जीवन यो भार भो
भुल्न तिमीलाई गाह्रो भो
कसरी बुझाउँ यो मनलाई !
यो पहिलो गीतबाट संगीत क्षेत्रमा छिरेका बिराटनगरका सन्देश सुवेदी छोटो समयमै युवापुस्तामाझ लोकप्रिय भए । उनको अर्को गीत ‘पागल प्रेमी’ ले फ्यानहरुको संख्या झनै बढायो । संगीत क्षेत्रमा लागेर हाम्रो शहर चिनाईरहेका यि युवा गायक आफ्नो नयाँ एल्बम लिएर चाँडै आँउदैछन् । - सम्पादक
संयोगले संगीत उनको जीवनमा आयो र फर्किएन ।
पाँच कक्षाको नँया विद्यार्थी भएर सगरमाथा स्कुलमा आएका थिए । स्कुलमा वेलकम प्रोगाम हुँदै थियो । उनको छिमेकी साथी त्यसमा गाउँदै रहेछ । गीतको क्यासेट ट्राकहरु ल्याएको रहेछ र उनलाई पनि गाउन भन्यो । गीत गाउने भनेर नाम लेखाए । ट्राक किन्नलाई ड्याडीसँग पैसा मागे । छतमा बसेर प्राक्टिस गरे । तर कार्यक्रमको दिन गाउने पालो भने आएन । पालो आउला भनेर धेरैपटक ढुकढुक भएको मुटु स्टेज सम्म पुग्नै पाएन । कार्यक्रम सकिने वेला हुनै लागेको थियो ।
उनिहरु पालो कहिले आँउछ भनेर सोध्न गए । कार्यक्रम संचालकले भोली भनिदिए । भोलिपल्ट त्यहाँ कार्यक्रम थिएन । जिस्क्याएको नबुझेर पत्याएछन् ।
यसरी पहिलो गाँसमै ढुंगा लागेको थियो ।
र एकैछिनमा भने¸ 'सायद संचालक दाईले सहि भनेथे । मेरो गाउने पालो आँउदै मात्र रहेछ । जीवनसँगै भोकलले अलिअलि संघर्ष नगरी गीत बन्दैन पनि रहेछ ।'
त्यो घटनाले उनलाई गाउने अवसर नदिएपनि संगीतसँग चिनजान गराईदियो । अचेत संगीतको प्यासनलाई व्युँताईदियो । दोस्ती गराईदियो । दोस्ति गरेपछि निभाउनु त परिगो ।
कत्तिको परिपक्क निर्णय थियो त्यो उनलाई थाहा छैन । अहिले कहाँ पुगे भन्ने पनि हेक्का छैन । यतिमात्र थाहा छ राम्रोसँग निभायो भने साथीले धोका दिँदैन ।
'अहिलेको सन्देश सुवेदीले के सोच्छ त?' मैले यस्तो सोद्धा भने उनले लजाउँदै भने¸ म त्यहि सन्देश हुँ जो कुनैदिन स्कुलको वेन्च बजाएर साथिहरुलाई गीत सुनाउँथ्यो ।'
˖˖˖ ˖˖˖ ˖˖˖
सिमसिम पानी परिरहेको छ । मैले कीर्तिपूरबाट हिँड्ने बेला सन्देशलाई नक्सालको नागपोखरीमा भेट्ने भनेको थिँए । फोटोग्राफर सिमोन र म आँउदा पनि पानी परिरहेको थियो ।
हामी आईपुग्दा उनि नागपोखरी भित्रको बेन्चमा बसिरहेका थिए । आउटडोर ईन्टरभ्यु लिन नपाएपछि त्यहाँबाट सिधै यो क्याफेमा आईपुगेका हौ हामी ।
म सँग उनलाई सोध्नलाई प्रश्नहरु थिए । तर उनले त्यसमा खासै रुचि देखाए जस्तो मानेनन् । 'भन्ने कुरा धेरै छैनन् त्यसैले मेरो जीवनको कथा प्रश्न बिनै सुनाउन मजा लाग्छ ।' भनेर उनले भनेपछि कर गरिन । रेकर्डर लाई उनको आवाजको जिम्मा लगाएर उनलाई सुनिरहेको छु ।
˖˖˖ ˖˖˖ ˖˖˖
त्यसवेला अनिल सिंह चर्चित थिए । पप गीतको पिचमा उनले दिएको नयाँपनले नेपाली संगितलाई तताईरहेको थियो। भर्खरै गाउन थालेका सन्देशलाई त्यसले नछुने कुरै भएन । गीतहरु कण्ठस्त भए । उनका विभिन्न पोजका पोष्टरहरु कोठामा सजिन थाले । अनिलको 'परी' गीतले सबैभन्दा फेबरेट । संभबत सवैभन्दा वढिपटक गुनगुनाए होला । आगामी एल्बमको नाम पनि 'परी' नै राख्ने सोचेका छन् ।
