कल्पना पौडेल
नेपाल कीटजन्य रोगको उच्च जोखिममा रहे पनि नियन्त्रणका लागि जनशक्तिको अभाव छ । सरकारले कीटजन्य रोगको नियन्त्रणका लागि हरेक क्षेत्रीय अस्पतालमा दरबन्दी कायम गरे पनि हेटौँडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबाहेक अन्य अस्पतालमा विज्ञको दरबन्दी खाली छ । केन्द्रमा पनि पारासाइटोलोजिस्ट, भेक्टर कन्ट्रोल अधिकृत, सहायक इन्टोमोलोजिस्टलगायतका पद खाली नै छन् ।
पछिल्लो समय विश्वमा मानिस एक देशबाट अर्को देशमा ओहोरदोहोर गरिरहन्छन् । यस क्रममा यी मानिसले आफूसँगै आफ्ना देशमा भएका रोगलाई बोकेर आउँछन् र उनीहरुलाई लामखुट्टे वा अन्य जीवले टोक्दा रोगका जीवाणु सर्ने खतरा बढ्छ । २०१५ सालमा औलोको महामारी फैलिएपछि औलो उन्मूलन सङ्घ स्थापना भएको थियो । बाहक जीवाणु (भेक्टर), विषाणुको स्वभावमा परिवर्तनका कारण औलोबाहेक कालाज्वर, जापानिज इन्सेफ्लाइटिस, डेँगु, हात्तीपाइलेजस्ता कीटजन्य रोगको प्रकोप बढ्दै गएपछि २०५४ साल जेठ मा सरकारले एकीकृत रुपमा कीटजन्य रोगको अनुसन्धान तथा तालिमका लागि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्याे ।
देशको जुनसुकै स्थानमा कुनै कीटजन्य महामारी फैलियो भने केन्द्रबाटै टोली खटिनुपर्छ । सम्बन्धित जिल्लामा यससम्बन्धी जानकार व्यक्ति नहुँदा अनुसन्धानमा समस्या हुने गरेको छ । पछिल्लो समय नेपाल कीटजन्य जीवबाट हुने १० प्रकारका रोगको उच्च जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । नेपालका एक मात्र कीटविज्ञ (इन्टोमोलोजिस्ट) शिशिरकुमार पन्तले जनशक्ति नहुँदा कीटजन्य रोगको प्रकोपका बेला जता पनि आफैँ मात्र खटिनुपर्ने भएकाले थप जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।
उनले नेपालमा कालाज्वर, जापानिज इन्सेफ्लाइटिस, डेँगु, चिकनगुनिया, वेस्ट नाइल भाइरस, हात्तीपाइले, स्क्रब टाइफस, जिका भाइरस, प्लेग, टाइफाइड, हैजा र आउँ रोगको जोखिम रहेको जनाए। यी रोगमध्ये धेरै रोग एडिस नामक लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टे नियन्त्रण आवश्यक रहेको उनको सुझाव छ । भुसुना, लामखुट्टे तथा मुसाबाट सर्ने घातक रोगको नियन्त्रणका लागि आवश्यक बजेट नहुँदा कार्यक्रम गर्न नसकिएको डा. मरासिनीको अनुभव छ ।
नेपालमा बढ्दो अव्यवस्थित सहरीकरण र त्यसबाट उत्पादित फोहरका कारण लामखुट्टेको बढ्दो विकासले यस्ता रोगको जोखिम बढाएको हो । मध्यमाञ्चल स्वास्थ्य निर्देशनालयका निर्देशक डा. वासुदेव पाण्डे बढ्दो कीटजन्य रोगको फैलावका कारण केन्द्रलाई केन्द्रीय संरचनाभित्र राखी यसको कार्यक्षेत्र विस्तार गर्नुपर्ने औँल्याउँछन् । यसका लागि पनि जनशक्ति आवश्यक छ । डा. मरासिनी भन्छन्, ‘उपत्यका र बढी गर्मी हुने तराईका जिल्लामा बिनायोजना बढिरहेको सहरीकरणका कारण फोहरमैलाको व्यवस्थापन हुन नसक्दा ठूला रोग फैलाउने लामखुट्टेको पनि वृद्धि भइरहेको छ । जसले रोगको खतरालाई अझ बढाएको छ ।’
काठमाडौँ, पोखरा, चितवन, भैरहवा, नेपालगन्ज, वीरगन्ज, विराटनगरजस्ता ठूला सहरमा बढ्दो जनसङ्ख्यासँगै कीटजन्य रोगको जोखिम पनि उच्च छ । समयमै यस्ता रोग नियन्त्रणका लागि कार्यक्रम नचलाउने हो भने यी रोग महामारीका रुपमा कुनै पनि समय फैलने खतरा रहेको कीटविज्ञ पन्तको भनाइ छ । नेपालमा कीटजन्य रोग जनस्वास्थ्य समस्याका रुपमा देखा परेकाले नियन्त्रण र निवारणका लागि सोही अनुसार जनशक्ति उत्पादन गर्नुपर्ने उनको सुझाव छ । संक्रमित रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सार्न सक्ने यस्ता जीवित जीवमध्ये धेरैजसो रगत चुस्ने कीट हुन्छन् । यसमा पनि लामखुट्टेले धेरै रोग सार्छ । सुलसुले, उपियाँ, झिँगा, भुसुना, किर्ना, उडुस आदिले पनि कीटजन्य रोगको खतरा बढाएका छन् ।
नेपालमा एसिड नामक लामखुट्टेबाट डेँगु, चिकनगुनिया, चाँदीपुरा भाइरस, मलेरियाजस्ता डरलाग्दा रोगको खतरा छ । यसैगरी भुसुनाको टोकाइबाट कालाज्वर र मुसाको टोकाइबाट हुने स्क्रब टाइफस, प्लेगजस्ता डरलाग्दा ३७ रोगको खतरा रहेको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
बढ्दो गर्मीसँगै लामखुट्टे पनि सक्रिय हुने भएकाले यसको टोकाइबाट बच्नु नै सबैभन्दा उपयुक्त उपाय भएको चिकित्सकहरु बताउँछन् । त्यसका लागि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले जुनियर कीटविज्ञ उत्पादन गर्ने काम गरिरहेको छ । गर्मीको सुरुवातसँगै यस्ता रोग बढ्ने भएकाले जोखिमपूर्ण जिल्लाका स्वास्थ्यकर्मीलाई हेटौँडामा लामखुट्टेको जाँच गर्ने र अनुसन्धान गर्ने विधिबारे तालिम दिइरहेको पन्तले जनाए । लामखुट्टेको टोकाइबाट बच्न साँझमा घरबाहिर नबस्ने, लामा बाहुला भएका लुगा लगाउने, हातगोडामा तोरीको तेल लगाउने, राति सुत्दा झुल टाँगेर सुत्ने तथा घरवरपर पानी जम्ने खाल्टाखुल्टी भएमा पुर्नेजस्ता उपाय अपनाउन चिकित्सकहरु सुझाउँछन् ।
यीबाहेक पनि सरकारी तवरबाट लामखुट्टे नियन्त्रणका लागि सहरमा ढलको उचित व्यवस्थापन तथा कीटजन्य रोग नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम गर्न आवश्यक छ ।