इशु पन्त
विराटनगर । विराटनगरमा चाडपर्व लक्षित गरेर व्यापार गर्नेहरुले वर्षभरीको जीविकोपार्जन चलाउने ध्याउन्नमा हुन्छन् । बजारमा लड्डु, कन्दमूल तथा माघे संक्रान्तिमा बन्ने परिकारका सरसामान बिक्री गर्नेहरुसँगै खरिद गर्नेहरुको भीड देखिएको छ । पर्व नजिकिएसँगै महानगरपालिका ९ निवासी सुमित्रादेवी साहले एक हजार लड्डु बनाएर बिक्री गर्ने तयारी गरेकी छिन् ।
मुरी (भुजा) तील र बदाम, सख्खरको बन्दोबस्तीसँगै उनले पर्वका परिकार बनाएर बिक्रीका लागि लिएर बस्न थालेकी हुन् । उनका अनुसार पर्व मनाउने संस्कार धान्दा मात्रै दैनिक जीविकोपार्जन नचल्ने भएकोले पनि व्यापारका लागि लड्डु बनाउनु परेको हो । त्यसैले उनले हजार लड्डु बनाएर बजारमा बिक्रीका लागि ल्याएको सुनाइन् ।
यस पटक एक हजार लड्डुका परिकार बिक्री गर्ने लक्ष्य राखेको उनले बताइन् । आइतबार विराटनगर ९ गुद्रीमा भेटिनु भएकी साहले दुईसय पोका लड्डु लिएर आएको सुनाइन् । सफा प्लाष्टिकमा बाँधेको एकपोकामा दशवटा लड्डु हुने सुनाइन् । जसको मूल्य ५० रुपिँया रहेको उनले सुनाइन् । यस्तै तरिकाले गरेको व्यापारबाट गतवर्ष साहले पाँच हजार मुनाफा आर्जन गरेको सुनाइन् ।
भुजा र चिउरा, तील र बदामका लड्डु सख्खरमा मुछेर बनाएकोले जाडोमा हतपत बिग्रदैन । घरमा बनाउन जाँगर नहुेका लागि साहले बनाएका लड्डुले पर्वको मान्यता धान्न मात्रै नभई खानका लागि उतिकै मिठास हुने गरेको बताइन्छ । माघे संक्रान्ति भित्रन लागेसँगै बजारमा लड्डुका परिकार जस्तै चलनमा रहेका कन्दमूलको बिक्री गर्नेहरुको कथा समेत उस्तै छ । संक्रान्तिका लागि विभिन्न किसिमका सामान लिएर बिक्री गर्दै आएकी रिनादेवी साहले सख्खर, तील, चिउरा, भुजा किन्न आउने सेवाग्राहीलाई खुशी बनाउन सक्दा आफ्नो कमाई राम्रो हुने बताइन् ।
विराटनगर ८ निवासी अशोक साहले संक्रान्तिका लागि बजारमा खरिद गर्ने लड्डु स्वस्थ्यकर नै हुने बताउँछन् । उनले स्थानीय महिलाहरुले पर्वका लागि बनाएका परिकारमा कुनै मिसावट नगर्ने दावी गरे । तर, होटलहरुमा बनाएका लड्डु बरु स्वस्थ्यकर नहुने उनको बुझाई छ ।
गुद्रीमा कन्दमूल बिक्री गर्दै आएका पारसकुमार मेहताले पर्वमा माग हुने वस्तुको व्यापार नगरी वर्षभरीको जीविकोपार्जन चलाउन नसक्ने बताउछन् । उनका अनुसार आइतबारदेखि मात्रै बजारमा संक्रान्ति बजारको किनमेल बढेको हो । उनले यस पटक सुठुनी ८० रुपिँया प्रतिकिलोग्राम, सिमल तरुल ८० रुपिँयाप्रतिकिलोग्राम, इस्कुसको जरा १८० रुपिँया, घरतरुल एकसय रुपिँया रहेको बताउँछन् । संक्रान्तिका लागि आउने कन्दमूलमा वन तरुलको परिमाण भने न्यून हुने गरेको छ ।