एमाले/माओवादी एकता आज,पार्टी र सरकारको नेतृत्व आलोपालो

एमाले/माओवादी एकता आज,पार्टी र सरकारको नेतृत्व आलोपालो

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज पार्टी एकताको घोषणा हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई दुवै पार्टीका माथिल्लो निकायले अनुमोदन गरेका छन् भने एमालेले आज आकस्मिक केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ ।
एमालेले केन्द्रीय कमिटीको बैठकबाटै एकताका लागि भएको सहमतिलाई अनुमोदन गर्ने तयारी गरेको छ ।

बिहान ११ बजे केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको छ । त्यसअघि आजै १० बजे दुवै पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बैठक पनि बोलाइएको छ ।

स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहालले उठाएका आशंका प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले हटाइदिएपछि एकताको वातावरण बनेको थियो ।

स्रोतका अनुसार आवश्यकताअनुसार सरकारको नेतृत्व पनि पालैपालो गर्ने सहमति दुई नेताबीच भएको छ । तर अहिले सहमतिपत्रमा भने उक्त कुरा उल्लेख नगर्ने सहमति भएको स्रोतले जानकारी दियो ।

दुवै पार्टीको बैठकपछि आजै दिउँसो पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगमा पार्टी दर्ताको प्रक्रिया अघि बढाउने तयारी पनि दुवै दलले गरेका छन् । अब नयाँ बन्ने नेकपा पार्टीमा दुईजना अध्यक्ष हुनेछन् । दुवैले पालैपालो बैठकको अध्यक्षता गर्नेछन् भने निर्णयमा पनि दुवैको हस्ताक्षर हुनेछ ।

केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ भने त्यसमा २४१ एमालेका र २०० माओवादी केन्द्रका रहने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । स्थायी समिति ४३ सदस्यीय हुनेछ जसमा एमालेका २५ र माओवादी केन्द्रका १८ सदस्य रहनेछन् । महाधिवेशन २ वर्षभित्र गर्ने र नेतृत्व सहमतिकै आधारमा चयन गर्ने विषयमा पनि आन्तरिक सहमति भएको छ ।

एमाले स्थायी कमिटीको बैठकले दुवै नेताबीच भएको सहमतिलाई अनुमोदन गरेको एमाले सचिव भट्टराईले जानकारी दिए । स्थायी कमिटीको बैठकले दुई अध्यक्षबीच भएको निर्णयलाई स्वागत गरेको भट्टराईले जानकारी दिए ।
“पार्टी एकता कुन साल, कुन महिनामा होला भन्ने थियो” उनले भने, “ कुन दिन भन्दै अब घण्टातिर आएका छौं । निर्वाचन आयोगमा प्रस्तुत गर्ने विधान, लगायतका विषय एकता संयोजन समितिले टुंगो लगाउनेछ ।”
नेकपा एमालेका नेता वामदेव गौतमले पनि आज पार्टी एकता हुने जानकारी दिए । उनले सबै विवादित विषयको टुंगो लागेको पनि एमाले स्थायी कमिटीको बैठकपछि जानकारी दिएका थिए ।  माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको बैठकले दुई नेताबीच भएको सहमतिलाई अनुमोदन गरेको थियो ।
मार्गदर्शक सिद्धान्त भने दुवै दलले अपनाउँदै आएका जनताको बहुदलीय जनवाद र माओवादलाई महाधिवेशनसम्म लैजाने र त्यहीँबाट टुंगो लगाउने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्