जाँच पास गरिसकेका सामानमा पुनः भन्सार जाँचपास परीक्षणको नाममा समस्या

जाँच पास गरिसकेका सामानमा पुनः भन्सार जाँचपास परीक्षणको नाममा समस्या

विराटनगर ११ जेठ । भन्सार कार्यालय विराटनगरले जाँच पास गरिसकेका सामानमा पुनः भन्सार जाँचपास परीक्षण कार्यालयले चेकजाँचको नाममा व्यवसायीलाई दुःख दिने गरेको उद्योगी तथा भन्सार एजेन्टले गुनासो गरेका छन् । खुल्ला सिमानाबाट हुने तस्करी नियन्त्रणमा सरकारी निकायले चासो नदिने तर, वैधानिक हिसावले जाँच पास गराइएका सामानको विभिन्न नाममा जाँच गर्ने हुँदा परीक्षण कार्यालय आफूहरुको लागि हाउगुजी भएको उनिहरुको गुनासो छ ।
विराटनगरमा शुक्रबार आयोजित भन्सार जाँच पासपछिको परीक्षण सम्बन्धि अन्तरक्रियामा बोल्दै उद्योगीहरुले यस्तो गुनासो गरेका हुन् । मालवस्तु पैठारीकर्ताले सामान पैठारी गरेपछि भन्सार विन्दुमा गरेको घोषणाको विश्वसनियता निजको लेखा एवं व्यापार सम्बन्धि अभिलेखको आधारमा परीक्षण गर्ने कार्य भन्सार जाँच पास पछिको परीक्षण हो । जाँचपास परीक्षण कार्यालयको स्थापना गर्नुभनेको व्यापार सहजीकरण र राजस्व संकलनबीच सन्तुलन कायम गर्नु हो ।
तर, विराटनगर भन्सार कार्यालयबाट जाँच पास गराउँदा पनि व्यापारीलाई दुःख दिने काम अझै नरोकिएको उद्योगी तथा उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश समितिका उपाध्यक्ष राजेन्द्र राउतले गुनासो गरे ।
विराटनगर भन्सार एजेन्ट संघका उपाध्यक्ष नवलप्रसाद उपाध्यायले भन्सार कार्यालयबाट नियम अनुसार पास भएका सामानको विषयमा बखेडा निकाल्ने तर, तस्करी भएका माल पास भइरहने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अविनाश बोहोराले सन्दर्भ मूल्य सूची कायम भएसम्म भन्सार मूल्यांकनमा द्वन्द सिर्जना भइरहने बताए ।
उद्योगीहरुले उठाएको भन्सार जाँच परीक्षणको विषयमा जवाफ दिँदै भन्सार जाँच परीक्षण कार्यालय काठमाडौंका प्रमुख भन्सार परीक्षण प्रशासक किशोर जोशीले व्यापारी आफैंले पनि भन्सारमा पास भएका मालबस्तुको उचित कर तिरेनतिरेको विषयमा ख्याल गरे समस्या समाधान हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्