अदालतलाई गोरेको पत्र- प्रहरी हिरासतमा ज्यानको खतरा भयो

अदालतलाई गोरेको पत्र-  प्रहरी हिरासतमा ज्यानको खतरा भयो

विराटनगर, ९ जेठ
सुन तस्करी र उर्लावारीका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती (गोरे)ले प्रहरी हिरासतमा आफू असुरक्षित रहेको भन्दै आफ्ना वकिल मार्फत जिल्ला अदालत मोरङमा निवेदन दिएका छन् । प्रहरी हिरासतमा आफू असुरक्षित रहेकोले मानव अधिकारी तथा अधिकारवादी संस्थाको रोहबरमा हिरासतमा बस्ने व्यवस्था मिलाउन माग गर्दै गोरेका तर्फका वकिल यमबहादुर मगरले अदालतमा निवेदन दर्ता गराएका हुन् ।
अधिवक्ता यमबहादुर थापा मगरले गोरेको तर्फबाट अदालतमा निवेदन दिँदै हिरासतमा ज्यानमाथि नै खतरा भएकाले मानवअधिकारवादीको रोहबरमा हिरासतमा रहने व्यवस्था मिलाइदिन माग गरेका छन् ।

सुन तस्तरी प्रकरणको छानविनका लागि पक्राउ परी प्रहरी हिरासतमै एकजनाको मृत्यु भइसकेकाले आफ्नो ज्यान पनि खतरामा रहेको गोरेको भनाइ उदृत गर्दै मगरले भने । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेल संयोजकत्वको टोलीले पक्राउ गरेका प्रेमलाल चौधरीको महानगरीय प्रहरी परिसर सिंहदवारको हिरासतमा शंकास्पद मृत्यु भएको थियो ।
गत चैत २९ गते (बिहीवार) काठमाडौंबाट पक्राउ परेका नेपाल एयरलाइन्समा कार्यरत चौधरी चैत ३० गते प्रहरी हिरासतमा मृत भेटिएका थिए । उनको मृत्यु अहिले पनि रहस्यमय छ ।
बयान सिन्धुलीसम्म पुग्यो
मंगलवार विहान काठमाडौंवाट पक्राउ परेका गोरेको बुधवारबाट जिल्ला अदालत मोरङमा बयान शुरु भएको छ । आज बिहान १० बजे अदालतमा उपस्थित गराईएका गोरेको बयान बिहान पौने ११ बजे देखि बयान शुरु भएको थियो । लगातार बयान दिएका गोरेले अदालती समय सकिए पनि गोरेको बयान भने सकिएको छैन । सुन तस्करी र सनम शाक्यको हत्यासँग जोडिएका सबै घटनाक्रमको सिलसिलेवारे बयान भइरहेकाले बयानका लागि अझै केही दिन लाग्ने जिल्ला अदालत मोरङ स्रोतले जनाएको छ । बुधवारसम्म गोरेले बयानमा ३३ किलो सुन तस्करी प्रकरणमा सिन्धुलीसम्मका घटनाक्रमको विवरण अदालतसमक्ष बताएका छन् ।
अदालत स्रोतका अनुसार गोरेले सुन तस्करी प्रकरणमा अन्यको संलग्नता रहेको भन्दै केही उच्च व्यक्तिको नाम समेत बयानमा उल्लेख गरेका छन् । तर अदालत स्रोतले गोरेले लिएका ती व्यक्तिको नाम भने बताउन चाहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्