आमाबाबुको क्रेडिट कार्ड चोरेर एक्लै इन्डोनेशिया घुम्न गए एक बालक

आमाबाबुको क्रेडिट कार्ड चोरेर एक्लै इन्डोनेशिया घुम्न गए एक बालक

बीबीसी । अष्ट्रेलिया बस्ने एक १२ वर्षीय बालक आमाबाबुको क्रेडिट कार्ड चोरेर एक्लै इन्डोनेशिया घुम्न गएको खबर बाहिर आएको छ । आमाबुवासँगको सानो विवादपछि सिड्नीबाट आफैँले टिकट बुक गरी उनी पर्थ हुँदै बालीसम्मको उडान भरेको बताइएको हो । उनले केबल पासपोर्ट र स्कुलको आइडीकार्डको भरमा मात्र पूरै यात्रा तय गरेको बताइएको छ । अष्ट्रेलियाको निकायका अनुसार ती बालक १७ मार्चमा बालीमा एक्लै फेला परेका थिए ।

हजुरआमालाई झुक्काएर पासपोर्ट हात पारेपछि उनले आमाबुवालाई स्कुल जान्छु भनेर आफ्नो सानो स्कुटी लिइ एक्लै रेलस्टेसन पुगेर विमानस्थल भित्रिएका थिए । यसरी बिना कुनै सूचना स्कुलमा अनुपस्थित भएपछि शिक्षकहरुले उनका बाबुआमालाई खबर गर्दा मात्र उनी घर छोडेर गएको थाहा भएको थियो । यसपछि लगातार खोजी गर्दा उनी एक्लै इन्डोनेशियाको होटेलमा फेला परेका हुन् ।

अनलाइनमार्फत आफैँले टिकट र होटल बुक गरी भ्रमणमा गएका उनलाई उडानभरी एकपटक मात्र विमानका कर्मचारीले प्रश्न गरेको बताइएको छ । ती बालकका अनुसार उनलाई त्यहाँका अधिकारीहरुले १२ वर्षभन्दा माथि रहेको प्रमाणित गर्न स्कुल आइडी र पासपोर्ट मात्र देखाउन लगाएका थिए । उनले भने, ‘मलाई अड्भेन्चरमा जान मन थियो त्यसैले मेरो यात्रा एकदमै राम्रो रह्यो ।’

बालीको अल सिजन होटलमा बस्दा समेत उनले होटलका कर्मचारीलाई दिदीलाई पर्खिरहेको र उनी चाँडै आइपुग्ने भन्दै झुटो बोलेका थिए । यसरी पुलिसले उनलाई इन्डोनेशियामा फेला पारेपछि उनकी आमा उनलाई त्यहाँ लिन पुगेकी थिइन् । आमाबुवासँग पुनः मिलाप भइसकेपछि उनलाई पुलिसले सोधपुछका लागि लगेको बताइएको छ । यस प्रकारको घटना फेरि नहोस् भनेर अन्तराष्ट्रिय उडानसम्बन्धी पनि अहिले अनुसन्धान भइरहेको बताइएको छ ।

उनकी आमाले भने सो घटनाले आफूलाई जीवनकै सबैभन्दा ठूलो झट्का दिएको बताएकी हुन् । घरबाट भागेर छोरा विदेशसम्म पुगेको भन्ने सुन्दा विश्वास गर्न नसकेको उनले बताइन् । अन्तराष्ट्रिय उडानमा बालकलाई एक्लै देखेपनि सावधानी नअपनाइएकामा सम्बन्धित निकायको पनि उत्तिकै गल्ती रहेको पुलिसको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्