विराटनगर, ६ जेष्ठ ।
मोरङको केरावारी स्थित खदम खोलामा भईरहेको अबैध उत्खनन रोकिएपछि गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी भुजेलको घर घेराउ भएको छ । अनियन्त्रित रुपमा नदीजन्य पद्धार्थको दोहन गरीरहेका क्रसर ब्यवसायी र टिप्पर ब्यवसायीको उक्सहटमा शनीवार ट्याक्टर ब्यवसायीले उपाध्यक्ष भुजेललाई धम्की सहित घर घेराउ गरेका हुन् । परिमाण भन्दा ३ गुना बढी ढुङ्गा गिटी उत्खनन् गरेको बिरोधमा उभिएकी भुजेलकै अगुवाईमा अबैध उत्खनन् रोकिएको थियो । गाउँपालिकाका अध्यक्ष रोहित कार्की सहित केही वडाअध्यक्षको लगानी रहेको क्रसर उद्योगले जथाभाबी उत्खनन् गरेपछि भुजेलले अध्यक्ष कार्कीलाई खोलाबाट श्रोत उत्खनन् नरोकिए प्रतिवाद गर्ने चेतावनी दिएकी थिईन् ।
उपाध्यक्षले खोलाबाट भईरहेको दोहन रोक्न आफैले अग्रसरता देखाएपछि बाध्य भएर कार्कीले ठेकेदार कम्पनीलाई उत्खनन् रोक्न शुक्रवार नै पत्र लेखेका थिए। भुजेलकै कारण अबैध उत्खनन्को सुचना सार्बजनिक भएको र खोला उत्खनन् बन्द भएको भन्दै क्रसर संचालक रहेका अध्यक्ष र वडा अध्यक्षहरु उपाध्यक्ष विरुद्ध लागेका हुन । उनीहरु उपाध्यक्षसँग छिल्लो दिनमा रुष्ट छन् । उनीहरुकै उक्साहटमा उपाध्यक्षको घर घेराउ भएको पाईएको छ । उपाध्यक्षको घर घेराउ भएको सुचना पाएपछि पुगेको सशस्त्र प्रहरी बलले घेराउ गर्नेहरुलाई त्यहाँबाट हटाएको थियो । मापदण्ड पुरा नगरी खुलेका क्रसर उद्योगहरुका कारण जथाभाबी उत्खनन् गरेर स्थानीय क्षेत्रमा वातावरणीय असर पुगेको भन्दै स्थानीयले बिरोध गर्दै आएपनि अध्यक्ष कार्कीको आफ्नै क्रसर उद्योग रहेकाले मौन बसेका थिए ।
त्यस बारेमा बिभिन्न संचारमाध्यामले समाचार प्रकाशित गरेपछि जिल्ला प्रशासन कार्यालयले छानविन समिति गठन गरीसकेको छ । खोला उत्खनन्मा रोक लगाएपछि क्रसर उद्योगहरुबाट परिचालन हुँदै आएको ट्याक्टर र टिप्परले काम पाएका छैनन् । यसैकारण पनि उनीहरु उपाध्यक्षसँग आक्रोशित भएका हुन् ।