इङ्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो विश्वकपमा तेस्रो

इङ्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो विश्वकपमा तेस्रो

काठमाडौ, ३० असार ।   विश्वकप फुटबलअन्तर्गत शनिबार भएको प्लेअफ खेलमा बेल्जियमले तेस्रो स्थान बनाउन सफल भएको छ ।  शनिबार साँझ रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई २–०ले पराजित गरेको हो ।

बेल्जियमको जितमा थोमस म्युनियरले खेलको चौथो मिनेटमै गोल गरे । यस्तै इङ्ल्याण्डले खेलमा फर्किने प्रयास गर्दैगर्दा ८२ औं मिनेटमा फेरि अर्को खेल खायो । ८२ औं मिनेटमा बेल्जियमका इडेन हजार्डले गोल गरेका हुन् । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि इङ्ल्याण्ड पराजित भयो र चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

यसअघि समूह जी मा रहेका दुवै टोलीले समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा पनि बेल्जियम १–० ले विजयी भएको थियो । फुटबल इतिहासमा यी दुई टोलीबीचको खेल हेर्ने हो भने इंग्ल्याण्ड बेल्जियम विरुद्ध हावी हुँदै आएको थियो । तर, यो पटक उल्टो हुन पुग्यो ।

२८ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको इंग्ल्याण्डको ५२ वर्षपछि फाइनल यात्रा तय गर्ने सपना क्रोएसियाले चकनाचुर पारेको थियो । क्रोएसिया विरुद्धको दोश्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डले खेलमा अग्रता बनाएपनि क्रोएसियाको उत्कृष्ट पुनरागमनमा इंग्ल्याण्ड २–१ को नमिठो हार व्यहोर्न बाध्य भएको थियो ।

यता सन् १९८६ मा पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको बेल्जियमको पहिलो पटक फाइनल पुग्ने सपना फ्रान्ससँगको पराजयसँगै सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्