिदिन्छ l बाताबरण प्रदुसण र पेट्रोलमाथिको परनिर्भरतालाइ धेरै हदसम्म कम गरि यात्रुहरुलाइ छिटो र सस्तोमा सेवा पुर्याउने सिटि रिक्साले सुरुको दिन देखि नै बिभिन्न किसिमका समस्याहरुको सामना गर्दै आएको छ l बिराटनगरको हकमा सुरुमा दर्ताको समस्या टड्कारोको रुपमा रहेपनि बिराटनगर उपमहानगरपालिकाले २०७३ जेस्ठ १३ सम्म खरिद बिक्रि भएका सबै सिटि रिक्साहरुलाई दर्ता दिएर बैधानिकता प्रदान गर्यो, जसले परिस्थितिलाइ सहज बनाउन धेरै सहयोग गरेको छ l तरपनि सिटि रिक्साको लाइसेन्स, रुट, पार्किङ आदि व्यवस्थापनको बिसयलाइ लिएर समय-समयमा धेरै समस्याहरु सिर्जना भइरहेको छ l जबसम्म यी समस्याहरुलाइ उचित तबरले सम्बोन्धन गरिदैन तबसम्म कमाएर खाने मानिसहरु प्रताडित भइनै रहनेछन् l त्यसैले राज्य तथा यसका जिम्मेबार निकायहरुले व्यवहारिक नियम-कानुन र पूर्वाधार बनाइ सिटि रिक्सा चालकहरुले सहज रुपले गरिखान सक्ने बाताबरण तयार गर्नको निम्ति पहल गर्न जरुरी छ l