विराटनगरको साहित्यमा विभाजित मानसिकता, पुस्तान्तरणको समस्या

<span class='c1'>विराटनगरको साहित्यमा विभाजित</span> <span class='c2'>मानसिकता, पुस्तान्तरणको समस्या</span>

सुमन सुस्केरा/विराटनगर

ध्रुबे आयातित थोत्रो इतिहासको चिथ्रो टालो बोकेर
दिग्भ्रमित हुँदै भौतारिएको छ,
मानिसहरूको आस्था र विश्वास भत्काउँदै
जताततै कुद्दै जे मन लाग्यो त्यही गर्दैछ ...
उ कसैको कुरा सुन्दैन
कसैलाई मान्दैन
कसैमाथि विश्वास गर्दैन
मदोन्मत बनेर विदेशी माउतेको इशारामा
आफ्नो सुन्दर घर नष्ट भ्रष्ट गरिरहेको छ
कतै ध्रुबे बहुलाएको त हैन ?

यी शब्दले राष्ट्रप्रति गहकिलो व्यंग्य प्रहार गरेको छ । पछिल्लो समय देश सञ्चालन गर्ने प्रधानमन्त्री तथा मन्त्रीलाई धु्रबे हात्तीको संज्ञा दिइएको कवितामा प्राज्ञ साहित्यकार दधिकार सुवेदीले माउतेको इशारा भनेर बाहिरी विदेशी चलखेललाई उठान गर्न खोजेका छन् । उनले आफ्ना साहित्य सिर्जनामा भनेझैं नेपाली साहित्यमा चोेटिला शब्दहरू पूर्वका साहित्यकारले देश हाँक्ने गरी प्रहार गर्ने क्रम लामो भइसकेको छ । विराटनगरको साहित्य क्षेत्र पछिल्लो समय उर्बर बन्दै गएको छ । काठमाडौंलाई मात्र साहित्यको राजधानी ठान्नेलाई चुनौती दिँदै साहित्यका जानकारहरू विराटनगरलाई चिनाउन कम्मर कसेरै लागेका छन् ।

विराटनगरले साहित्यमा लामो इतिहास रचिसकेको छ । विराटनगरको साहित्य विक्रम सम्वत् १९८० को दशकबाट शुरू भएको मानिन्छ । त्यो बेला नेपाली साहित्यको शुरूवात कोइराला परिवारभित्र थियो । कृष्णप्रसाद कोइरालाको कृष्ण विनोद कवितालाई नै नेपाली साहित्यमा विराटनगरले कवितामा पाइला टेकेको रुपमा सम्झना गरिन्छ । त्यसपछि नेपाली साहित्यमा प्रशस्तै साहित्यकारको जन्म भयो र त्यो श्रृंखला अहिलेसम्म जारी रहेको साहित्यकार बलराम पोखरेलको अनुभव छ ।

उनी भन्छन्, ‘विराटनगरले नेपाली साहित्यमा योगदान गर्दागर्दै पनि कतिपय अवस्थामा कहीँकतै हराइरहेका छौं कि भन्ने लागेको छ ।’ पहिलो पुस्ताका मान्छेहरू चिन्तनशील, मननशील थिए, कतिपयको नाम चल्यो कोही गुमनाम भए । जगन्नाथ गुरागाईजस्ता गुणरत्नमाला लेख्ने व्यक्ति जन्माउने पनि विराटनगर नै भएको बलराम पोखरेल बताउँछन् ।

विराटनगर चिनाउनेमा पुराना पुस्ता मात्र हैन, त्यतिबेला नयाँ पुस्ता उसैगरी जुर्मुराएरै आए । केही बदलिँदो परिवेश र परिस्थितिका कारण विस्थापित भए भने कोही जेनतेन अन्यत्र गुजारा चलाएर सहित्यलाई अभियान र सामाजिक चेतना विकासको रुपमा लिएर अघि बढ्दैछन् ।उनीहरू कवितामा नयाँ–नयाँ प्रयोगका साथ अघि बढ्दै छन् । हिजोको साहित्य अध्यात्मवादमा आधारित रहेर लेखिन्थ्यो, आज ती साहित्य विज्ञान र समाजसँग जोडिएर आउन थालेका छन् । कवि दिङ्गाली कान्छो नेपाली साहित्यमा आउने क्रमलाई थेगिराख्न सक्ने हो भने साहित्यमा विराटनगरले आफ्नो उचाइलाई कहिल्यै शिरबाट गिर्न दिने अवस्था नरहेको बताउँछन् । खासगरी विराटनगरले नेपाली साहित्यमा राम्रै प्रतिनिधित्व गरेको साहित्यमा लाग्दै आएकाहरू बताउँछन् । विवश पोखरेल, ज्योति जंगल, राधिका गुरागाई, सीमा आभासजस्ता प्रतिभाले राष्ट्रमा राम्रो स्थान ओगटिरहेको कवि चुडामणी नेपाल अकिञ्चन अनुभव सुनाउँछन् ।

