सिरियामा युद्धले अष्ट्रेलिया संकटमा पर्ने चिन्ता

सिरियामा युद्धले अष्ट्रेलिया संकटमा पर्ने चिन्ता

बीबीसी । अहिले अष्ट्रेलियाले पनि सिरियाको मुद्दामा बसर अल अस्सद विरुद्ध अमेरिकालाई साथ दिइरहेको छ । तरपनि रुससँगको बढ्दो तनावका बीच सिरियामा युद्ध हुन सक्ने सम्भावना देखिएपछि भने अष्ट्रेलिया ठूलो चिन्तामा परेको हो । किनकी सिरियामा कुनै पनि किसिमले लडाई वा युद्धको स्थिति सिर्जना भएमा अष्ट्रेलियामा ठूलो ऊर्जा संकट आइलाग्ने बताइएको छ ।
वास्तवमा सिरियालाई युद्धको मैदान बनाइएमा अष्ट्रेलियामा इन्धनको आयात बन्द हुने हुँदा अर्थव्यवस्था पनि ठप्प हुने जोखिम रहेको छ । शीतयुद्धपछि पहिलोपटक सिरियालाई लिएर रुस र पश्चिमी मुलुकहरुबीच तनाव उत्पन्न भएको बताइन्छ । यस्तोमा सिरियामा युद्ध सुरु भयो भने अष्ट्रेलियामा ४३ दिनसम्मका लागि मात्र पर्याप्त इन्धन बाँकी रहने बताइएको छ ।  
सिरियामा हुने कुनैपनि प्रकारको लडाइको सिधा असर अष्ट्रेलियाको ऊर्जा सुरक्षामा पर्ने निश्चित रहेको विज्ञहरुको भनाइ छ । अष्ट्रेलिया इन्धनजन्य पदार्थका लागि पूर्ण रुपमा मध्यपूर्वमा निर्भर रहेको हुँदा ९१ प्रतिशत सिरियाकै बाटो हुँदै ल्याइने गरिएको छ । अर्कोतर्फ अष्ट्रेलियामा सरकारी स्टोर नभएकाले पनि अन्य कुनै विकल्प नभएको अवस्थामा उद्योग व्यवसाय ठप्प हुने जोखिम रहने बताइएको छ ।
अन्तराष्ट्रिय ऊर्जा एजेन्सीका सदस्यहरुमध्ये अष्ट्रेलियाले सबैभन्दा कम तेल सुरक्षित राख्ने गरेको पाइन्छ । यसैकारणले पछिल्लो महिना अष्ट्रेलियामा नयाँ ऊर्जा नीतिको माग समेत राखिएको थियो । विज्ञहरुका अनुसार सिरियामा युद्ध सुरु भएमा विश्वभर तेलको आपूर्तिमा गम्भीर असर पर्नेछ । त्यसैले पनि अष्ट्रेलिया सबैभन्दा बढी जोखिममा रहेकाले सरकार लगायत अधिकारीहरुले यस विषयमा चिन्ता व्यक्त गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्