तीर्थयात्रीहरू चढेको बस नदीमा खस्दा २१ जनाको घटनास्थलमै मृत्यु

तीर्थयात्रीहरू चढेको बस नदीमा खस्दा २१ जनाको घटनास्थलमै मृत्यु

भारत इन्दौरका तीर्थयात्रीहरू चढेको बस गंगोत्री धामबाट फर्किने बेला गंगोत्री राजमार्गको नालूपानीनजिकै भागीरथी नदीमा खस्दा २१ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सात जनालाई सुरक्षित उद्धार गरेर उत्तरकाशीको जिल्ला अस्पतालमा भर्ना गरिएको छ । दैनिक भास्करको समाचारमा उल्लेख गरिएअनुसार दुई जना यात्री बेपत्ता छन् ।
मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई तत्काल राहतस्वरूप दुई–दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंहले समेत दुर्घटनामा मृत्यु  हुनेका परिवारजनलाई एक एक लाख र घाइतेहरूलाई ५०–५० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।
तीर्थयात्रीहरू चढेको उक्त बस १२ मईमा बेटमाबाट हिँडेको थियो । बसमा बेटमा र नालछाका यात्रीहरू थिए । मंगलबार बिहान गंगोत्री धामको दर्शन गरिसकेपछि यो बसका ५७ जना तीर्थयात्रीहरू दुईवटा बसमा बाँडिएर केदारनाथ धाम जाँदै थिए । एउटा बसमा ड्राइवर र कन्डक्टरसहित ३१ जना यात्री थिए भने अर्कोमा ३० जना थिए । दुइटै बस अगाडि पछाडि हुँदै हिँडिरहेका थिए । समाचारअनुसार साँझ करिब छ बजे ३० यात्री रहेको बस उत्तर काशीबाट २५ किलोमिटर टाढा ऋषिकेशतर्फको बाटोमा ३०० मिटर तल खोँचमा खस्यो र बसमा रहेका केही यात्रीहरू भागीरथीमा खसे । डरलाग्दो मोडमा सन्तुलन बिग्रिँदा बस दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्