चन्द्र उपाध्याय ।
महिला मनोनयनमा परेनन्, महिलालाई विधायक बनाईएन, महिला मन्त्री भएनन्, महिला मुख्यमन्त्री बनेनन् जस्ता महिला माथिका विभेदका विषयको राजनैतिक व्याख्या छ, र राजनैतिक समाधान पनि होलान् । तर महिला माथिका विभेदका सामाजिक र सांस्कृतिक व्याख्या अनि बुझाई पनि अति महत्वपूर्ण हुन्छन ।
महिलामाथि विभेद भएका छन् । महिला माथिको विभेद पुरुषबाट भएको छ र महिलाबाटै पनि भएको छ । छोरा र छोरीमा परिवारबाटै विभेद गरिन्छ । समाजमा महिला र पुरुषलाई असमान भूमिका दिएर विभेद गरिन्छ । अंश र वंशमा विभेद छ । राज्यले असमान कानुन बनाएर विभेद गरेको छ । विभेद अन्त्य गर्ने कयौं पहल भएका छन् । पैरवी भएका छन् । विभेद अन्त्य गर्ने कानुन् बनेका छन् ।
महिला विरुद्द हिंसाका कयौं मुद्दा बनेका छन् । पुरुषले गरेको हिंसा, लोग्नेले गरेको हिंसा, ससुराले गरेको हिंसा, सासूले गरेको हिंसा, नन्द र आमाजूले गरेको हिंसा, देउरानी जेठानीले गरेको हिंसा आदि । हुन त पुरुष पनि महिलाबाट हिंसामा परेका घटना मुद्दाकै रुपमा नआएका होइनन् ।
संखुवासभा जिल्लाको एक जवरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले स्थापित गरेको नजिरले महिलाले महिलालाई बलत्कार गर्न सक्ने तथ्यलाई स्वीकार गरी फैसला सुनाएको छ । विरारनगर महानगरपालिकाको न्याय तथा कानून महाशाखामा महिलाले पुरुष प्रति गरेको हिंसाको मुद्दा दर्ता भएको छ । सन्तान र परिवारको भविष्य राम्रो होस भनेर मलेसिया लागेका नेपालगञ्जका एक श्रीमान ३ वर्षमा घर फर्किए पछि पो थाहा भो, उनकी श्रीमतीले त दुई वर्षअघि नै अरुसित विवाह गरिसकेकी रहिछन् । सुरक्षा कोइराले मार्च ४ गतेमात्र टुइट गरिन “श्रीमानको पसिनाले गरेको मेकअपले सुन्दरता बढाएपछि त्यही खाडीको घाममा जलेका श्रीमान कुरुप लाग्न थालेका छन् ।“
हालै विराटनगरमा महिलासंग सम्बन्धित २ वटा कार्यक्रमा आफ्नो सक्रिय सहभागिता पश्चात् त्यहाँ उठेका विविध सवालहरुको समाजशास्त्रीय व्याख्या गर्ने जमर्को गर्दैगर्दा मनमा उप्जिएका भावनाहरु यो लेखमा समेट्ने जमर्को गरेको छु । साथै विभिन्न पत्र पत्रिका, लोकप्रिय सामाजिक संजाल फेसबुक, र टुईटर र टेलिभिजनमा आएका विविध बहस, छलफल र सुनुवाईले पनि महिला प्रति हुने विभेद र हिंसाको सामाजिक पाटोलाई उजागर गर्न मद्दत गरेको छ ।
हालै, विराटनगरमा एक्सन एड, नारी विकास संघ र जिल्ला समन्वय समिति मोरङले संयुक्त रुपमा आयोजना गरेको “लैंगिकता मैत्री सार्वजनिक सेवा “ विषयक २ दिने सम्मेलन र जागरण नेपालले आयोजना गरेका स्थानीय श्रोत साधनमा नागरीकको पहुँच विषयक जिल्ला स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमा एउटामा अवधारणा पत्र प्रस्तोता र अर्कोमा अवधारणा माथी प्रश्न कर्ताको रुपमा मेरो सक्रिय सहभागिता रह्यो ।
