सुन तस्करीका अभियुक्तका ‘महंगा वकिल’, १ घण्टा बहस गरेको ३ देखि ४ लाख

सुन तस्करीका अभियुक्तका ‘महंगा वकिल’, १ घण्टा बहस गरेको ३ देखि ४ लाख

विराटनगर, ५ जेठ।  तस्करीको साढे ३८ क्विन्टल सुन र सनम शाक्य हत्याकाण्ड प्रकरणमा अहिले जिल्ला अदालत मोरङमा थुनछेक बहस चलिरहेको छ । सरकारतर्फका वकिलहरुको बहस सकिसकेको छ भने प्रतिवादी (अभियुक्त) पक्षका वकिलको बहस चलिरहेको छ । मोरङ जिल्ला अदालत स्रोतका अनुसार  प्रतिवादीका तर्फबाट बहस गर्न ६५ जना कानून व्यवसायीहरुले ११३ वकालतनामा दर्ता गराएका छन् ।  सुन तस्करीका अभियुक्तका ‘महंगा वकिल’

सुन तस्करी र सनम शाक्यको हत्यामा संलग्न भन्दै सरकार वकिलको कार्यालय मोरङले ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा अभियोग पत्र दायर गरेको छ । सरकारी वकिलको कार्यालयले अभियोग पत्रमा २०४४–४५ सालदेखि नै नेपालमा सुन तस्करी हुने गरेको उल्लेख गरेको छ । अहिले मुद्दा खेपीरहेको समूह २०६९ सालदेखि संगठित भएको सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्रमा उल्लेख गरेको छ । सरकारी वकिलको कार्यालयले सुन तस्करी र सनम शाक्यको हत्यामा संलग्न भन्दै प्रहरीका बहालवाला ८ जना १ जना पूर्व कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएका प्रहरीकर्मचारीमध्ये निलम्बित प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्याम बहादुर खत्री फरार छन् भने अन्य ८ जना हिरासतमा छन् ।

हिरासतमा रहेकामध्ये अधिकांश प्रहरी कर्मचारीले भने आफ्नो प्रतिरक्षाका लागि तुलनात्मक रुपमा महंगा मानिने (बढी सेवाशुल्क) लिने कानून व्यवसायी छानेका छन् । पूर्वमहान्याधिवक्ता रमन श्रेष्ठदेखि वरिष्ठ अधिवक्ता शम्भु थापाले सुन तस्करीका अभियुक्तको प्रतिरक्षामा बहस गरेका छन् । काठमाडौंका कानून व्यवसायीबीच चल्ने चर्चाका अनुसार वरिष्ठ अधिवक्ता शम्भु थापाले कुनै १ व्यक्तिको पक्षमा १ घण्टा वकालतको ३ देखि ४ लाख रुपैयाँ लिन्छन् । जबकि उनले आइतवार मोरङ जिल्ला अदालतमा सुन तस्करीका अभियुक्त प्रहरीका निलम्बित एसपी विकास खनाल र सुन व्यापारी भनिएका राप्रपा (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङको पक्षमा २ घण्टा बहस गरे ।

त्यस्तै पूर्वमहान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भुजुङ गुरुङ, विकासराज खनाल र प्रहरीका पूर्व डिआईजी गोविन्द निरौलाको प्रतिरक्षामा बहस गरे । वरिष्ठ अधिवक्ता श्रेष्ठमार्फत बहस गराएका एक व्यक्तिको भनाइअनुसार उनले १ घण्टा बहस गरेवापत २ लाख ५० हजार रुपैयाँ लिन्छन् । अधिवक्ता श्रेष्ठले आफ्नो पारिश्रमिक खुलाएनन् ।  ‘कसैले मलाई महंगो वकिल भन्छन् पनि होला । तर म आफूले गर्ने वकालतअनुसारको सेवाशुल्क लिन्छु,’ श्रेष्ठले भने, ‘तर मैले कति पारिश्रमिक लिन्छु भनेर मिडियामा भन्नु त भएन नि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्