इरानसँग गरिएको परमाणु सम्झौता डोनाल्ड ट्रम्पले तोडे

इरानसँग गरिएको परमाणु सम्झौता डोनाल्ड ट्रम्पले तोडे

काठमाडौं, बैशाख २६ । इरानसँग गरिएको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग गरिएको परमाणु सम्झौतामा अलग हुने घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन् ।

यो सम्झौता बेकारको र अप्रासंगिक भन्दै ट्रम्पले बाहिरने घोषणा गरेको ह्वाइट हाउसले जनाएको छ । इजरायलले अमेरिकी कदमको खुलेर स्वागत गरेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कदमको स्वागत गरेका हुन् ।

यसैबीच इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकी निर्णयको निन्दा गर्दै इरानले युरोनियम संबर्धनको काम फेरि थाल्ने चेतावनी दिएका छन् ।

साथै उनले सम्झौताको समर्थनमा रहेका अरु राष्ट्रसँग छिट्टै वार्ता गर्ने भन्दै इरानी आणविक उर्जा संगठनलाई औद्योगिकस्तरबाट युरोनियम संबर्धनको काम सुरु गर्न आदेश दिइसकेको जानकारी दिए ।

अमेरिकाले भने परमाणु सम्झौताबाट बाहिरिएपनि इरानमाथि तुरुन्त आर्थिक प्रतिबन्ध लगाउने पक्षमा भने नरहेको जनाएको छ ।

तीन वर्षअघि सन् २०१५ मा अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानसँग परमाणु सम्झौता गरेका थिए ।

सम्झौता अनुसार इरानले आफ्नो परमाणु गतिविधि नियन्त्रण गर्ने र यसको सट्टामा तेहरानविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्ध खुकुलो गर्ने व्यवस्था गरिएको थियो । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्