महिला अधिकार, मानव अधिकार, शान्ति र सुशासन र विशेषत राजनीतिमा महिला सहभागिता, महिलाहरु र विशेष गरी सिमान्तकृत समूदायको स्थानीय सुशासन, निर्णायक तह निर्वाचन र राजनीतिमा सहभागिता सबलिकरण सन्दर्भमा आयोजना गरिएकोे स्थानीय श्रोतको वर्तमान अवस्था, वितरण प्रक्रिया र त्यसमा नागरीकको पहुँचको अवस्था कस्तो छ र सम्बन्धित जिम्मेवार तह÷निकायका व्यक्ति÷संस्थाबाट खेलिनु पर्ने भूमिका लगायतका विषयमा तथ्यगत अवधारणा पत्र प्रस्तोत गर्ने जिम्मा जागरण नेपालले मलाई दिएको थियो । त्यस्तै एक्सन एड, नारी विकास संघ र जिल्ला समन्वय समिति मोरंगले संयुक्त रुपमा आयोजना गरेको “लैंगिकता मैत्री सार्वजनिक सेवा” विषयक २ दिने सम्मेलनमा महिला मैत्री न्याय सेवा, महिला मैत्री शिक्षा , महिला मैत्री सार्वजनिक यातायात , कृषि तथा सुरक्षित विराटनगर विषयक कार्यपत्रहरु प्रस्तुत भएका थिए ।
हामीसंग केही तितो अनुभव र अभिव्यक्ति नभएका होइनन् । केही सत्य छन् केही रोचक छन् । महिलाले उठाउने र महिलाका लागि उठाइने केही लैंगिक सवाल यस्ता छन ः अपरिपक्क उमेरमा विवाहले छोरीलाई अवसरबाट बन्चित गराउँछ । अपरिपक्क उमेरमा मातृत्व छोरीको कमजोर मानसिक तथा शारीरिक स्वास्थ्यको कारण हो । महिलाले प्राय खप्ने धम्की ः घरवाट निकाली दिन्छु । महिला सहभागिता स्वागतमा महिला तर मञ्चमा बस्ने सबै पुरुष मञन्चमा पुरुष । माला र खादा लगाई दिन महिला तर लगाउने पुरुष । चिया नास्ता गराउने महिला तर अथिति पुरुष । श्रोता महिला तर वक्ता पुरुष । मन्चमा महिला मुद्दा चर्चा गर्ने पुरुष तर ताली बजाउने महिला । अवस्था ः मतदाता सूचीमा पुरुष महिला बराबर तर मतदान गर्ने महिला बढी महिला नै अघी (पुरुष त विदेशमा छन) त्यसैल,े अब महिलाका समस्या होइन महिलाका अवसरका कुरा गरौँ । जति बेलासम्म राजनीतिक अधिकारका साथसाथै आर्थिक अधिकारले सम्पन्न हुँदैनौँ त्यतिबेलासम्म महिलाको वास्तविक स्वतन्त्रता सम्भव हुँदैन ।
समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा महिलामाथि हुने विभेद र हिंसाका पछाडि यो विषयको व्याख्या र अपव्याख्या, बुझाई र गलत बुझाई पनि त्यत्तिकै जिम्मेवार छन् । पितृसत्ता’ शब्दको व्याख्या गर्ने क्रममा पुरुषलाई अमानवीय प्राणी जस्तो व्यवहार गरेको पनि देखिन्छ । हा,े यो सत्य हो की नारीकोे पारिवारिक जिम्मेवारी अति संवेदनशील हुन्छ । एउटी आमाले सन्तान जन्माउनु र हुर्काउनुमा उनको संवेदनशील भूमिका हुन्छ । एउटी स्त्रीले आफ्नो लोग्नेकोको कार्य दक्षता वृद्धी गर्दछिन । चाहे उ कुनै कार्यालय प्रमुख होस् वा एउटा सामान्य मजदुर