कृष्णप्रसाद कोइरालादेखि अहिलेको पुस्तासम्म आइपुग्दा सयौं साहित्यकार विराटनगरसँग जोडिएर राष्ट्रिय स्तरमा नाम लेखाउन सफल भइसकेका छन् । बिचको पुस्तासँग प्रभावित भएर साहित्यका नयाँ पुस्ता तछाडमछाडको अवस्थामा रहेकाले विराटनगरको साहित्य सकारात्मक र गुणात्मक रहेको प्राज्ञ दधिकार सुवेदी बताउँछन् । पछिल्लो पुस्ता देवकुमारी थापा, बालकृष्ण पोखरेलसँग प्रभावित भएर अगाडि बढिरहेको उनको भनाई छ ।

साहित्यमा ‘झुण्ड साहित्य’

पछिल्लो समयमा साहित्यकार बिचमा नै मत मिल्न सकेको छैन, विभाजित जस्तो देखिन्छन् । पहिलाको साहित्यका पुस्तामा साहित्यको श्रीवृत्तिको लागि एक भएर लागेको उदाहरण विराटनगर भित्रैबाट  नदिइएको भने होइन । तर, अहिलेको समसामयिक कुरा गर्ने हो भने अलिकति लेखन कलामा आउन खोज्छ भने झुण्ड साहित्यले त्यसको अप्ठ्यारो बनाउने र उसलाई साहित्यमा आउनै नदिने गरी सिध्याउने खेल हुने गरेको साहित्य वृतमा नाम कहलिएका साहित्यकार नै स्वीकार गर्छन् ।

देशलाई नै हाँक्ने साहित्यकार बोकेर हिँडेको विराटनगरको साहित्य झुण्ड साहित्यको चेपुवामा परेको छ । एउटाले गरेको साहित्यिक कार्यक्रममा अर्कोलाई नबोलाउने अनि अर्कोले गरेको कार्यक्रममा अर्कोलाई नबोलाउने प्रवृत्ति मौलाउँदै गएको छ । यसको अर्थ साहित्यकारले एकले अर्कोलाई स्वीकार गर्न सकेका छैनन् । यसले विराटनगरको साहित्यलाई उजागर गर्नुभन्दा पनि अप्ठ्यारो पार्ने काम भएको स्पष्टै देखिन्छ ।लामो समयदेखि विरासत जमाएर बसेकाहरूले आफ्नो प्रभूत्व जनाउन खोजेको देखिन्छ । अर्को भनेको बाहिरबाट आएर पनि आफ्नो पकड जमाएर बसेकाहरू छन्, उनीहरूले अरुलाई गन्दैनन् । अर्को भनेको गर्न सकेको त मैले गरिहाल्छु नि भन्ने तर आफ्नो प्रभूत्व देखाउन नसक्नेलाई भने साहित्यमा अप्ठ्यारो भएको छ । जुनसुकै क्षेत्रमा लागेर पनि आफ्नो क्षेत्रमा जमेर पछिल्लो समय साहित्य वा कवि बन्न आउनेको भीड विराटनगरको साहित्यमा देखिन्छ । जागिर खाएर रिटायर्ड जीवन बिताएकाहरू साहित्यमा देखिएका छन् । ती पुराना व्यक्तिका कारण नयाँलाई आउन गाह्रो बनाइदिएको छ ।

यी साहित्यकारले धानेको विराटनगर

कोइराला परिवार भित्रका कृष्णप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, धरेन्धर कोइराला लगायतको पुस्ता निक्कै पहिलाको पुस्ता अर्थात् शुरूवाती चरणको पुस्ताको रुपमा लिइन्छ ।

त्यसपछि मुखमा झुण्डिएर आउने नामहरू नरेन्द्र चापागाई, बालकृष्ण पोखरेल, परशु प्रधान, कृष्णभुषण बल, प्रमोद प्रधान, नरेन्द्र प्रसाई, इन्दीरा प्रसाई, रमेश प्रसाई, दधिराज सुवेदी, गंगा सुवेदी, विवश पोखरेल, मधु पोखरेल, राधिका गुराई, गोकुल अधिकारी, दिङ्गाली कान्छो, मञ्जु श्री गिरी, सुमन पोखरेल, ज्योती जंगल, सीमा आभास, मिनकुमार नवोदित, गण्डकी पुत्र, सविता गौतम दाहाल लगायतले अहिलेसम्मको साहित्यलाई यहाँसम्म ल्याउने काम गरे । त्यसपछि साहित्यकार जन्माउन केही सकश जस्तो देखिएपनि बिस्तारै देखिने क्रम भने रोकिएको छैन । धिरज राई, दिपक सञ्चु, अर्जुन ढुंगाना लगायतको लेखनमा पनि निखारतासँगै अघि बढ्दै गरेका साहित्यकार हुन् ।

साहित्यको श्रीवृत्तिका लागि लाखौं रकमको अक्षय कोषको समेत स्थापना हुनु अनि नयाँ पुस्ता साहित्यको विकासमा जमेर आउनुले विराटनगरको साहित्यमा उज्यालो घामको संकेत गरेकाले धेरैलाई आशा पलाएको छ । अघिल्ला पुस्तामा नाम चलेर पनि गुमनाम भएका साहित्यकारलाई नयाँ पुस्ताले चिनाउन सकेमा विराटनगरले नेपाली साहित्यमा थप फड्को मार्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्