विराटनगर । बिहीबारबाट होली सुरु हुँदैछ। विराटनगरमा होलि भित्रिएसँगै बजारमा चहलपहल बढेको छ। होलिको सिजन भएकोले बजारमा होली खेल्दा लगाउने पोशाकले बजार सजिएको छ ।
होलीकै पोशाकका कारण पनि विराटनगर रंगिन देखिरहेको छ । अन्य समय सुनसान देखिने बजारमा चहलपहल समेत देखिन्छ । विभिन्न प्रकारका पोशाक र खेलाउनाहरुले बजारलाई रंगिचंगि बनाएको छ। विराटनगरका स्थानिय नागरीकहरु समेत होलीका लागि आवश्यक पर्ने विभिन्न सामाग्रीहरु खरीदमा व्यस्त देखिन्छन् । बालबालिका देखि युवाहरु होलिकोे दिनकालागि कपडा खरिद गर्न थालेका छन् ।
सेतो रंगको कपडामा विभिन्न प्रकारका रंगको चित्र र होली लेखिएको आकर्षक टिसर्टहरु बजारमा जताततै राखिएको छ । बालवालिकादेखि युवाहरुले विभिन्न जनावरको टाउको को आकृति भएको मुकुट समेत लगाउन रुचाउछन्। व्यावसायिहरुले जोकरको मुकुट र फरक फरक जनावरको आकृति भएको मुकुट पनि बिक्रीका लागि राखेका छन् ।
५५ वर्षिय व्यापारी सम्भु रौनियारले होली खेल्न प्रयोग गरीने पिचकारी देखि लगाउने कपडाहरुको बिक्री राम्रै हुने गरेको बताए । उनले समय अनुसार होली खेल्ने परम्परामा समेत नयाँपन थपिएको छ । फेसनको रुपमा होलीको कपडा लगाउने चलन भित्रिएपछि धेरैले यस्तो कपडा खरिद गर्ने गरेका छन् ।
होलीका लागि राखिएका टिसर्टहरु एकसय रुपिँयादेखि गुणस्तर र साइज हेरेर मूल्य तोकिएको छ । यसैगरी बालबालिकाले होलीमा खेल्ने पिचकारी ४० रुपैयादेखि २ सय भन्दा माथिको मूल्यमा पाइन्छ । यस पटकको होली फागुन २९ गते बिहीबार पहाडमा रहेको छ, भने चैत्र १ गते शुक्रबार तराई क्षेत्रमा रहेको छ।