उनै सिंहले उनलाई गीत लेख्न प्रेरित पनि गरे । डुवेर गाउन सिकाए ।
संगितको लगाव अनौठो हुन थालेको थियो र पढाईप्रति कमजोरी पनि उस्तै । त्यसको असर कहाँ पर्थ्यो भने कुनै संगीतको सामाग्री किन्दिनु भन्योभने पहिला पास हो अनि किन्दिम्ला भन्नुहुन्थ्यो घरमा । पढाईले उनको प्यासनसँग बार्गेनिंग गर्न थालेकै बेला उनलाई टेप रेकर्डरको भुत चढ्यो । लगभग २५०० पर्थ्यो त्यसलाई त्यसवेला । उनले त्यसलाई जसरी पनि किन्ने सोचे । अरु उपाय थिएन । एसएलसी पनि नदिएको मान्छेसँग दशैको वेलामा भन्दा अरुवेला त्यति पैसा हुने संभावना कम नै हुन्थ्यो । उनले उपाय निकाले ।
रिस्क थियो तर सकेमा सपना पनि पुरा हुन्थ्यो ।
बुवाको खल्तिबाट पैसा चोरे । सुरुमा हात कामेको थियो तर रेकर्डर किन्ने ईच्छा त्यो भन्दा जिद्दी निस्कियो । उनले किनेर ल्याए र घरको छतमा वसेर गीत सुन्न र रेकर्ड गर्न थाले ।
वेलुका ड्याडी घर आउनुभयो र उनलाई बोलाउँदै सिधै छतमा चढ्नुभयो । उनले रेकर्डर लुकाउनै भ्याएनन् । भेटेपछि दुनिया थरी स्पष्टिकरण दिनुपर्ने । वरु सजिलो बाटो खोजे¸ उनले त्यसलाई छतबाटै फालिदिए । त्यत्रो दुख गरेर ल्याएको रेकर्डर तीन घण्टा पनि चलाउन पाएनन् ।
तिहार आयो । देउरी खेल्नलाई गाँउका दाईहरु उनको घरमा आएका थिए । उनलाई पनि ढुलोबुवाले 'तँ गीत गाँउछस् लौ गाएर सुना' भनेर लगाउनुभयो । उनले गीत गाए¸ स्याबासी पनि पाँए । त्यो त्यही गीत थियो जुन उनले वेलकम प्रोगाममा गाउन पाएका थिएनन् ।
उनको पढाईको समस्या जटिल हुँदै गयो। स्कुलका म्याथ र साईन्सले भन्दा सजिलै गीतारका कर्डले उनको आवाज सुन्न थाले । उनि मनमनै गीत रच्न¸ संगित भर्न र गाउन थालिसकेका थिए । गीतहरु सुन्ने लत झन्झन् कडा । स्कुलको क्लासमा पनि हेडफोनमा गीत सुनिरहेका हुन्थे । एकदिन सरले खोसेर चुडाईदिनुभयो । उनि रिसाए र निस्किएर स्कुलको गाडीको सिसा नै फोरिदिए ।
सँजाय पाईरहने बानी भएकाले डर कम हुन थालिसकेको थियो । उनलाई स्कुलको ‘व्याड ब्वाई” हुनलाई पनि अफ्ट्यारो लाग्न छोड्यो ।
एसएलसी सकेर उनि काठमाण्डौ आए ।
साधना कला केन्द्रमा संगीत सिके । तर त्यहाँ आधिकारिक रुपमा संगीत सिक्न थाल्नुअगाडी नै उनले चार पाँच वटा गीतहरु तयार गरिसकेका थिए । गीतार सिकाउने सर प्रकाश लेप्चालाई उनले ति गीतहरु सुनाए । उहाँले हौसला दिएपछि रेकर्डिंग भयो । ती गीतहरु सरले नै एरेन्ज गरिदिए । गीत रेकर्ङिंग गर्दै गर्दा उनले बिराटनगरकै छिमेकी दाईलाई पनि संझिए जसको कर्डहरु हेरेर उनले गीतार बजाउन सिकेका थिए । र साथीहरु संझिए जसले घरमा भएको गीतार उनलाई बजाउन दिन्थे ।
सपना पुरा हुने वेला देख्न सघाउने मान्छेहरु याद आँउछन् ।
पहिलो गीत 'जीवन यो भार भो' त्यसवेलै रेकर्ड भयो । 'जँहामन' एल्बमबाट । शव्द, संगित र स्वर आफैले दिए । त्यहि गीतले उनलाई बिराटनगर सहित पूर्वमा चिनायो ।
