उर्लाबारी, चैत ४ गते । दुई कट्ठा करेसा बारीमा तरकारी खेती गरेर वार्षिक दुई लाख रुपियाँ कमाइ भएको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर मोरङको उर्लाबारी–२ सानो सनपकुवाका ५५ वर्षीय गोपाल डाँगी आफ्नो झण्डै दुई कट्ठा करेसा बारीमा छ वर्षयता वार्षिक सरदर दुई लाख रुपियाँ कमाइ गरिरहनु भएको छ ।
जग्गाको नाममा उहाँसँग त्यही दुई कट्ठा हो । त्यसैमा सानो घर र गोठ पनि छ । उहाँ प्रायः सागको खेती गर्नुहुन्छ । आफै खेती गर्ने र आफै घरदैलो गरेर बेच्ने भएकोले उहाँलाई कुनै बजारको समस्या छैन । मूल्य निर्धारण गर्न पनि उहाँ स्वतन्त्र हुनुहुन्छ । उहाँले भन्नुभयो, म आफ्नो उत्पादनको मूल्य आफैँ तोक्छु ।
अहिले बारीमा उहाँले लट्टेसाग र फर्सी लगाउनु भएको छ । उहाँ बेलुकापख साग उखेलेर हरेक बिहान दैनिक घरदैलो पु¥याउनुहुन्छ । दैनिक एक सय मुठा बजार पु¥याउँदा १० बजे सम्ममा बेचेर घर आइपुग्छु, डाँगीले भन्नुभयो । उहाँले साग प्रतिमुठा २५ रुपियाँका दरले बिक्री गर्दै आउनुभएको छ । केही समयपछि पाटाको साग निस्कने उहाँले बताउनुभयो ।
लट्टे निकालेपछि टनेलमा बेमौसमी रायो साग लगाउने उहाँले सुनाउनुभयो । आफ्नै गोठको गोबर मल मात्र प्रयोग गर्ने डाँगीले रायोको सागबाट मात्र एक पटकमा ४० हजार रुपियाँ आम्दानी हुने बताउनुभयो । दुई माउ गाई र पाँच÷सातवटा बाख्रा पाठाको मल सबै तरकारी खेतीमै प्रयोग गर्छु । बेमौसमी बालीमा कीरा नियन्त्रण गर्न बेला–बेला जैविक औषधि प्रयोग गर्ने उहाँले जानकारी दिनुभयो ।
घिरौँला, भिन्डी, साग, करेला मात्र होइन उहाँले गत वर्ष सात केजी लट्टेको बीउ पनि उत्पादन गर्नुभयो । स्थानीय बजारमा प्रतिकेजी सात सय रुपियाँका दरले बिक्री गरेको बताउँदै उहाँले भन्नुभयो, तीव्र सहरीकरण भइरहेको उर्लाबारी बजार नजिकै भएकोले उत्पादन भएको तरकारी बेच्नका लागि ग्राहकको अभाव छैन । जे तरकारी निकाले पनि बिक्री हुन्छ । डाँगीले गत वर्ष छ सय केजी फर्सी प्रतिकेजी ४० रुपियाँका दरले बिक्री गरेको सुनाउनुभयो ।
सरकारले सिँचाइको व्यवस्था मिलाई दिए अझै उत्पादन बढाउन सक्ने उहाँले बताउनुभयो । उर्लाबारी नगरपालिकाको कृषि शाखाकी प्राविधिक नेलसन पोख्रेलले भन्नुभयो, उहाँले करेसाबारीबाट राम्रो आम्दानी लिएको देखेर हामीले उहाँकै आँगनमा नगरपालिकाको तरकारी खेतीसम्बन्धी तालिम चलाएका छौँ ।
डाँगी स्थानीय बागीश्वरी कृषक समूहको अध्यक्षसमेत हुनुहुन्छ । समूहमा २१ जना सदस्य छन् । तरकारी खेतीबाट राम्रो कमाइ गरेको देखेपछि अहिले सानो सनपकुवाका अधिकांश किसानले डाँगीको किसानी लयलाई पछ्याउन थालेका छन् । (गोरखापत्र)