शोभा बजगाई -
प्रत्येक वर्षको मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा विश्व भरी मनाईन्छ । कोपोहेगनमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलनमा जर्मनका क्लारा जेटकिनले महिला दिवस मनाउने प्रस्ताव १९१० मा राखेपश्चात् विश्वभरी कै महिला एक हौं भन्दै महिलाहरुको आर्थिक, सामाजिक र राजनीतिक अधिकारका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउदै आएको छ । १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि अघिल्ला वर्ष झैं “आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ग्रामिण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण” भन्ने नाराका साथ कार्यक्रमहरु गरिदैछ । आफ्नो देशको अवस्था र परिस्थितीलाई मध्यनजर गर्दै नेपालले पनि प्रत्येक वर्ष यस दिवसलाई धुमधामका साथ मनाउने गरेको छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्था, नागरिक समाज, टेड युनियनहरू र श्रमिक महिलाहरूले यो दिवसलाई संयुक्त रुपमा मनाउने गरेका छन ।
म्ुालुक नयाँ संरचनामा गइसकेको छ । देशले राजनैतिक रुपमा ठूलो फड्को मारेको छ । संविधानको घोषणापछि संविधानमा व्यवस्था भए अनुसार तीनै तहको निर्वाचन सम्पन्न भएसंगै नेपालमा राजनीतिक संक्रमण कालको पनि समाप्ति भएको छ र यस परिवर्तनले स्थानिय सरकार हरेक तहमा पुगेका छन् । एकातिर २० वर्ष पश्चात हामि नागरिकले जनप्रतिनिधि पाएका छौ भने अर्कोतिर चुनावि दौरानमा मतदाता समक्ष गरेका प्रतिवद्धता लाइ पूर्णता दिनु स्वयं जनप्रतिनिधिलाइ निकै ठूलो चुनौति बनेको छ । गाउँ गाउँमा धमाधम हुदैगरेका विकास निर्माणका कामहरु जनचाहना पूरा गर्न नै भएका हुन । तर भौतिक विकासलाइ मात्र विकासको सुचकको रुपमा लिने आम मानसिकताले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि आधार खडा गर्न सक्छ सक्दैन भन्ने प्रश्नको जवाफ हामि आफैले खोज्ने समय आएको छ । यो परिपाटिको अभ्यासबाट क्रमिक रुपमा हामि सबैले बाहिर निस्कनु जरुरि छ । सामाजिक विकास र मानविय विकासलाइ पछाडि राख्दा पक्कै पनि विकासको पूर्ण परिभाषा हुदैन । विकास सग प्रत्यक्ष सम्वन्ध राख्ने श्रम त्यसमा पनि महिलाको श्रमलाइ राज्यले न्याय गर्न सकेको अवस्था छैन । जसलाइ महिला शशक्तिकरण ठूलो बाधकको रुपमा लिइन्छ ।
विकासको परिभाषा अनुसार अनौपचारिक क्षेत्र भन्नाले साच्चि नै थोरै आयश्रोत भएका, श्रमको निश्चितता नभएका र सुरक्षित, मर्यादित र आधारभुत श्रम प्राप्तिको लागि पहुँच नभएका व्यक्तिहरु नै अनौपचारिक श्रमिकको परिभाषा भित्र पर्दछन । अनौपचारिक श्रमिक भन्नाले श्रमिकको दायरामा ल्याउन नसकेका श्रमिक जो राज्यको नीति अनुरुप उनीहरुको आयश्रोत कर प्रणाली भित्र पर्दैन र सरकारी तहबाट हुने कुनै पनि प्रकारको नियमन तथा अनुगमन गर्ने आधिकारीक निकाय हुदैन त्यस प्रकारका श्रमलाइ अनौपचारिक श्रम भनिन्छ । जसमा मुख्यतया घरेलु श्रम,कुषि मजदुर,निर्माण क्षेत्र, साथै मनोरञ्जन क्षेत्र रहेको पाइन्छ । जसले अर्थतन्त्रको ठुलो हिस्सा ओगटेको छ । नेपालको सन्दर्भमा कुषि क्षेत्रमा काम गर्ने श्रमिकहरुले अनौपचारिक क्षेत्रको ठुलो हिस्सा ओगटेका छन्, भने मनोरञ्जन क्षेत्र, निर्माण