'गीतको शव्दसँग जीवनका घटना पनि मिल्छन् कि?' मैले सोधेँ ।
उनि फेरी लजाए र भने¸ 'अलिअलि त मिलिहाल्छ नि । तर त्यो सुरु नभई सकिएको प्रेमकथा थियो ।'
पहिलोपटक स्टुडियो छिर्दाको अनुभव झन् गज्जवको छ । उनको गहिरो ईच्छा पुरा हुन लागेको क्षण थियो त्यो । उनलाई गाउनु थियो । तर स्टुडियो छिर्नासाथ वेस्सरी डराए । सुनाउँदै भने¸ 'म काँपेको देखेर सरहरु पनि छक्कै पर्नुभएका । मैले पछिसम्म पनि स्टुडियोको नाम भुतबंगला राखिदिएको थिँए ।'
˖˖˖ ˖˖˖ ˖˖˖
बाहिर झरि झनै बाक्लिँदै छ । उनि छेउको सिसाबाट घरिघरी बाहिर हेर्छन् । बोल्दै गर्दा अनुहारमा भिन्दाभिन्दै भाव पोख्छन् । कुनै गहिरो पिडा बोकेजस्ता भने कुनै सहज खुशी पोतेजस्ता । फरक फरक सन्देशलाई एकैपटक सुन्दै छु म ।
उनले भनेका र्यान्डम कथाहरु मैले सुन्न चाहेजस्ता कुनैकुनै विषयहरुको नजिकै पुगे र फर्किए । मलाई तिनको बारेमा पनि जान्नुथियो । त्यसैले सुरुमै भनेको थिँए¸ 'म सन्देशलाई चिन्न आएको हुँ चिनाउनु ।'
उनलाई सहज होस् भनेर केहि प्रश्नहरु पनि गरे मैले ।
˖˖˖ ˖˖˖ ˖˖˖
उनले बिराटनगरमै हुँदा एकदिन बाटोमा 'भ्वाईस अफ टिन' कार्यक्रम भईरहेको पोष्टर देखे । जान मन भयो तर त्यसको फर्मालिटी थियो जुन घरमा बताउन सहज थिएन । उनलाई स्कुल पनि जानुथियो । अडिसनको दिन स्कुल गए र टिफिन समयमा पर्खाल नाघेर भागे । राती आठ बजे गाउने पालो आयो ।
भोलिपल्ट स्कुल जाँदा पो थाहा भयो साप्ताहिक पत्रिकामा पूर्वाअण्चल तेस्रो भएको भनेर नाम आएको रहेछ । प्रिन्सिपलले हातमा बोकिरहनुभएको रहेछ समाचार ।
अन्तिम तीनमा गाँउदा उनले गाँउदै गरेको गीतको शब्द भुले । जित्न सकेनन् । पछि त्यसका निर्णायक राजु सिंह र रामकृष्ण ढकाल आएर हौसला दिँदै संगीतमा लागिरहन सुझाएका थिए ।
संगीतमा लागेर धेरै समस्याहरुसँग जुधेका छन् उनि । परिवारको सहयोग नभएको हैन तर उनिसँगैका साथिहरुले गरेको प्रगतीलाई हेर्दा उनि जहाँको त्यहिँ रहेजस्तो देखिन्थे । आफैलाई पनि अफ्ट्यारो लाग्थ्यो¸ अहिले पनि लाग्छ । उनले गरिरेहको संघर्ष सवैले बुझ्न सक्ने कुरा पनि भएन । सकेको साथ दिए पनि भित्र कतै उनको लागी परिवार चिन्तित भएको उनले वुझेका थिए । तर संगितलाई छोडेर कतै लैजान भने कतै पनि जान सकेनन् । चिन्ता हुँदा गीतारका हार्ड कर्ड बझाईरहे । भुत्भुताएर बाटोमा हिँडिरहे ।
उनलाई भने सँधै लागिरह्यो केहि त उनको आवाजले पर्खिरहेकै छ । र धेरै शव्दहरु छन् जो उनको आवाज पर्खिरहेछन् । उनि सवैलाई फिल गरेर निभाउन चाहान्छन् ।
यस्तो हुन चाहान्छन् कि परिवारले गर्व गरोस् ।
उनको अर्को गीत 'पागल प्रेमी' झनै चर्चित भयो । म्युजिक भिडियो पनि बन्यो । उनि आफैले खेले । रमाईलो अनुभव थियो त्यो । उनको लजाउने बानीले भने निर्देशकलाई सारै गाह्रो पारेछ ।
