उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड, विराटनगरमै जारको पानीमा भेटियो किरा र लार्भा

उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड, विराटनगरमै जारको पानीमा भेटियो किरा र लार्भा

विराटनगर, १ साउन । उपभोग्य सामानको सम्बन्धित निकायको अनुगमन फितलो हुदाँ बजारमा अखाद्य र म्याद गुज्रिएका सामाग्री भेटिन थालेको छ । अखाद्य, मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको बिक्री खुलेयाम हुँदा पनि स्थानीय प्रशासन मौन देखिएको छ । विराटनगरका व्यापारीहरुले मनपरी अखाद्य, मिसावट तथा म्याद गुज्रिएका विभिन्न सामानको विक्री भईरहँदा पनि अनुगमन अहिलेसम्म भएको छैन । बजारमा अखाद्य बस्तुको बिक्रि बितरण भईरहेको भएपनि अहिले बिराटनगर बजार अनुगमन हुन सकेको छैन । वजार अनुगमनको जिम्मेवारी रहेको जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, उपभोत्ता समिती, नापतौल कार्यलयले, क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय लगायतका राज्यका निकायहरु अहिलेसम्म बजार अनुगमनमा देखिएका छैनन् ।
चाडबाडको बेलामा मात्र हुने बजार अनुगमन गर्ने निकाय अन्य समयमा मौन बस्ने या त रमिते बन्ने बाहेकका गतिबिध कुनैपनि नदेखिने गरेको उपभोक्ताका भनाई छ । सरकारले गरेको बजेट भाषण पछि बजार मुल्य आकाशिएको छ । एकाएक बढेको बजार मुल्य नियन्त्रणमा लिईनु पर्ने अबस्थामा अहिलेसम्म बजारको अनुगमन नहुनु दुखद रहेको उपभोक्ता हितको क्षेत्रमा काम गर्दै आएको पब्लीक फोरमका अध्यक्ष उत्तम ढुंगेलको आरोप छ ।
पछिल्लो समय तराईमा गर्मी बढ्दो छ । सबैभन्दा बढी खपत हुने भनेको पेय पर्दाथ हो । म्याद गुज्रिएका पेय पद्धार्थ बजारमा प्रसस्तै भित्रिएका छन् । ति म्याद गुज्रिएका पेय पद्धार्थ बजारमा बिक्री भईरहेपनि बजारमा कस्ता सामान भित्रिए र बिक्री बितरण भए भन्ने बारेमा सरकारी निकाय अनभिज्ञ छ । त्यो मात्र हैन खाद्य वस्तु चिनी, दाल, चामलसँगै विभिन्न पेयपदार्थको मुल्य मनपरी राखेर वितरण भईरहेको पाईएको ढुंगेल बताउँछन् । गुज्रिएका खाद्यवस्तुहरु विक्री भइरहे पनि जिल्ला प्रशासन कार्यालय लगाएत अन्य सरोकारवाला निकायहरुले कुनै पनि चासो नदिएको उपभोक्ताको गुनासो छ ।
फिर्तालिन नआउँदा उपभोक्तालाई बिक्री
विराटनगर ८ जलजला चोकमा रहेको विक्की चिया पसलमा म्याद गुज्रेको पेय पदार्थ भेटियो । बिक्कीको यो पसलमा यसरी म्याद गुज्रिएका सामान आउन थालेको एक महिना बिति सकेको छ । विक्की चिया पसल संञ्चालन गर्दै आएका विक्की भगतले डिलरलाई पटक पटक खबर गरे पनि फिर्ता लिन नआएको बताए । विक्की चिया पसलमा बोटलर्स नेपालले उत्पादन गर्ने कोकाकोला, फेन्टा, स्प्राइट र डिउ म्याद नाघेको पाईएको छ । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले काठमाडौंस्थित बालाजु आद्योगिक क्षेत्रबाट उत्पादन गरेका कोक,फेन्टा र स्प्राइटहरु विराटनगरका डिलर्सहरुले राख्ने गरेका छन् ।
त्यही डिलर्सबाट होलसेलरले लिने गर्दछन् । होलसेलबाट खुद्रा किराना पसल , होटल तथा चिसो पेय पर्दाथ पसल र चिया पसलहरुले बेच्न राखेका हुन्छन् । बजारका किराना पसलमा बेच्न पठाइएका कोक,फ्यान्टा, फेन्टा, डिउ र स्प्राइटका बोतलमा कहिले लेदो, प्लाष्टिक जस्ता मानव स्वास्थ्यमा गम्भिर असर पर्ने अखाद्य वस्तु फेला पर्ने गरेका छन् । बहुराष्ट्रिय कम्पनीको उत्पादनको हवाला दिएर मानव स्वास्थ्यमा गम्भिर असर पर्ने पेय पदार्थ तत्काल विक्री बन्द गर्नु पर्छ । यता विराटनगरमा रहेको शिख ट्रेड कन्सर्नका प्रोपराईटर अरुण दत्तले भने म्याद गुज्रेका सामान फिर्ता नहुने बताए , यदि कम्पनीले फिर्ता लिन आग्रह गर्यो भने मात्र फिर्ता गर्छौ उनले भने ।
खानेपानीको जारमा जिउँदा किरा र लार्भा
विराटनगरका ११ का केदार निरौलाले घर ल्याएको खानेपानीको जारमा किरा भेटियो । उनले खरिद गरि ल्याएको पानीको जारमा जिउँदो किरा तथा लामखुट्टेको लार्भा भेटिएको हो । करिब ३ महिना अघिदेखि संचालनमा आएको धनवन्तरी निर पानी उद्योगमा समेत फोहोजन्य पदार्थ भेटिएको थियो ।
करिब ३ महिना अघिदेखि संचालनमा आएको धनवन्तरी निर पानी उद्योगमा फोहोजन्य पदार्थ भेटिएको उनले सम्बन्धित निकायलाई जानकारी गराएको भएपनि कसैले चासने दिएनन् । उद्योगका संचालक रजीत साहले भने उद्योगमा त्यस्तो कमजोरी नभएको दावी गरे । ‘बजारमा प्रतिस्पर्धाको जमाना छ हामीलाई कसैले फसाउन लागेको हुन सक्छ उनले भने, हामी नयाँ नया छौ यदि हामीबाट त्यस्तो गल्ती भए हामी आगामीदिनमा सुधार गरेर लैजान तयार छौ ।’

प्रशासनको यस्तो तयारी
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बजार अनुगमन तत्काल शुरु गरिने बताएका छन् । उनले उपभोक्ता संरक्षण ऐनको परिधिमा रहेर बजार अनुगमनलाई तिब्र पारिने उनले जानकारी दिए । बिभिन्न समयमा गुनासाहरु आएको बेलामा प्रशासन कार्यालयबाट टोली गएको भएपनि अहिले पछिल्लो आएको गुनासाको बिषयमा जानकारी नआएकोको उनको भनाई छ । उनको अनुसार, यसरी गुनासा आउने बितिकै जिल्ला प्रशासन मौन बस्ने कुरा आउँदैन, तत्काल अब बजारको अबस्थाको बारेमा जानकारी लिएर अनुगमनमा निस्कन्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्