जसरी पनि उम्कन्छन् यातायातका बिचौलिया

<span class='c1'>जसरी पनि उम्कन्छन्</span> <span class='c2'>यातायातका बिचौलिया</span>

विराटनगर । गत हप्ता मोरङ प्रहरीमा एउटा सूचना आयो । यातायात व्यवस्था कार्यालय, विराटनगरमा बिचौलियाले हैरान पारे, यो नियन्त्रणको कुनै उपाय थियो की ?! सेवाग्राहीको यो गुनासोपछि प्रहरीले बिचौलियाले गर्ने दैनिकी बारे निगरानी बढाएको थियो ।
प्रहरीले कार्यालयमा बिचौलियाको काम गर्दै आएका व्यक्तिहरुमाथि निगरानी बढाउँदा सार्वजानिक सेवा प्रवाहको कार्यालयमा अनाधिकृत व्यक्तिको हस्तक्षेप र प्रभाव देखिएको थियो । त्यसपछि १२ जनालाई नियन्त्रणमा लियो । शुक्रबार नै उनीहरुलाई नियन्त्रणमा लिएपनि त्यसको सार्वजानिक जानकारी भने सोमबार मात्रै दियो । विराटनगर खार्जीस्थित यातायात व्यवस्था कार्यालयमा जगजगी चलाईरहेका बिचौलिया प्रहरी नियन्त्रणमा परेपनि अनुसन्धान गर्नसमेत नभ्याई छुटिहाले ।

सेवाग्राहीलाई ठगी गरेको गुनासोपछि निगरानी गरेर प्रहरी पक्राउ गर्न पुग्दा उनीहरुले झण्डै हातपात नै गरे । प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहार कसुरमा अनुसन्धान गरेर मुद्दाको प्रक्रिया बढाएको थियो । जिल्ला सरकारी वकिल कार्यालय मोरङले हाजिरी जमानतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दियो । पक्राउ परेकाहरुको मुद्दा रहेपनि अनुसन्धान गर्न नपाउँदै छोड्नु परेपछि सेवाग्राहीको गुनासो अनुसार त्यहाँ भित्रको चलखेल बारे प्रहरीले बुझ्नै पाएन । सेवाग्राहीले बिचौलियाले गर्ने अभद्र व्यवहार सहन नसक्ने अवस्था आएको भनेर प्रहरीमा गरेको गुनासोका सम्बन्धमा घटनाको प्रकृति राम्ररी बुझ्न नपाउँदा फेरी उहि प्रकृतिको स्थिति हुने आशंका उनीहरुले गरेका छन् ।

मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार कसैले सार्वजानिक स्थान वा प्रवेश गर्न कानुनी अधिकारी नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजानिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । यदि कसैले यो विपरित कार्य वा व्यवहार गरेमा एकवर्षसम्म कैद, दस हजार जरिवाना र दुवै सजाय हुने व्यवस्था छ ।
यातायात व्यवस्था कार्यालय सार्वजानिक स्थान हो । त्यहाा बिचौलियाको प्रवेश र सेवाग्राहीलाई हैरानी पार्ने कार्य पनि अभद्र व्यवहारमा पर्दछ । मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले अनुसन्धानकै क्रममा उनीहरुलाई हाँजिरी जमानतमा छोड्नु परेको बताए । उनले भने जिल्ला सरकारी वकिलको कार्यालय मोरङले उनीहरुलाई बाहिरै राखेर अनुसन्धान गर्नु भन्ने आदेश अनुसार छोड्नु परेको बताए ।

जिल्ला सरकारी वकील कार्यालय मोरङका जिल्ला महान्यायधिवक्ता नवराज पराजुलीले प्रमाण लोप हुने आधार नदेखिएकोले उनीहरुलाई हाजिरी जमानतमा राखेर अनुसन्धान गर्ने आदेश भएको बताए । उनले मुद्दा विचराधीन नै रहेपनि प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्ने मात्रै रहेकोले व्यक्तिको अधिकारलाई सम्मान गर्दै छोडेन आदेश गरिएको बताए ।

प्रहरीले यातायात व्यवस्था कार्यालय, विराटनगरमा बिचौलियाको रुपमा काम गरेको भन्दै पक्राउ पर्नेहरुमा महानगरपालिका–३ का ४१ वर्षीय सञ्जीव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरवकुमार माझी, ३७ वर्षीय राजु कोइराला, सुनसरी दुहबी नगरपालिका–११ का २७ वर्षीय युवराज लम्साल, विराटनगर महानगरपालिका–५ का ३१ वर्षीय अनिल बस्नेत, विराटनगर ४ का २२ वर्षीय राजीव मण्डल, सुनसरी बर्जु ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार, मोरङ कटहरी–१ का ३७ वर्षीय भागवत राजबंशी, बुढिगंगा– २ का ५० वर्षीय उदय कार्की, बुढिगंगा–१ का २१ वर्षीय सुनिल दाहाल र विराटनगर ३ का २९ वर्षीय अजयकुमार मण्डल रहेका थिए ।

प्रहरीका प्रवक्ता जोशीले सार्वजानिक सेवाप्रवाहका कार्यालयमा सेवाग्राहीलाई हैरान पार्नेहरुको मुद्दा अनुसन्धानमै रहेको र थप प्रमाणका लागि निगरानी पनि जारी रहेको बताए । अनुसन्धानको हदम्याद २४ दिन हुन्छ । अभद्र व्यवहार कसुर जिल्ला प्रशासन कार्यालयबाट टुङ्गिन्छ ।

विराटनगरको खार्जीस्थित यातायात व्यवस्था कार्यालयले सेटिङमा काम गर्ने गरेको आरोप लगाउँदै दुईदिन अगाडी सगरमाथा ड्राइभिङ्ग सेन्टरका सञ्चालक मातृकाप्रसाद निरौलाले पत्रकार सम्मेलन नै गरेर गुनासो राखेका थिए । उनले पत्रकार सम्मेलन गरेपछि कार्यालयका मेन बिचौलिया भने भारततर्फ लागेको बताइएको छ । निरौलाले पत्रकार सम्मेलनमा यातायातका प्राविधिक कर्मचारी सुनिल जैसवालको नाम नै किटान गरेर सेटिङ मिलाउने गरेको आरोप लगाएका थिए । तर, जैसवालले त्यस्तो हुने नगरेको भन्दै आफ्नो नाम जोडिएकोमा गुनासो गरेका छन् । उनले पत्रकार सम्मेलन गरेर आरोप लगाउने व्यक्ति आफ्नो ड्राइभिङ्ग सेन्टरमा प्रशिक्षण लिएकाहरुलाई जसरी नि पास गराउनु पर्ने दवाव दिने गरेको पनि जैसवालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2