त्यो गीत युट्युवमा रिलिज भएपछिको एउटा घटना । नँया बानेश्वरमा ट्राफिक जाम थियो । गल्तिले उनको बाईकले बाटोको लेन क्रस गरेपछी प्रहरी उनितिर आँउन थाले । उनलाई फसियो जस्तो लाग्न थालिसकेको थियो । त्यत्तिकैमा दुईजना अपरिचित युवतीहरु 'सन्देश' भन्दै उनि तिर आए र सेल्फी खिचेर फर्किए । प्रहरीले उनलाई केहिपनि गरेन ।
पागल प्रेमीले धेरै फ्यान फलोईङ बढाएको जस्तो लाग्छ उनलाई ।
दिनहुँजसो सामाजिक संजालमा उनलाई डेडिकेट गरेर म्यासेजहरु आईरहन्छन् । जुनियर भाईहरुले पनि उनि आफ्नो प्रेरणाको स्रोत हो भन्छन् रे त्यसले उनलाई नँया उर्जा दिदो रहेछ । भन्छन् 'म कहिल्यै नपुगेको ठाँउबाट पनि तपाईको फ्यान हुँ भनेर भेट्न आउनुभएको छ केहि फ्यानहरु । कतिले गिफ्ट पनि पठाउनुहुन्छ ।'
घरको महत्व उनले काठमाण्डौमा आएर होस्टल बस्न थालेपछि झनै बुझे । उनका साथिहरु जस्तो लाईफस्टाईलमा वस्न उनि सकिरहेका छैनन् । गीतको रेकर्डिंग गर्न महंगो नै पर्छ । म्युजिकबाटै कमाउने अवस्था नवनिसकेको हुँदा परिवारले ने सपोर्ट गर्नु परिरहेको छ । उनले दुईपटक ल्यापटप किन्न भनेर परिवारबाट पैसा मागिसके तर अहिलेसम्म किनेका छैनन् । रेकर्डिंग र भिडियोमै सकिरहेका छन् । तर त्यसमा खासै गुनासो छैन उनलाई भन्छन् 'उतै बसिरहेको भए संघर्ष गर्न पनि त जान्दिन थिँए ।'
र संघर्षको कथाहरु सिनियर दाईहरुबाट पनि सुनेका छन् उनले । अहिले नेपाली संगितका चर्चित नामहरुले पनि उनले जस्तै संघर्ष गरेका रहेछन् । त्यसैले पनि प्रेरित छन् ।
उनि गीतारलाई सवैभन्दा वढि माया गर्छन् । उनि बस्ने गरी कतै गए भने पनि त्यसलाई छोड्दैनन् । गीतारलाई उनले र उनलाई गीतारले वुझेको छ । उनको मनको संगीत चुपचाप कम्पोज गरिरहेछ । दोस्ती मिठो छ ।
उनले भर्खरै 'मरिना' फिल्मको एउटा गीतमा संगित भरेका छन् । साथै उनको नयाँ गीत 'मुना मदन' चाँडै आँउदैछ ।
˖˖˖ ˖˖˖ ˖˖˖
पानी थामिएको छ । साँझ पनि पर्दैछ । सन्देशले धेरै कुरा सुनाईसकेका छन् । म सँग केहि प्रश्नहरु अझै छन्:
'संगीतले के दियो त?'
'यहि दियो भन्ने त के होला र? खुशी दियो । दु:ख पोख्ने माध्यम दियो । मलाई हिजोसम्म नपढेको भनेर गाली गर्ने¸ नराम्रो भन्ने सर म्यामहरु आज मलाई भेट्दा बोलाउनुहुन्छ, माया गर्नुहुन्छ । पढ्न नसकेकोमा पछुतो लागेको छैन । धेरथोर मान्छेले चिनेर बोलाउनुहुन्छ । भाईवहिनीहरु प्रेरणाको स्रोत हो भन्दिन्छन् । यस्तै हो ।'
र अन्तिम प्रश्न गरेँ ।
उनि थोरै भावुक भए । झट्टै उत्तर दिन सकेनन् । कसैसँग धेरै कृतज्ञ हुँदा कहिलेकाँहि केहि कुरा सुनाउन नसके जस्तै हुन्छ नि त्यस्तै । मैले जवाफ पर्खिँए ।
'जव जव संगीतले केहि दिएन¸ परिवारलाई केहि गर्न सकिन जस्तो लागेर चिन्तित हुन्छु वहिनीको त्यहि कुराले झक्झक्याउँछ । उ वेलावेला भनिरहन्छे¸ 'दाई घरमा जे जे भएपनि मिल्दै जान्छ¸ तैले म्युजिक नछोड् । तँ सुपरस्टार हुनलाई होस् वुझिस् ।'
र अन्तिममा थपे¸ 'मलाई बहिनीको लागीनै भएपनि संगीतमा धेरैथोक गर्नुछ ।'
Twitter: @skyasesh