पितृसत्ताको उल्टो मातृसत्ता होइन । पितृसत्ताको उल्टो समानता हो, भन्छिन् भारतीय नारीवादी लेखिका कमला भासिन । दिदी बहिनीले दाजुभाइलाई बाँध्ने राखीको डोरोको सट्टामा दाजुभाइले उनलाई परिआउने हरेक परिस्थितिमा उनलाई रक्षा गर्नुपर्छ भनेको उनी पर आश्रित नै हुन्छिन् भनेको होईन । राखीको बन्धन त दाजुभाइ र दिदीबैनीमा अगाध प्रेम छ र उनीहरु एक अर्काको रक्षाका लागि कुनै कसर राख्दैनन् भन्ने हो ।
लेखिका कमला भासिन भन्छिन “तीजमा नेपालका महिलाहरूले करोडौँ रुपियाँको चुरा लगाएर भारतीय व्यापारीलई धनी बनाइरहेका हुन्छन् । त्यसको अर्थ के हो भन्ने मैले अझैसम्म बुझ्न सकेकी छैन ।” भारतीय कवि ओम व्यास भन्छन ,“विवाहित नारीले लगाउने सिन्दुर र पोते वा मंगलसुत्र उनको नारीपूर्णताको प्रतीक हो, बन्धन होईन । जुन पुरुषबाट उनले सिन्दुर पोते र मंगलसुत्र स्विकारिन्, तिनै पुरुषले ती चिजको रक्षा गर्ने जिम्मा लिएको हुन्छ ।”
हिन्दू नारीले तीज र करवा चौथमा गर्ने निर्जल र निराहार ब्रत दिनरात आफूलाई दुःख दिने भएपनि आफ्नो लोग्नेले दीर्घजीवन पाएन भने आफू बाँच्ने कुनै आधार नै हुदैन भनेर देखाएको विवशता होइन । यो त आफ्नो लोग्नेप्रतिको अगाध प्रेम दर्शाउने भावनाको प्रतीक हो ।
“पतिको अर्थ मालिक अनि पत्नीको अर्थ दासी हो भनेर कसैले व्याख्या गर्छ भने त्यो अपव्याख्या हो । हो, पति भनेको मालिक हो अनि पत्नीको अर्थ हो, रानी, सम्राज्ञी हो”, लेख्छिन जोधपुर राजस्थानकी पूनम राठोर । तर लोग्ने स्वास्नीको सम्बन्धलाई मालिक र दासीको सम्बन्ध नठानेर एकअर्काका जीवनसाथी ठान्ने र त्यही अनुसारको व्यवहार गर्ने हो शब्दको जन्जाल पनि आफैँ हटेर जान्छ ।
“हामीले त्यस्तो समाज निर्माण गर्न खोजेको हो, जहाँ सम्पत्तिको अधिकार छोरा र छोरीमा समान रूपमा वितरण गरियोस । जहाँ न्याय समान रूपमा स्थापित होस । जहाँ महिला भएकै आधारमा कुनै महिला छाउपडीमा बस्नु नपरोस्” नारीवादी लेखिका कमला भासिनको यो भनाईमा हामी धेरैको सहमति रहन्छ । त्यस मानेमा पितृसत्ताको ठाउँमा मातृसत्ता होइन, समानता नै चाहिन्छ ।
हो , नारी र पुरुष बीचको समानता निर्णय प्रक्रियामा चाहिन्छ , समानता सम्प्पतिको स्वामित्व र परिचालनमा चाहिन्छ , समानता सम्मानमा चाहिन्छ अनि समानता भूमिकामा चाहिन्छ , समानता जिम्मेवारी बोधमा चाहिन्छ ।
(लेखक: महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको उप-प्राध्यापक, प्रमुख समाजशास्त्र विभाग)