क्षेत्र,घरेलु श्रम लगायतका क्षेत्रमा पनि महिला श्रमिको संख्या उल्लेख्य मात्रामा रहेको तथ्याङ्गले देखाउछ । तर महिलालाइ हेर्ने विभेदकारी दुष्टिकोण र विद्यमान सामाजिक संस्कृतिक परम्पराका कारण महिलाले गर्ने घरेलु कामलाई सेवामूलक कामको रूपमा मात्र लिइएको छ भने अन्य क्षेत्रको श्रमलाइ पनि मर्यादित श्रमको रुपमा अंगिकार गरेको अवस्था छैन । जसको फलस्वरूप महिलाकोे श्रमको मूल्याङ्कनको वातावरण निर्माण हुन सकेको छैन । महिला श्रमिकहरू अझै पनि बिभेदित नै छन् । ज्यालामा विभेद छ भने महिलाको स्वतन्त्र रुपमा काम गर्न पाउने अधिकार कुण्ठित हुनुको साथै महिलाले गर्ने श्रमको सामाजिक र आर्थिक रुपमा गणना समेत हुन सकेको छैन । श्रमिक महिलाले आफूले चाहेको र रोजेको काम सम्मानपूर्वक गर्न सक्ने अवस्था छैन । महिलाको श्रमलाई हेर्ने फरक दृष्टिकोणका कारण महिलाहरूमाथि श्रम शोषण र यौन शोषण भइरहेको छ । यि क्षेत्रमा हाल सम्म कुनै पनि श्रमिक महिलाको न त सामाजिक सुरक्षा छ न त कानुनी सुरक्षा नै ।
विशेषतः अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिहरुको संख्या बढ्नुका मुख्य कारणहरुमा औपचारिक श्रम नियुक्त गर्ने प्रक्रिया कठिन हुनेगरेको जसमा महिलाको पहुँच पुग्न नसक्नु,बढ्दो गरिवि, राजनैतिक र आर्थिक अस्थिरताका कारणले विदेशिने क्रम बढ्नु,न्युनतम मुल्यका वस्तु तथा सेवाको मागमा वृद्धि हुनु,प्राविधिक शिक्षाको अभाव र सिपमुलक तालिमको उपलव्धतामा कमि लगायतका छन । विश्व वैङ्ग २०१२ को प्रतिवेदन अनुसार एक तिहाइ भन्दा बढि आर्थिक गतिविधिको औपचारिक अभिलेखनको सम्यन्त्र नभएको अवस्था छ । जसमा सिङ्गो कुषि क्षेत्र पर्दछ । त्यसैगरि अन्य गैह् कुषि र कानुनि रुपमा श्रमको मापदण्ड भित्र नपर्ने गतिविधिहरु पर्दछन । जसले सम्पूर्ण अनौपचारिक क्षेत्रको श्रमलाइ प्रतिनिधित्व गर्छ । श्रम ऐन २०७४ ले केही हद सम्म अनौपचारिक श्रमलाइ औपचारिक दायरामा ल्याउने प्रयास गरेको छ । तर व्यवहारीक कार्यन्वयनको पाटोमा यो व्यवस्था नै पर्याप्त छैन । आम नागरिक, सरोकारवाला निकाय र अधिकारवाला निकायमा समान बुझाइको खाँचो छ । जनचेतना र हरेक क्षेत्रमा निरन्तर खवरदारी गर्दै श्रमिकको हितको पक्षमा पैरवी जरुरी छ ।
अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको ठुलो संख्या महिलाको रहेको भएतापनि उक्त श्रमको योगदानलाइ कदर गरेको अवस्था छैन । प्रत्यक्ष रुपमा आय नहुने काम महिलाको नै हो भन्ने मानसिकता व्याप्त रहेको छ हाम्रो समाजमा । जसलाइ कम पारिश्रमिक दिदा पनि हुन्छ बढि मुल्य दिनु पर्दैन भन्ने मान्यता अझै छ । यसलाई निर्मुल गर्न कठिन पनि छ । परिवार र समाजमा अनौपचारिक श्रमिकको बहुमुल्य योगदानका बारेमा जनचेतनामुलक अभियान र आफ्नो जीवन माथि नियन्त्रण राख्न सक्ने आत्मविश्वास र शक्ति प्रदान गर्ने परिवर्तन मुलक कार्यक्रम समुदायमा गर्न जरुरि छ । समानता र सामाजिक न्यास सहितको समाज तवमात्र सम्भव छ जव महिलाको श्रमको निसर्त सम्मानको वातावरण बन्छ । श्रमिक महिलाहरुले आफ्नो अधिकारका प्राप्ति निम्ति आवाज उठाएको इतिहाँस बोकेको अन्तर्राष्ट्रि«य श्रमिक महिला दिवसको हामि सबै श्रमिक महिला लाइ शुभकामना ।